शुक्रबार , अषोज १४, २०७९

ककनी गएर सुदूरपश्चिमकाे कथा सुनेपछि थाहा भयाे, ‘खास विकट ठाउँ त मेराे गाउँ पाे रहेछ’

...हामी त्यहाँ पुग्दा साढे सात बजिसकेको थियो । हामीले सम्पर्क गरेको होटल डाँडामा छ भन्ने थाहा भए पनि ठ्याक्कै कहाँनेर छ भन्ने थाहा थिएन । सोध्दै गयौँ । गेटमै उस्तै नामको होटल रहेछ । हामी झुक्कियौँ । त्यहाँ एकछिन रोकेर बस्यौँ । हामीले सम्पर्क गरेको होटेल चाहिँ अलि पर रहेछ । होटेल ककनी इन ।

image

यात्रा गर्दागर्दै भोक र प्यास बढेको थियो । हामी पुग्ने बित्तिकै होटेलको दाइले टहरोभित्र आगो बालिदिनुभयो । हामी गोलो परेर बस्यौँ । चिसो ठाउँ, त्यसमाथि सिमसिम पानी परिरहेकाले गर्मी याममा पनि एकदम प्यारो लाग्यो आगो । हुन त आगो ताप्ने योजना अचानक बनेको थिएन । यो योजनाबद्ध नै थियो ।

आगो ताप्ने बेलाका अरू कार्यक्रम पनि पहिला नै तय भएको थियो । खासगरी दुई कार्यक्रम तय भएको थियो । पहिलो साथी मेनुका छन्त्यालको गजल मुक्तक र कविता लगायत सिर्जनाहरू सुन्ने । दोस्रो गजल कविता सुन्ने मुड बनाउने ।

तर, यहाँनेर दोस्रो नम्बरमा परेको कार्यक्रम चाहिँ पहिला गर्नुपर्ने थियो । कार्यक्रमको प्राथमिकताको आधारमा पहिलो र दोस्रोमा परेको मात्रै हो । दोस्रोमा परेको कार्यक्रम पहिला नै गर्नुपर्छ । यति कुरा तपाईँले बुझिहाल्नुहुन्छ ।

सर्वज्ञानी गुगल बाबालाई सोध्दा हामी समुन्द्री सतहबाट २१६२ मिटरको उचाइमा थियौँ । हुस्सु जमिनसँगै टाँसिएको थियो । सिमसिम पानी परिरहेकै थियो । हामी जस्ताको छानोमुनि टहरामा गोलो परेर आगो ताप्दै थियौँ । अलि परका होटलहरूमा धुमिल उज्यालो । मानिसहरूको त्यस्तै मन्द आवाज । यस्तैमा हामीले कार्यक्रम सुरु गर्‍यौँ । पहिलो कार्यक्रम । साथी राहुलको झोलाबाट  निस्कियो, सगरमाथा जस्तै अग्लो, ८८४८ ।

केही समयपछि सुरु भयो दोस्रो कार्यक्रम । अर्थात् साथी मेनुकालाई सुन्ने कार्यक्रम । उनी बोल्न थालिन्…,

