समाज रूपान्तरण गर्ने कार्यमा कला साहित्य सदैव अगाडि छ । समाजको गतिशीलता र यसको प्रवाहलाई कलाले जीवन सापेक्ष तवरले हेर्न सिकाउँछ । मानिव सभ्यतालाई सिर्जनात्मक हिसाबले परिस्कृत र परिमार्जित गर्ने सवालमा शिक्षा र कलासाहित्य सँगसँगै हिँड्नु उपयुक्त हुन्छ। जतिजति मानव सभ्यताले उँचाइ थप्दै जान्छ, त्यत्तिकै मात्रामा कला साहित्यले पनि आफूलाई परिमार्जित गर्दै जान्छ ।
मानिस घरव्यवहार/कार्यालयले थकित बनाएको दिमागलाई चुस्त बनाउन विभिन्न तरिका खोज्छ, त्योमध्ये मनोरञ्जन प्रमुख हो । विभिन्न उपायहरूमध्ये चलचित्र एक सर्वसुलभ उपाय पनि हो । आफ्नो थकान, पीडालाई भुलेर चलचित्रमा डुब्नु पछिल्लो दैनिकीको अभिन्न अंग भइसकेको छ । प्रविधिले अहिले हातहातमा अत्याधुनिक मोबाइल थमाइदिएको छ, जसबाट युट्युब, नेटफ्लिक्स, अमेजन प्राइम आदि भिडियो प्रिमियरिङ साइट खोली चलचित्र हेर्न सकिन्छ । राम्रा चलचित्र राम्रा कविता रहेछन्, कला रहेछन् भन्ने कुरा बोध गर्न सकिन्छ । स्वाद आ-आफ्नो, रुची आ-आफ्नो, मनपर्ने कलाकार पनि आ-आफ्नो, अनि विषयवस्तु पनि । जनचेतनामूलक, हास्यव्यङ्ग्यात्मक, एतिहासिक, राजनैतिक आदिइत्यादि ।
केही समयमै चलचित्र क्षेत्रले पनि ठुलो फड्को मारेको छ । चलचित्र क्षेत्र पनि प्रविधिको मद्दतले माथि उक्लिरहेको अवस्था छ । चलचित्रहरू थ्रीडी लगायतका सुविधासहित उपलब्ध हुन थालेका छन् । अहिलेको अवस्थामा चलचित्र व्यापारको एक राम्रो माध्यमसमेत बन्दै गएको छ । राम्रो चलचित्रले विश्व बजारबाट अरबौँको व्यापार गर्ने गरेका छन् । दिनदिनै यसका प्रशंसकहरू बढिरहेका छन् । सिनेमाको व्यापार अझ फैलँदो अवस्थामा छ ।
तर, तपाईंले यत्तिका फिल्महरू हेरिरहँदा कहिले सोच्नुभयो, ‘विश्वमा सबैभन्दा पहिलो बनेको फिल्म कुन हो ? कसले खिच्यो ? कुन क्यामरा थियो ? कसरी निर्माण भयो ? अझ महत्त्वपूर्ण, फिल्म बनाउनेपर्ने आवश्यकता कसरी महसुस भयो ? त्यो कुन उत्सुकता थियो होला, जो सिनेमाको आविष्कारकर्ता बन्न पुग्यो ?’
भन्ने गरिन्छ, ‘इतिहास अल्छीलाग्दो हुन्छ’, तर यो कुरा सत्य होइन । इतिहास नकोट्याइकन वर्तमानलाई आत्मसात गर्नु झन् पट्यारलाग्दो हुन्छ । अत: आज यहाँ हामी कलाक्षेत्रअन्तर्गतको सिनेमाको इतिहास कोट्टाउने जमर्को गर्छौं ।
पहिलो जीवित चलचित्रको ‘राउन्धे गार्डेन सिन’ :
संसारको सबैभन्दा पहिलो जीवित चलचित्रको नाम ‘राउन्धे गार्डेन सिन’ रहेको छ । यो चलचित्र सन् १८८८ मा बनेको थियो । उक्त ब्ल्याक एण्ड वाइट चलचित्रमा कुनै पनि आवाज छैन । चलचित्रको लम्बाई मात्र २.११ सेकेन्ड रहेको छ । यसका निर्देशक फ्रेन्च आविष्कारक लुइस ले प्रिन्स रहेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार यो हालसम्म उपलब्ध एक मात्र सबैभन्दा पुरानो चलचित्र हो ।
