बुधबार , जेठ ३०, २०८१

खस्किँदै हस्तकला व्यापार

image

काठमाडौं । कोरोना महामारीपूर्व पोखराबाट प्रत्येक वर्ष रु दुई करोड बढीको हस्तकला सामग्री विदेश निर्यात हुने गर्थ्यो । स्वदेशी बजारमा पनि सामग्रीको राम्रै माग थियो । महामारीपछि पर्यटकको आउजाउ घटनाले हस्तकला व्यापार पनि खस्कियो ।

अन्तराष्ट्रिय बजारमा माग घट्यो । महामारी थामिए पनि हस्तकलाको व्यापार भने अझै पूर्ववत् स्थितिमा फर्कन सकेको छैन । बिस्तारै तङ्ग्रिने बाटोमा भने रहेको छ । पोखरास्थित महिला सीप विकास संस्थाका अनुसार अहिले वार्षिक झण्डै रु एक करोड बराबरको मात्र हस्तकला सामग्री विदेश निर्यात हुने गरेको छ ।

संस्थाको अन्तर्राष्ट्रिय बजार हेर्ने रश्मि शाक्यले पछिल्लो समय समग्र वार्षिक कारोबार रु एक करोड ५० लाख हाराहारीमा खुम्चिएको बताइन् । “कोभिड महामारीले ठुलो असर गर्‍यो, अब बिस्तारै व्यापार बढ्ला भन्ने आशा छ,” उनले भनिन्, “नेपालमा भित्रिने विदेशी पर्यटकको सङ्ख्या घटेकाले हस्तकला व्यापार खस्केको हो ।”

हस्तकलाका सामग्रीको किनबेच बढी जसो पोखराको लेकसाइड, काठमाडौंको ठमेल आदि पर्यटकीय क्षेत्रमा हुन्छ । संस्थाले उत्पादन गर्ने हस्तकलाका सामग्रीमध्ये २० प्रतिशत मात्र खपत नेपाली बजारमा हुने गरेको छ । ८० प्रतिशत सामग्री विश्व बजारमा पुग्ने गर्छ ।

हस्तकलाका सामान महँगो पर्ने भएकाले नेपाली ग्राहकको पहुँचमा खासै पर्दैन । सजावट र सोखका लागि किन्नेको सङ्ख्या पनि अति न्यून छ । हस्तकलाका मुख्य ग्राहक विदेशी पर्यटक नै हुन् । कोभिड–१९ महामारीलगायत कारणले पर्यटक आगमन उल्लेख्य रूपमा नहुँदा सामानको खपत कम भएको हो ।

उक्त संस्थाले विदेशबाट माग आएपछि आवश्यक भन्सार प्रक्रिया पूरा गरेर सामान विदेशमा निर्यात गर्ने गर्छ । “५० प्रतिशत अग्रिम भुक्तानी लिएपछि मात्र मागअनुसारको सामान उत्पादन हुन्छ । सबै रकम आएपछि बल्ल कार्गो गरेर सामान विदेशी बजारमा पठाउँछौँ,” शाक्यले भनिन् ।

हस्तकलाबाट विदेशी मुद्रा भित्र्याएर संस्थाले नेपाली अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको उनको भनाइ छ । संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले कोभिड महामारीपछि हस्तकला उद्यममा लाग्ने महिलाको सङ्ख्या पनि घटेको बताइन् ।

पहिले उक्त संस्थामा ६०० बढी उद्यमी महिला आबद्ध रहेकामा अहिले जम्मा ३५० जना मात्र छन् । बजार मागका आधारमा मात्र हस्तकलाका सामान उत्पादन गर्ने गरिएको कार्यकारी निर्देशक खड्काले उल्लेख गरिन् । “विदेशबाट माग आइरहेको छ । त्यसैले व्यवसाय धानिएको छ । बरु नेपालमै हस्तकलाको व्यापार त्यति राम्रो हुन सकेको छैन,” उनले भनिन् ।

सामान्य अवस्थामा संस्थाले वार्षिक रु चार करोड बराबरको सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने गरेको उनले सुनाइन् । हस्तकला व्यापार प्रवर्द्धन र महिला उद्यमीका लागि राज्य सहयोगी बन्नुपर्ने कार्यकारी निर्देशक खड्काले बताइन् ।

वि.सं २०३२ मा स्थापित उक्त संस्थाले महिलाका लागि सीप र आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म २१ हजार बढी महिलाले संस्थाबाट हस्तकला सीप आर्जन गरेका छन् । संस्थामा आबद्ध महिला हस्तकला सिकेर स्वरोजगार बनेका छन् ।

कतिपयले आफ्नै उद्योग खोलेका छन् । कोही अन्यत्र पनि काम गर्छन् । संस्थाद्वारा सञ्चालित हस्तकला उद्योगमा धागो, अल्लो, हेम, उन, मकैको खोस्टालगायत स्थानीय कच्चापदार्थको प्रयोगबाट झोला, टोपी, कार्पेट, लुगा, सजावटका सामग्री आदि उत्पादन हुँदै आएको छ ।

“हामीले उत्पादन गरेको सामान अमेरिका, इटाली, जर्मनीलगायतका देशमा निर्यात हुँदै आएको छ,” कार्यकारी निर्देशक खड्काले भनिन्, “बजारको सुनिश्चितता हुन सके अझ धेरै महिलालाई हस्तकला उद्यममा जोड्न सकिन्छ, यसबाट रोजगारी पनि सिर्जना हुन्छ, अर्थतन्त्रको उत्थानमा पनि टेवा पुग्छ ।”

पोखराका उद्यमी महिलाले तयार पारेका हस्तकलाका सामग्रीको अन्तराष्ट्रियस्तरमा प्रदर्शनी गर्ने तयारी भइरहेको संस्थाका अध्यक्ष देवी गुरुङले बताइन् । केही दिनअघि अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उक्त संस्थाले पोखरामा हस्तकला प्रदर्शनी गरेको थियो । भारत र बेलायतमा छिट्टै प्रदर्शनी आयोजना गरिने भएको छ ।

उद्यमी महिलाले छ महिना लगाएर हाते तानबाट तयार पारेको १६ मिटर लामो ‘नेचुरल टेक्सटायल कार्पेट’ पनि उक्त प्रदर्शनीमा राखिने अध्यक्ष गुरुङको भनाइ छ । उद्यमीले कटनको धागोलाई आफैँ प्राकृतिक रङ दिएर हाते तान बुनाइबाट सामान उत्पादन गर्ने गर्छन् ।

सम्बन्धित समाचार