केराउ फूली जौ को बाला लह-लह झुल्दै होलान्

चापा अनि लाली गुराँस ढकमक्क फुल्दै होलान् ।।

बयली, दोगरी र रामकोटमा उफ्रिँदै मृग सबकहरू

चरा अनि चरीहरू खुल्ला आकाश माथि स्वतन्त्र डुल्दै होलान् ।।

गुँड लगाउने शूर कसी गौँथलीका बथानहरू

चुच्चोमा च्यापी स्याउला र झाडी बटुल्दै होलान् ।।

शोलेको त्यो मूल पानी झर्दै होला तमानतिर

पाखा भरी माहुरीका हूलहरू बुकी फूलमा भुल्दै होलान् ।।

तुसाराले ओसिएका लेक अनि खोरिया र भन्ज्याङहरू

घामको किरण पाई सदाबहारताले खुल्दै होलान् ।।

                                         -मेनुका छन्त्याल, बागलुङ

हामी वर्षा ऋतुको झमझम झरी परिरहेको अँध्यारो रातमा ककनी डाँडाको एक टहरोमा आगो ताप्दै थियौँ । साथी मेनुकाले केहिरबेरका लागि भएपनि हेमन्त, शिशिर, वसन्त ऋतुको आफ्नो गाउँ बस्तीमा पुर्‍याइदिइन् । उनले आफ्नो गाउँ बस्तीको हिउँद यामको परिवेशलाई गजलमा उतारेकी रहेछन् । हामी गाउँ बस्ती डुलेर फर्कियौँ  ।

‘गज्जब लाग्यो, तपाईँले आफ्नो गाउँ बस्ती अनि…’ गजलमाथि मैले प्रतिक्रिया दिँदै थिएँ । मेरो वाक्य टुङ्ग्याउन नपाउँदै साथी सिआर भण्डारीले आफ्नो टाउकोमा औँला राख्दै भने, ‘मलाई यहाँ मात्रै छोयो, (छातीमा हात राख्दै) यहाँ छोएन, यहाँ छुने आउनु पर्‍यो ।’

अक्सर अरूलाई निकै ध्यान दिएर सुन्ने साथीले त्यतिबेला चाहिँ मलाई पनि बीचैमा रोकेर किन यसरी प्रस्तुत भए ? थाहा भएन । साथीलाई कुन नसाले काम गर्‍यो छुट्ट्याउन गाह्रो भयो । हुन त साथी अलि सिकारू भएकाले ढंग भने पुगिरहेकाे थिएन ।

अरू साथीहरू कोही साथी सिआरलाई सुन्दै थिए त कोही कानेखुसी गर्दै थिए । म चाहिँ दुई आँखा र दुई कानलाई दायाँबायाँ खटाएर साथी मेनुकालाई सुन्ने र सुनाउने प्रयासमा व्यस्त थिएँ । मेरा आँखा र कानले दायाँबायाँको रिपोर्टिङ राम्रोसँग गरिरहेका थिए । तर, केही साथीहरूका आँखा कि मेरो मुखमा हुन्थ्यो, कि मेरो हातमा । म हात हल्लाउँदै बोलेको भएर होइन । जति छिटो मेरो हात र मुखको मिलन हुन्थ्यो त्यत्ति नै मुख बिगार्ने साथीहरूको नाम यहाँ खुलाउन चाहिन । बरु, त्यही क्रम जारी थियो ।

केहिबेरपछि साथी सीआरको आग्रहलाई मनन गर्दै साथी मेनुकाले सुनाउन थालिन्, मुक्तक ।

सपना एउटै प्रेमको, सिरानी फरक छ, 

भो नसोध, भो हाम्रो, कहानी फरक छ ।।

 नदीको दुई किनार भयौँ, छालले छोई बग्ने यात्रा उही,

गन्तव्य उही, निशानी फरक छ ।।

 प्रेम गर्छु त भन्थ्यो उसले, तर कत्ति प्यार थिएन, 

हरेक सवालको जवाफ फितलो, दमदार थिएन ।।

 मौनताको अर्थ खोइ कुन्नि के लाग्यो उसलाई

फेरि पनि मौन बस्नु पटक्कै स्वीकार थिएन।।

                                                       मेनुका छन्त्याल, बागलुङ

 मेनुकाको यो मुक्तकले भने भुईँचालो ल्यायो । गडगडाहट ताली बज्यो । सिआर भण्डारी सर्टको बटन खोल्दै भुरुक्क उफ्रिए । भुईँबाट खाली गिलास उठाउँदै भर्न लागे । खै के भर्न खोजेका थिए, साथीहरूले कागती पानीले भरिदिए । एकै घुट्कामा पिइदिए । अनि बोले, ‘दिल भरगया ।’

