बुधबार , साउन ९, २०८१

कमलाखोंजका दनुवारको सांस्कृतिक पक्ष

कमलाखोंजका दनुवार रात परेपछि मात्र जन्त जाने गर्दछन् । राति जन्त जाने कारणले जन्ती प्रस्थानको शुभ साइतमा बेहुलालाई भुत प्रेत केही नलागोस् भनेर जिम्दारले मन्त्र जपेर सेतो कपडाको फेटा बाँधिन्छ ।

image

धार्मिक एवं सांस्कृतिक चाडपर्वहरु

धार्मिक एवं सांस्कृतिक चाडपर्व मानव जीवनको उपज हो । जीवनलाई अनुशासित बनाउन, यश कमाउन, आनन्द, मनोरञ्जन एवं सुखको अनुभूति गराउन धर्म र पर्व उत्सवको ज्यादै ठूलो भूमिका हुन्छ । संसारभरका मानव समुदायमा यसको अस्तित्व र महत्व समान छ । यस दृष्टिले धर्म एवं संस्कृति मानव समुदायको अभिन्न अङ्ग जत्तिकै देखिएको छ ।

नेपालमा थुप्रै जनसमुदायको बसोबास छ । सबै समुदायको धर्म संस्कृति एकै नभएरर विविध प्रकारको छ । नेपालमा हिन्दू धर्मावलम्बी समुदायको संख्या बढी छ तापनि संस्कार, कर्म र पर्व- उत्सव मनाउने प्रक्रियामा भने समुदाय पिच्छे भिन्नता पाइन्छ ।  कमलाखोंजका दनुवार यस्तै समुदाय हुन् जो अन्य हिन्दू समुदायका तुलनामा फरक छन् ।

सांस्कृतिक चाडपर्वहरु

उदार हृदयले खर्च गरेर चाडपर्व मनाउनु कमलाखोंजका समुदायको पुर्ख्यौली प्रवृत्ति हो । फाटेको लुगा लगाएर पनि मीठो खानुपर्छ भन्ने सिद्धान्त बोकेका दनुवारहरु दिनानुदिनु गरीब हुँदै गएपनि ‘जहाँसम्म धान्न सकिएला त्यहाँसम्म गरौँला’ भन्ने विचार प्रकट गर्दछन्, औकात नाघेर खर्च गर्ने बानीले उनीहरुको स्वभाव र धर्म- संस्कृतिप्रतिको मोह कति छ सहजै अड्कल काट्न सकिन्छ ।

यहाँका दनुवारहरुले मनाउने चाडपर्वहरु दशै, तिहार, ठूलो एकादशी, धान्य पूर्णिमा, माघे संक्रान्ति, साउने संक्रान्ति आदि मुख्य हुन् । दशैमा क्षेत्री, ब्राह्मणमा जस्तो नवरात्नभरि पूजा-पाठ गरी बलि दिने र दशमीका दिन टीका लगाउने चलन पाइँदैन, तर गच्छे अनुसार सुंगुर, कुखुरा, हाँस, काटेर जाँडरक्सीको भोज खाने अनि इष्टमित्रलाई बोलाएर खुवाउने चलन भने पाइन्छ । तिहारमा लक्ष्मीपूजाका दिन चामलको पिठोको गाईको स्वरुप भएको पानी रोटी तयार पारी चढाउने चलन छ । दशैंमा जस्तो तिहारमा पनि टीका लगाउने गरिंदैन । देउसी, भैलोको साटो गाना बजाना सहित गाउँघरमा नाच्दै हिंड्ने चलन ज्यादै लोकप्रिय छ । ठूलो यस  दिन यिनीहरुले बिहान स्नान गरी सकेपछी केटाले हातमा र केटीले टाउकोमा पानीको अंखोरा बोकेर घुम्नुपर्छ । राति सुत्नु हुँदैन । यदि कोही सुत्यो भने फल प्राप्त हुँदैन भन्ने विश्वास छ । त्यसैले यिनीहरुका लागि नाचगानको पनि व्यवस्था गरिएको छ । धान्य पूर्णिमाका दिन नयाँ धानको न्वागी खाने र नयाँ धानको चिउरा बनाई हाँसको फूल र परेवासहित ‘दिवास्थान’मा लगेर चढाइन्छ । चढाएको चीज प्रसादका रुपमा गाउँघरमा वितरण गरिन्छ ।

