सोमबार , फागुण १४, २०८०

ग्याल्पो ल्होसारः शेर्पा समुदायले मनाउने नयाँ वर्ष

ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । आजदेखि बाघ वर्ष समाप्त भएर खरायोको वर्ष सुरु भएको छ ।

image

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन बौद्ध धर्मावलम्बी शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछ ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा आज २१५० औँ ग्याल्पो ल्होसार मनाउँदैछन्  । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । मुसाबाट सुरु हुने वर्ष बराह वर्षमा पुगेर सकिन्छ । आजदेखि बाघ वर्ष समाप्त भएर खरायोको वर्ष सुरु भएको छ ।

ग्याल्पो ल्होसार मनाउनेले ल्होसार सुरु हुनुपूर्व एक महिना अगाडि नै शुभ साइत हेरेर ल्होसारको सगुनको लागि चाहिने जाँड (सगुन) पकाउने चलन छ । त्यसैगरी, १५ दिनअगाडि सानो गमलामा नयाँ पालुवाका लागि गहुँ, जौ, मकै, उवा आदिको बिउँ राखेर च्याङमा अर्थात् जमरा उमारिन्छ ।

यसरी उम्रेको नयाँ पालुवालाई ल्होसारको दिन नयाँ सालको नयाँ बालीको रूपमा पूजाकोठामा राखिन्छ । यसका साथै घर गुम्बा, तीर्थस्थल र चौतारा सफासुग्घर गरेर रङरोगन गर्ने, घर र अग्ला डाँडामा ध्वजापताका टाङ्ने  गरिन्छ ।

विशेषगरी हिमाली क्षेत्रमा बस्ने बौद्ध धर्मावलम्बीले मनाउने यो पर्व अहिले देशका विभिन्न भागमा मनाउने गरिन्छ । हिमाली क्षेत्रका शेर्पाहरू बसाइँ सरेर अन्यत्र पुगेकाले आज यो पर्व देशका विभिन्न भुगोलमा मनाउने गरेको पाइएको हो ।

यो पर्वलाई शेर्पा समुदायको पर्व भनेरसमेत चिनिन्छ ।

सम्बन्धित समाचार