फेरी एक पटक ताली बज्यो । यति हुँदा मेरो दायाँपट्टि विराजमान साथी राहुल अरूलाई नसुन्ने मुडमा पुगिसकेको थियो । साथी रेखा चन्द पनि आनन्दित थिइन्, साथी सरिता नाच्नैपर्ने अवस्थामा पुगेकी थिइन् । समाचार भएपनि बजाउन आग्रह गर्दै थिइन्, घरीघरी हातमुख नजोड्ने वाला साथीहरू उर्मिला र शकुन्तला आफ्नै दुनियाँमा कानेखुसी गर्दै थिए । दशराज श्रेष्ठ निन्द्रादेवीको आक्रमणमा परिसकेका थिए ।

माहौल रोमाञ्चक बन्दै गएको थियो । यस्तोमा म चाहिँ अन्तरङ्ग कुराकानी गर्न, कथाहरू सुन्न र सुनाउन रुचाउँछु । साथीहरू आ-आफ्नै दुनियाँमा पुगिसकेका थिए । कोही नाच्दै थिए, कोही कानेखुसी गर्दै, खासखुस गर्दै थिए ।  कसले कसका विषयमा के सोच्दै थिए, भन्दै थिए, सहजै अनुमान लगाउन सकिन्थ्यो ।

‘अब भयो चन्द्र जी, (मेरो गिलासमा देखाउँदै) बन्द गरौँ, बरु गफगाफ गरौँ ।’ साथी उर्मिलाको अनुरोध आयो ।

‘हुन्छ गफ गरौँ, तर यो बन्द गर्न त पर्दैन होला’, मेरो वाक्य टुङ्गिनै लागेको थियो, साथी राहुलतर्फ इशारा गर्दै उर्मिला जीले भन्नुभयो, ‘उ, बढी भयो के ।’

हुन पनि साथी त चेयरमाथि पलेटी कसेर बसेको रहेछ, एकैछिनमा गन्द्राङगुन्द्रुुङ आवाज आयो । साथीहरूले उठाउँदै थिए । तैपनि साथी राहुल बोल्दै थिए । बाटोमा ड्राइभ गर्न साथी सुस्मीतालाई गाह्रो भएपछि राहुलले ड्राइभ गरेका थिए । लामो समयको अन्तरालमा चलाएको र बाटो पनि खत्तम भएको भन्दै गुनासो गर्दै थिए । पछाडि बस्ने साथी शकुन्तला लोथ्याल पनि एकदमै डराउँथिन् । साथी शकुन्तलाले ‘गर्लफ्रेन्डले ब्वाइफ्रेन्डलाई समातेको जस्तै गरी च्याप्पै समातेको’ भन्दै बेला-बेला गुनासो पोख्दै थिए साथी राहुल ।

साथी उत्सव चाहिँ दन्किरहेको आगोको लप्कामाथि जालीमा सेकुवा पोल्दै थिए । त्यसरी आगोको लप्कामा पोलेर सेकुवा बन्दैन भन्ने उनलाई थाहा रहिन्छ  । बाहिर मात्रै डढेको थियो । साथीले पाकेको भन्दै खाँदै थिए । पछि साथी उर्मिला जीले कोइलामा सेकाएर दिनुभयो । हामीले खुब मीठो मानी खायौँ ।

रातीको १० बजिसकेको थियो । अफरोड ड्राइभिङ गरेको थकान, निन्द्रा अनि…साथीहरू सुत्न जान थाले । मैले साथीहरूसँग अझै केहिसमय मीठो गफ गरौँ भनेर जुक्ति निकालेँ  । सबैलाई एक एक गर्दै प्रश्न गर्ने योजना बनाएँ ।

मैले साथीहरूलाई पत्रकारिता पढ्नुको कारण सोध्न थालेँ । सुरुमा साथी मेनुका छन्त्याललाई नै सोधेँ । उनले आफूलाई सामाजिक विषयवस्तुहरूमा बढी चासो हुने र ती विषयवस्तुहरूमा बोल्न पत्रकारिता पढेको जवाफ दिइन् । अरू साथीहरूले पनि आ-आफ्नै कारण र जवाफ दिए । केही साथीहरूलाई सोध्न बाँकी थियो । तर, चित्रराज भण्डारी (सीआर)ले बोल्न थालेपछि बाँकी साथीहरूको बोल्ने पालो गयो । सीआर भण्डारी सुदूरपश्चिमको बझाङबाट ।