धार्मिक रीतिरिवाज

देवीदेवताहरु : कमलाखोंजका दनुवार हिन्दू धर्ममा आस्था राख्ने समुदाय भएकाले अन्य हिन्दू समुदायमा जस्तै यिनीहरुमा पनि देवी देवताहरु मान्ने परम्परा छ । यिनीहरुका मुख्य देवता वनदेवी र कुलदेवी हुन् । शक्तिदेवी भीमसेन र महादर्वलाई पनि श्रद्धाकासाथ मान्दछन् । यिनीहरुले आफ्नो कुलदेवतालाई चुल्होको पछाडि राख्ने गर्छन् । कुलदर्वताको पूजाआजाचाँहि धामीबाट गराइन्छ । वनदेवीलाई घरमा नराखेर गाउँ बाहिर राखिन्छ । राखिएको उक्त स्थानलाई दिवास्थान भनिन्छ । गाउँमा कुनै रोगव्याधी महामारी धनमालको क्षति अनावृष्टि अतिवृष्टि भई हाहाकार फैलन गएको खण्डमा वनदेवीको पूजा गरिन्छ । धान रोप्ने र काट्ने  समयमा पनि वनददेवीलाई भोग दिने चलन छ । कसैले कमला नदीमा गएर भोग दिएको पनि थाहा पाइएको छ । यस किसिमको बलि दिने कामलाई धान रोप्ने वा काट्ने समयको साइत जुटाइएको ठानिन्छ । उक्त कार्यको शुरूवात गाउँको गुमस्थाले गर्दछ यदि गुमस्थाको धान रोप्ने वा काट्नर् काम तयार नभए गाउँघरमा जसको पहिला तयार हुन्छ त्यसैको खेतमा गएर गुमस्थाले कामको थालनी गरिदिनु पर्ने हुन्छ ।

तन्त्रमन्त्र :  कमलाखोंजका दनुवारी समाजमा तान्त्रिक विधि वा मन्त्रको ज्यादै टूलो महत्त्व छ । चाडपर्वका समयमा कुलदेवतालाई तान्त्रसक विधिले होम हाल्ने गरिन्छ । यो काम गाउँको धामीले गर्दछ । तान्त्रिक शक्तिमाथि यिनीहरुको ठूलो विश्वास रहेको देखिन्छ । तन्त्रमन्त्रको शक्तिले मान्छे बाघ बन्न सक्छ र पुनः मान्छे हुनसक्छ । त्यस्तै बोक्साबोक्सी रिसायो भने भेटेर मारिदिन्छ, मुहनी लगाउन सकिन्छ । यसैगरि बाटोमा किलो ठोक्न रेखा खिच्न अक्षता फुकेर हिर्काउन सकिन्छ भन्ने कुरामा पुर्ख्योली विश्वास रहेको पाइन्छ । यी कुरा र कामहरुप्रति यहाँका दनुवार ज्यादै सचेत र सजग रहेको देखिन्छ ।

संस्कार कर्मः संस्कार कर्म सबै समुदायका हुन्छन् र समुदायपिच्छे फरक फरक हुन्छन् । त्यस्तै कमलाखोंजका दनुवार समुदायको पनि फरक देखिनु स्वाभाविक छ । जन्मदेखि मृत्युतक जे जस्ता कर्म गरिन्छ त्यसलाई संस्कार कर्मको रुपमा स्वीकारिंदै आएको पाइन्छ । यहाँका दनुवारहरुको सांस्कृतिक कर्म केही मात्रामा ब्राह्मण समाजसंग मिल्दोजुल्दो देखिए पनि अधिकांश कर्महरु सामुदायिक धर्म संस्कृतिका आधारमा सम्पन्न गरिन्छ । यिनीहरुको समाजमा पास्नी व्रतबन्ध जस्ता कर्मको नाम नै लिइँदैन । जन्म, छेवर, विवाह र मृत्यु नै यिनीहरुका सांस्कृतिक कर्महरु हुन् ।

