शुक्रबार , मंग्सिर २३, २०७९

कालीगण्डकीमा जल यातायात पुनः सञ्चालन

वर्षाका कारण नदीमा बहाव बढेपछि सम्भावित दुर्घटनाको खतरालाई विचार गरेर असारको पहिलो हप्ताबाट सेवा अवरुद्ध भएको थियो ।

image

काठमाडौं । वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः सुचारु भएको छ । वर्षायाम सकिएसँगै कात्तिकको पहिलो हप्ताबाट नदीमा पानीको बहाव घटेको थियो । जसका कारण कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात पुनः सुरु भएको हो ।

वर्षाका कारण नदीमा बहाव बढेपछि सम्भावित दुर्घटनाको खतरालाई विचार गरेर असारको पहिलो हप्ताबाट सेवा अवरुद्ध भएको थियो । पर्वतको सेतीबेणीदेखि कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधस्थल स्याङ्जाको आँधीमुहान सम्म चल्ने जल यातायात बहाव घटेसँगै पुनः सुरु भएको हो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि सञ्चालन भइरहेको जल यातायात सेवा दुर्घटनाको जोखिम रहेकाले साउन, भदौ र असोजमा बन्द गरिएको हो ।

हाल १२ वटा स्टिमरले दिइरहेको सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित भएका छन् । स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रो स्टिमर दुई वटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जनाएका छन् ।

Tags:

सम्बन्धित समाचार