साथी सीआरको कथा सुन्न म अलि बढी उत्सुक थिएँ । सुदूरपश्चिम भन्ने बित्तिकै गरिबी, भोकमरी, अभाव, पछौटेपन, भौगोलिक विकटताको चित्र मानसपटलमा बन्छ । त्यसो हुनाले सुदूरपश्चिमको बझाङमा रहेको उनको गाउँ, उनको बाल्यकाल, गाउँको वर्तमान अवस्था आदी विषयमा जान्न म उत्सुक थिएँ । उनले बाल्यकालदेखिका कथाहरू सुनाउँदै गए ।

‘मेरो गाउँ चाहिँ अलि बेँसीमै छ । गाउँको छेवैमा खोला छ । हामी सानो छँदा त्यही खोलामा खेल्थ्यौँ, माछा मार्थ्यौँ । मैले थाहा पाउँदा एक किलो माछा ३० रुपैयाँमा बिक्री हुन्थ्यो, पछि ३०० रुपैयाँसम्म पुग्यो । तर, अहिले यता (काठमाडौँ) आएपछि माछा मार्न बेच्न पाएको छैन । अनि, गाउँमा विद्यालय छ । गाउँकै विद्यालयमा कक्षा १२ पढेको हो । गाउँसम्म अनि सडक यातायातको सुविधा छँदै छ । सङ्घीय राजधानी काठमाडौँबाट टाढा छ तर तपाईँहरूले  कल्पना गरेको जस्तो विकट छैन हाम्रो गाउँ ।’

उनको कथामा ‘हो’ थपिदिइन्, रेखा चन्दले । पछि सरिता र शकुन्तलाले पनि सहमति जनाइन् । उनीहरू सबै सुदूरपश्चिमबाटै थिए ।

साथी सीआरले कथा सुनाइरहे । हामी सुन्दै थियौँ ।

एक घण्टा बितिसकेछ । त्यतिन्जेलसम्म हामी जम्मा चार जना मात्रै बाँकी रहेछौँ । अन्य साथीहरू सुतिसेकेका थिए ।

साथी सीआरको कथा सुन्दासुन्दै सुदूरपश्चिम बारे मेरो मानसपटलमा बनेको चित्र एकाएक परिवर्तन भयो । बरु, वास्तवमा विकट त मेरो गाउँ पो रहेछ भन्ने थाहा भयो ।

मेरो गाउँ चाहिँ धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा । काठमाडौँबाट ठ्याक्कै ८० किलोमिटरको दुरीमा अवस्थित छ । सङ्घीय राजधानी काठमाडौँसँगै जोडिएको जिल्ला धादिङको बासिन्दा भएकाले अक्सर पूर्व पश्चिमका साथीहरूले ‘कति नजिकको सुगम ठाउँको बासिन्दा है’ भन्छन् ।

तर, वास्तवमा विकट र दुर्गम ठाउँ त मेरो गाउँ रहेछ । जहाँ अहिलेसम्म बत्ती बलेको छैन । सडक सञ्जालमा भर्खरै जोडिएको छ । वर्षमा नौ महिना मात्रै मोटर चल्छ । जहाँ आधारभूत तह सकेपछि पढ्नका लागि सहर जानुपर्छ । स्वास्थ्य सेवाको नाममा एउटा सामान्य क्लिनिक मात्रै छ । अनि काठमाडौँ नजिक भयो भन्दैमा सुगम कहाँ हुन्छ र ?