जन्मः दनुवारी समाजमा जन्म वा न्वारानको विधि ज्यादै छोटो छ । हजामले नवजात शिशु र सुत्केरी आमाको नङ काटेर रङ्ग लगाइदिएपछि सुत्केरीले र हजामले नुहाएपछि न्वारान गर्ने विधि समाप्त हुन्छ । न्वारान गर्दा तिन छ वा नौ दिनमध्ये यो दिन नै गर्नु कुनै अनिवार्यता छैन । न्वारानमा बच्चाको नामकरण गर्दा कुनै तिथि, गण, नक्षत्र आदि हेर्ने प्रचलन पाइँदैन । विशेषगरि बार वा महिनाको आधारमा नाम राख्न  गरिन्छ । जस्तो सोमबार जन्मेकालाई ‘सोमे’ मङ्गलबार जन्मेकोलाई ‘मङ्गला’ र शुक्रबार जन्मेकोलाई ‘शुक्रा’ आदि भन्ने गरिन्छ । यस किसिमको नाम राख्ने परिपाटी हिजोआज अलि कम हुँदै गएको पाइएको छ ।

छेवर: छेवरलाई दनुवारहरू मथमडामी भन्दछन् । यो मथमडामी दोस्रो संस्कार हो । बच्चा जन्मिएको वर्ष दिनमा आउने मंसीरे पूर्णिमाका दिन मथमडामी गर्ने चलन छ । कमला नदीमा गएर बच्चाको कपाल खौरेर बोका, पाठी, परेवा भोग दिएपछि पूरा हुन्छ । यसपछि त्यहीं भोज खाने खुवाउने गरिन्छ । भोज खाएपछि बाँकी रहेको चीजबीजलाई घरमा नल्याई खोलामै छाडिदिनु पर्छ भन्ने भनाइ छ । बच्चाको मथमडानी नगरून्जेल आमाले कमला नदी तर्नु हुँदैन र माइतीबाट ल्याएको कोसेली पनि खानु हुँदैन भन्ने विश्वास यहाँका दनुवार समुदायमा रहेको छ ।

विवाह : विवाहलाई अन्य समुदायमा झैं यस समुदायमा पनि महत्त्वपूर्ण संस्कार मानिन्छ । यस समुदायमा हुने विवाहको विधिविधान भने ज्यादै लामो छ । यिनीहरुको समाजमा चोरी ल्याउने र जारी तिरेर केटी ल्याउने प्रथालाई त्यति मन पराउँदैनन् । विवाहका लागि विशेष गरेर केटा पक्षबाट चासो उठाउने गरिन्छ । केटा र केटी पक्षका अभिभावकबीच कुराकानी मिलेपछि केटीपक्षबाट विवाहका लागि केही खर्भ माग गरिन्छ, जसलाई ‘शोध’ भनिन्छ । उक्त शोधका रूपमा हिजोआज दुई सय रुपयाँ, पाँच मुरी धान, नौ पाथी चामल, दुई पाथी मासको दाल, एक शेर तेल, नौ जोडा सुपारी र दुईवटा फरिया बुझाउनु पर्ने चलन छ । धान र पैसामा क्षमता हेरी घटबढ हुनसक्छ तर अरू कुरामा भने तलमाथि गर्न पाइँदैन भन्ने भनाइ छ । ‘शोध’ को सारा प्रबन्ध मिलाउने काम लमीदे गर्दछ । लमीलाई उनीहरू कुटुनी भन्दछन् । ‘शोध’ बुझाउन जाँदा कुटुनी पनि साथमा जानु अनिवार्य छ किनभने विवाहको तिथी त्यही दिन निश्चित गरिन्छ ।

