बिहिबार , मंग्सिर १४, २०८०

साँघुरिँदै कालीगण्डकी नदी, हराउँदै मौलिक स्वरूप

image

काठमाडौं । नदी किनारमा मोटरबाटो र अव्यवस्थितरूपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो ।

पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरूप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कालीगण्डकी नदीसम्बन्धी जानकार पुरुषोत्तमाचार्यले धार्मिक, सांस्कृतिक र जैविक महत्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको प्राकृतिक स्वरूप पछिल्ला केही वर्षयता नासिँदै गएको बताए ।

बहुचर्चित कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि आउने पहिराले कालीगण्डकीको मौलिक स्वरूपमा परिवर्तन आएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचन बताउँछन् ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्दै आइएको छ । कालीगण्डकी नदी वर्षाको समयमा बाढीपहिरो र हिउँदको समयमा अवैधरूपमा ढुङ्गा, बालुवा निकाल्ने गिरोहका कारण सबैभन्दा बढी मारमा परेको छ । यहाँ सामान्य वर्षा हुनासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ ।

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिर, बाँदरजुङ्गे भिरमा बर्सेनि ठुलाठुला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको नदी संरक्षणकर्मी सागर जीवी उपाध्यायले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ-ठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन् ।

डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खलबलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खलबलिएको वातावरणविद्ले बताउने गरेका छन् ।

तटीय बस्ती जोखिममा

राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीका कारण विश्वमै दुर्लभ मानिएको बहुमूल्य शालिग्राम शिला सङ्कटमा परेका छन् । पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन छाडेको मुस्ताङ जोमसोमका यमबहादुर शेरचन बताउँछन् ।

“पहिले पहिले नदी किनारमा नै शालिग्राम भेटिन्थे तर, अहिले बिचबिचमा गएमा खोज्दा पनि मुस्किलले पाइन्छन्”, उनले भने । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराका कारण तटीय बस्ती जोखिममा पर्दै जान थालेका छन् । नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको व्यवसायी इन्द्रमान शेरचनले बताए ।

उनका अनुसार कालीगण्डकी नदीको जलचक्र प्रणालीमा समेत परिवर्तन आएको छ । नदीको जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्च रूपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि काम नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा अन्तरिम आदेश दिएको थियो ।

“तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो । तर कालीगण्डकीको न त दोहन रोकिएको छ न शालिग्रामको चोरी निकासीमा नै नियन्त्रण आउन सकेको छ”, कालीगण्डकी संरक्षण अभियन्ता सागर जीवी उपाध्यायले बताए ।

रासस

सम्बन्धित समाचार