सुन्दा अचम्म लाग्ने, रमाइलो र दुःखको कुरा के छ भने, बहुदलीय व्यवस्था पुनर्बहाली भएयता निरन्तर त्यस गाउँ क्षेत्रको नेतृत्व गर्दै आएका राजेन्द्र प्रसाद पाण्डे अहिले बागमती प्रदेशको मुख्यमन्त्री छन् । त्यस क्षेत्रबाट संविधानसभा सदस्य बनेका  शालिकराम जमकटेल हाल बागमती प्रदेश अर्थमन्त्री छन् । त्यस क्षेत्रका जनतालाई विकास भनेको कुन चराको नाम हो थाहा छैन, तैपनि चुनाव  आएपछि  तिनैलाई पठाउँछन् अगाडि । दोष जनताको हो कि नेताको छुट्टाउन गाह्रो छ । खैर, धेरै गुनासाे नगराैँ । तर कुरा बुझ्ने समय भने नजिकिँदै छ ।

हामी गफ गर्दागर्दै चुलोमा आगो निभिसकेको थियो । आगो छ की भनेर फुक्दा भूरर्र खरानी मात्रै उड्यो । समय बिहानको चार बजिसकेको थियो । हामी सुत्न गयौँ ।

बिहान हामी ६ बजे उठ्यौँ । सिमसिम पानी परिरहेकै थियो । हुस्सु उस्तै गरी जमिनसँगै टाँसिएको थियो ।

चियापान गरेपछि हामी घुमघाम गर्न निस्कियौँ । सर्वप्रथम हामी डाँडासँगै रहेको सुन्दर हरियाली चौरमा पुग्यौँ । जहाँ रक क्लाइम्बिङको लागि तालिम केन्द्र पनि बनाइएको छ । सेतो बादलको घुम्टो ओढेर लमतन्न परेर बसेकी चौरको सुन्दरता साँचै अद्भुत थियो । त्यसमाथि गाई भैँसी, बाख्रा अनि गोठालाहरू सुन्दरतामाथि गहना बनेका थिए । साथीहरूले गाईबस्तु बाख्रासँग तस्बिर कैद गरे । चौरमा हामीले थुप्रै तस्बिरहरू कैद गर्‍यौँ । चाैरकाे सुन्दरताले माेहनी नै लगायाे । हामीले निकैबेर चाैरमै बितायाैँ ।

चौरमा केहीबेर रमाएपछि हामी होटेल फर्कियौँ । साथी सरिता र दशराजलाई चाँडै फर्किनुपर्ने थियो । उनीहरूलाई खाना खुवाइबरी बिदा गर्‍यौँ । त्यसपछि हामीले ककनी स्मारक, भ्यु टावर र वरिपरिका रमाइला ठाउँहरूमा घुमघाम गर्‍यौँ । यतिकैमा दिउँसोको दुई बज्न लागेको थियो । हामी खाना खानतिर लाग्यौँ । चिसो ठाउँ भएकोले हो या भोग लागेको हुनाले, खाना असाध्यै मिठो थियो । हामीले थपिथपी खायौँ ।

खाना खाएपछि हामी फर्कियौँ उही सहरतिर । यादहरू बोकेर, क्षणहरूलाई  मन मस्तिष्कमा कहिल्यै नमेटिने गरी कैद गरेर फर्कियौँ । अन्तिममा साथी मेनुकासँग सहमत भएँ, ‘भेटिएकाहरू सँगको यात्रा यस्तै यादगार हुनुपर्छ, यस्तै रङ्गिन हुनुपर्छ ।’ Good Times, Unforgettable Memories…,

‘यात्रामा भेटिनेहरू भेटिँदै जान्छन्, तर छुटिनेहरू कहिल्यै भेटिँदैनन् ।’  याे लाइन भने रहस्यकाे गर्भमै रह्याे । कुनै दिन अर्काे यात्राकाे संयाेग जुर्याे भने अर्थ खाेजेर ल्याउनेछाैँ ।

पहिलाे भाग पढ्नुहाेस्: ककनीकाे यात्रा: भताभुङ्ग सडककाे आतङ्कबीच एक अविस्मरणीय यात्रा

तस्बिरहरू:

भिडियो

https://fb.watch/f5MBHVeFxy/

सम्बन्धित समाचार