शनिबार , मंग्सिर २३, २०८०

एफआइटी टिम्स हटाउने निर्णय तत्काल कार्यान्वयन गराउन (जाेटुफ)ले गर्याे बोर्डको ध्यानाकर्षण 

ध्यानाकर्षणको बेवास्ता गरिए  आन्दोलन गर्ने र त्यसको  जिम्मेवारी बोर्ड स्वयमले  लिनुपर्ने जाेटुफले भनेको छ । 

image

काठमाडौं । पर्यटन श्रमिक सङ्घ सङ्गठनहरूको साझा फोरम संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ)ले एफआइटी टिम्स हटाउने पर्यटन बोर्डले गरेको निर्णय कार्यान्वयन गराउन बोर्ड लगायत सम्बद्ध सबै सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।

एफआइटी टिम्सका कारण पर्यटकहरू असुरक्षित भएको, उनीहरूलाई असहजता भएको र नेपालको अन्तर्राष्ट्रिय बदनाम समेत भइरहेको बताउँदै जाेटुफले यो व्यवस्था तत्काल बन्द गर्न भनेको छ ।

‘ट्रेकिङ र पर्वतारोहणमा जाने एकल पर्यटकहरू हराउने समस्या दिनानुदिन बढ्दै गएको छ, जसको कारण हाम्रो पर्यटकीय गन्तव्यहरू असुरक्षित गन्तव्यको रूपमा विश्व भरि नै बदनाम भई रहेको छ । यसरी विश्वव्यापी रूपमा भई रहेको बदनामलाई रोक्न नसक्ने हो भने निकट भविष्यमा पर्यटन उद्योग नै विस्थापित हुने अवस्था सिर्जना उन्मुख देखिन्छ । पर्यटन उद्योगलाई स्थापित गरी व्यवसाय र श्रमिक जोगाउनु सबैको दायित्व हो ।’ जाेटुफकाे ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘Free Individual Trekkers Information Management System (FIT-TIMS) तत्काल पूर्ण रूपमा बन्द गरी Group TIMS (G-TIMS) लाई देशव्यापी रुपमा लागु गरिनु पर्दछ । G-TIMS लाई E-TIMS को रूपमा विकास गरी ट्रेकिङ र पर्वतारोहणमा जाने सम्पूर्ण दलहरूसँग अनिवार्य पथप्रदर्शक (गाइड) तथा श्रमिकहरू लिएर मात्र जान पाउने व्यवस्था गर्नु पर्दछ । उक्त नीतिले सरकार, उद्योग, व्यवसायी र श्रमिक सबै पक्षको हित गर्दछ । नेपाल पर्यटन बोर्डको सञ्चालन समितिको बैठकबाट समेत निर्णय भई सकेको Free Individual Trekkers Information Management System (FIT-TIMS) लाई तत्काल पूर्ण रूपमा बन्द गर्ने निर्णयलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने व्यवस्था गर्न/गराउन नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराउँदछौ ।’

ध्यानाकर्षणको बेवास्ता गरिए  आन्दोलन गर्ने र त्यसको  जिम्मेवारी बोर्ड स्वयमले  लिनुपर्ने जाेटुफले भनेको छ ।

‘अन्त्यमा, यस ध्यानाकर्षण पत्रको बेवास्ता गरिएको खण्डमा जोटुफ र  जोटुफ आबद्ध ट्रेड युनियनहरू नेपाल पर्यटन बोर्ड  विरुद्ध चरणबद्ध आन्दोलन र तालाबन्दी समेत गर्न बाध्य हुने र त्यसबाट हुन सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिको जिम्मेवारी नेपाल पर्यटन बोर्ड स्वयम हुनु पर्ने छ ।’

यो ध्यानाकर्षण पत्रमा संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) का तर्फबाट अध्यक्ष जोटुफ एवं क्रान्तिकारी पर्यटन मजदुर सङ्घ नेपालका अध्यक्ष देवी गौली, जोटुफका सचिव एवं नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ (निटोग) अध्यक्ष राम काजी तिवारी “प्रयास”, जोटुफका सदस्यहरू  एवं अ. नेपाल पर्यटन मजदुर सङ्घका महासचिव सन्तोष ढकाल, समाजवादी पर्यटन श्रमिक ट्रेड युनियनका महासचिव सार्की शेर्पा, एकीकृत पर्यटन श्रमिक सङ्गठनका महासचिव कामी शेर्पा र नेपाल पर्यटन श्रमिक सङ्घका अध्यक्ष दीपेन्द्र पाण्डे ( कपिल)ले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार