शुक्रबार , बैसाख ७, २०८१

इन्द्रजात्राको लिङ्गो हनुमानढोकामा

image

काठमाडौं । यस वर्षको इन्द्रजात्राको लिङ्गो हनुमानढोका ल्याइएको गुठी संस्थान काठमाडौं कार्यालयले जनाएको छ ।

इन्द्रजात्राका लागि काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालाको जङ्गलबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा रुख काटी विधिअनुसार राजधानी ल्याउने गरिन्छ ।

राजधानी ल्याएर भाद्र शुक्ल अष्टमीका दिन लिङ्गोलाई हनुमानढोका भित्र्याउने परम्परा छ । लिङ्गो काटेर ल्याउने काममा मानन्धर समूहको सक्रियता रहने विधि पहिलेदेखि बसेको संस्थान काठमाडौं शाखाका प्रमुख आनन्द कर्माचार्यले बताए ।

भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ । यस दिनदेखि आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ । भाद्र शुक्ल चतुर्दशीका दिन कुमारी यात्रा सुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइने परम्परा छ ।

पहिलो दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भाद्र शुक्ल पूर्णिमाका दिन कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसपछिका दिनमा क्रमशः विभिन्न टोलमा यात्रा गराई नानीचा यात्रापछि इन्द्रजात्राको रथ घुमाउने विधि पूरा हुने प्राचीन परम्परा छ ।

आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत देवी देवताको पूजा आराधना एवं यात्रा गराई यो जात्रा आठ दिनसम्म भव्य रूपमा मनाउने परम्परा छ ।

यस जात्राको मुख्य दिन हनुमानढोका दरबारमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने गरेको छ ।

यस वर्ष भदौ २२ गते इन्द्रध्वजोत्थान, २४ गते इन्द्रजात्राको मुख्य दिन र २९ गते इन्द्रध्वजपातन गरिने संस्थानले जनाएको छ । इन्द्रध्वजोत्थान वसन्तपुर दरबार क्षेत्रको कालभैरवअघि गरिन्छ ।

सम्बन्धित समाचार