शुक्रबार , अषोज १४, २०७९

जितिया पर्व आजदेखि शुरू, के छ जितिया पर्व मनाउनु पछाडीको कथा ?

तराईमा मनाइने महान लोकपर्व जितियाको मुख्य विधि शुक्रबार आजदेखि शुरु हुँदैछ ।

image

तराईमा मनाइने महान लोकपर्व जितियाको मुख्य विधि शुक्रबार आजदेखि शुरु हुँदैछ । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सर्स्यु‌काे तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।

सप्तमी तिथिकै दिन दिवङ्गत भएका महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ । शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ ।

सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार व्रत बस्ने गरिन्छ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।

किन गरिन्छ कठोर व्रत ?

सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीघार्युका लागि माता जिर्मूतवाहन देउताको कठोर उपवास गर्ने गरिएको हो । यस सम्बन्धमा भविष्य पुराणमा अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन वर्त वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुदैन् भनि राख्नुभएको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ वर्त बसेको खण्डमा सन्तानको अकाल मृत्यु नहुने भनी बताए ।

यसका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ । त्यसपछि, आफ्नै आगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडेर सो हाँगामा चिल र स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाए ।

को हुन् जिमूतवाहन ?

भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई बरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ ।

हिन्दूधर्ममा विभिन्न जनाबर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ । गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसो लगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको छ ।

वर्त बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पन गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलफूल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।

उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गर्छन् ।

जितिया पर्वको कथा

भविष्यपुराणमा वर्णन गरिएअनुसार, कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । दुइटैकोबीच घनिष्ट मित्रता थियो । एक दिन जितिया पर्व मनाउने वर्तालु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।

पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चीलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के । स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो । चीललाई थाहै नदिइ स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चीलले हेरिरहेको थियो । स्यालनी र चीलको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्मभयो ।

जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिक रुपमा मृत्युवरण गर्दै गयो ।

सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि, जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै वर्त भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गर्छन् ।

सम्बन्धित समाचार