शुक्रबार , अषोज १४, २०७९

हस्पिट्यालिटि सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालको वनभोज तथा दसैँ विशेष कार्यक्रम सम्पन्न

यो कार्यक्रम नेपालभरिका होटेलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिलाई एक गर्ने उद्देश्यले आयोजना गरिएको हो । यो नेपालका होटेलको सेल्स एण्ड मार्केटिङ विभाग समूहले आयोजना गरेको पहिलो कार्यक्रम हो ।

image

काठमाडौं । हस्पिट्यालिटि सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपाल द्वारा आयोजित वनभोज तथा दसैँको शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित तपेस रिजोर्टमा आयोजना गरिएको कार्यक्रममा देशभरिका होटेलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।

आज संविधान दिवसको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रमबाट हस्पिट्यालिटि सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालको जन्म समेत भएको छ । त्यसैले प्रत्येक वर्ष यस दिनलाई भव्य रूपमा मनाउने आयोजकले बताए । साथै प्रत्येक ६ महिनामा सेल्स एण्ड मार्केटिङ प्रतिनिधिको विशेष छलफल कार्यक्रम हुने समेत बताइएको छ । १४५ जनाभन्दा धेरै सदस्य रहेको यो समूहबाट कार्यक्रममा १०० जना भन्दा धेरै प्रतिनिधिले उपस्थिति जनाएका थिए ।

बिहान १०:३० बजेको ब्रेकफास्टबाट सुरु भएको कार्यक्रम दिउँसो स्न्याक्स हुँदै अपराह्न ४ बजेको लन्चसँगै सकिएको हो । कार्यक्रममा दिग्गज सदस्यहरूले आफ्नो अनुभव मात्र बाँडेनन्, आफ्नो भोगाइको आधारमा कथा सुनाउँदै नयाँ आएका सदस्यलाई प्रोत्साहन समेत गरेका छन् ।

कार्यक्रममा सेल्स एण्ड मार्केटिङ विभागमा रही ४० वर्षभन्दा धेरै समय सेवा दिएका राजकुमार के.सीलाई विशेष सम्मान गरिएको छ । त्यसैगरि ३० वर्षभन्दा धेरै समय सेवा दिएका संजिव तुलाधर, प्रदीप पौडेल, प्रमोद डम्जन, कृष्ण बहादुर गुरुङ र गुप्ता बहादुर सिंह गिरिलाई पनि विशेष सम्मान दिइएको छ ।

सोही कार्यक्रममा होटेल एसोसिएसन अफ नेपाल (हान)का सिइओ टेक बहादुर महतले उपस्थित सेल्स एण्ड मार्केटिङ प्रतिनिधिलाई शुभकामना दिँदै कमिटी बनाउन सल्लाह दिएका छन् ।

तपेस रिजोर्टको स्वादिलो खानपानसँगै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत खेलाइएको छ । जसमा विजयी हुनेले विभिन्न किसिमका आकर्षक पुरस्कार समेत प्राप्त गरेका छन् । तिनै खेलबाट उठेको रकमलाई होटेलमा कार्यरत कर्मचारीको हकहितका लागि खर्च गर्न एक कोष स्थापना गरिने आयोजकले बताएका छन् ।

यो कार्यक्रम नेपालभरिका होटेलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिलाई एक गर्ने उद्देश्यले आयोजना गरिएको हो । यो नेपालका होटेलको सेल्स एण्ड मार्केटिङ विभाग समूहले आयोजना गरेको पहिलो कार्यक्रम हो ।

Tags:

सम्बन्धित समाचार