खासमा यो चलचित्रअघि सन् १८७८ मा बनेको ‘रेस हर्स’ लाई पनि केही मान्छेहरूले पहिलो चलचित्र भन्ने गरेको पाइन्छ । धेरै क्यामेराहरू लगाएर बडो दुःखसँग यो चलचित्र खिचिएको थियो । हालको अवस्थामा एउटा सामान्य मोबाइल क्यामेराले पनि खिच्न सक्ने यो चलचित्र खास केही सामान्य चित्रहरूको स्लाइड शो हो । उक्त चलचित्र एडवर्ड जे मुयब्रिजले बनाएका थिए । हाल उपलब्ध चलचित्रको लम्बाई करिब १५ सेकेन्ड रहेको छ, जसमा हामी घोडा कुदिरहेको देख्न सक्छौँ ।
त्यतिबेला चलेको एक बहसको प्रश्नको वैज्ञानिक रूपमा जवाफ दिनको लागि यो चलचित्र बनाइएको थियो । ‘घोडा दौडिरहेका बेला के चारवटा खुरहरूले एकै समयमा जमिन छोड्छन् ?’ भन्ने प्रश्नको जवाफ ‘हो’ मा भिडियोले दिएको थियो । अझ महत्त्वपूर्ण कुरा, मोशन फोटोग्राफीको जन्म पनि भएको थियो भन्ने गरिन्छ ।
त्यसैगरी, सर्वसाधारणलाई देखाउने उद्देश्यले २८ डिसेम्बर १८९५ मा पहिलो व्यापारिक चलचित्र प्रदर्शन गरिएको पाइन्छ । चलचित्रलाई पेरिसको ग्राण्ड क्याफेमा देखाइएको थियो । चलचित्रलाई लुइस र अगस्टि लुमिरेले मिलेर बनाएका थिए । चलचित्रको नाम ‘लुमिरे ब्रदर्स’ रहेको छ, जसमा फ्रान्सको त्यतिबेलाको जनजीवन देखाइएको छ । खोज्दै जाने क्रममा उक्त चलचित्र हेर्नका लागि उनीहरूले पहिलो पटक सर्वसाधारणबाट पैसा लिने गरेको पाइन्छ ।
चलचित्रको जरा सन् १८३० सम्म फैलिएको पाइएको छ । बेल्जियमका जोसेफ प्ल्याटिउ र अस्ट्रेलियाका सिमोन स्ट्याम्फरले फेनाकिस्टोस्कोप नामक एलईडी बनाएका थिए, जसबाट चित्रहरूको शृङ्खला हेर्न सकिन्थ्यो । त्यसैलाई पछ्याउँदै सन् १८९० मा थोमस एडिसन र उनका सहायक विलियम डिकसन्ले किनेटोग्राफ नामक पहिलो मोसन पिक्चर्स क्यामेरा बनाएको पाइन्छ । अर्को वर्ष सन् १८९१ मा एडिसनले किनेटेस्कोप बनाएका थिए, जहाँ एक प्वालबाट एकजना दर्शकले चलचित्र जस्तै केही हेर्न सक्थे ।
विश्वको पहिलो व्यावसायिक सिनेमा हल २८ डिसेम्बर १८९५ मा स्थापित फ्रान्सको पेरिसमा रहेको ग्रान्ड क्याफेमा रहेको सालोन इन्डेन नै हो । जहाँ ‘लुमिरे ब्रदर्स’ देखाइएको थियो । त्यसैगरी, केहीले सन् १९०५ जुन १९ मा खुलेको निकलोडीयनको सिनेमा हललाई पहिलो सिनेमा हल समेत मान्ने गरेको पाइन्छ । यद्यपि, धेरैले अमेरिकाको पिट्सबर्गमा खुलेको उक्त सिनेमा हललाई पहिलो सिनेमा हल भने मान्ने गरेको पाइँदैन ।
बलिउड सिनेमा जगतको पहिलो चलचित्र सन् १९१३ मा बनेको राजा हरिश्चन्द्र रहेको छ । उक्त चलचित्रलाई दादासाहेब फाल्केले निर्देशन गरेका थिए । पहिलो नेपाली चलचित्र १९५१ मा आएको सत्य हरिश्चन्द्र रहेको मान्ने गरिएको छ । डी.बि परियारको निर्देशनमा बनेको भनिएको यो चलचित्रलाई पहिलो भनिएता पनि कतिपयले यो कुरा मान्ने गरेका छैनन् । उक्त चलचित्र भारतमा बनाइएको थियो ।
नेपालमै १९६४ मा बनेको पहिलो चलचित्र ‘आमा’ रहेको छ, जसलाई शाही नेपाली चलचित्र संस्थानले प्रोड्युस गरेको थियो। यस चलचित्रको निर्देशन हिरासिंह खत्रीले गरेका थिए । चलचित्रमा शिवशङ्कर मानन्धर र भुवनचन्दको अभिनय थियो ।