विवाहका समयमा जन्ती जानुभन्दा एक दुई दिन अघिदेखि नै केटाको घरमा वैवाहिक विधिविधान पूरा गर्नु पर्छ । यी विधि केटासँग सम्बद्ध हुन्छन् । सबैभन्दा पहिलो विधि हो ओखल कुट्ने । यसमा बेहुलाले ओखलीमा चामल र बेसारको धान हाल्नु पर्छ । उक्त धानलाई स्वास्नी मान्छेहरुले कुट्ने गर्छन् । यो क्रम पाँच पल्टसम् चलिरहन्छ । यसरी कुटेर पारिएको चीजलाई ‘कासा’ भनिन्छ । उसै दिन साँझमा गाउँका केटीहरु बेहुलाको घर आँगनमा आएर खराङ खखराउ लगाइदिने आँखा छोपिदिने, थालमा रोटी राखेर बेहुलाका टाङ मुनिबाट पाँच पटक छिराउने जस्ता विधि पूरन गर्दछन् । ठीक विवाहको अघिल्लो दिन कुखुरा बास्नुभन्दा अगावै गाग्रफ लिएर केटाले खफलामा जानुपर्छ,उसका साथमा पाँचजना केटी पनि जाने गर्दछन् । तिनीहरु सबै मिलेर गाग्रोमा पानी भर्दछन् । यस कार्यलाई समर घैला भरेको भनिन्छ । जन्त जाने दिनको केही समय अगाडि जिम्दारले पूजा सामग्री नौ वटा हाँसको फूल, सुपारी, चामल, नयाँ सातहाते कपडा लिई घर बाहिर खेत वा बारीमा गई पूजाआजा गर्दछन् । यसपछि पूजाआजा गरिएको स्थानको माटो पाँचवटा केटीहरुले पाँचवटा डालीमा राखेर पूजा गर्न लगिएको कपडाले छोपेरघर ल्याउनु पर्छ । त्यसपछि केटीहरुले घर घर घरमाउने गर्दछन् । यस बखत केटीहरुलाई दक्षिणा पनि दिइन्छ । चोखो वा शुद्ध पार्नको लागि पानी छर्किइन्छ । डालीमा ल्याइएको नयाँ माटोको चूल्हो बनाएर राखिन्छ । उक्त नयाँ चूल्होमा नयाँ हाँडी राखी बेहुलाले पाँचवववटि केटि संगसंगै बुजनाठी कप्टेरा ले पाँच घान धान भुट्नु पर्छ । यसपछि तिनै केटीहरुले बेहुलाको शरीरमा बेसार दलिदिने र दिदीले भाइको शरीरबाट पानी नघाउने र अन्त्यमा दिदी भिनाजुद्वारा घरभित्र प्रवेश गराउने काम हुन्छ । यी उल्लेख्य विधिहरु विवाहको जन्त जानु अगावै सम्पन्न गरिन्छन् ।

कमलाखोंजका दनुवार रात परेपछि मात्र जन्त जाने गर्दछन् । राति जन्त जाने कारणले जन्ती प्रस्थानको शुभ साइतमा बेहुलालाई भुत प्रेत केही नलागोस् भनेर जिम्दारले मन्त्र जपेर सेतो कपडाको फेटा बाँधिन्छ । यसपछि बाजागाजाकासाथ नाच्दै, गाउँदै, रमाइलसँग बेहुलीको घरतर्फ जन्ती अगाडि बढ्दछ । जन्तीले बीचबाटोमा वास नबसिकन बेहुलीको घर पुग्नु पर्ने वैवाहिक नियम भएकाले समयका ख्याल गरेर मात्र घरबाट जन्ती प्रस्थान गरिन्छ । बेहुलीको गाउँमा जन्ती पुगेपछि सोझै बेहुलीको घरमा नगई जिम्दार वा गुमस्थाको घरमा जानुपर्छ अनि मात्र बेहुली पट्टिकाबाट निम्ता पठाइन्छ । यिनीहरुमा एउटा अचम्मको चलन छ त्यो हो दुलहीतर्फका मानिसहरुद्वारा दुलहालाई चोर्ने । चोर्ने कार्य असफल भएमा जबर्जस्ती तानेर बेहुलीको घरमा लगिन्छ । सर्वप्रथम बेहुलीको आमा, काकी, भाउजु आदि नाता पर्नेले बेहुला बेहुलीको गोडा धुन्छन् । यसपछि बेहुलालाई देउता कोठामा र बेहुलीलाई अर्के कोठामा लगेर राखिन्छ । यसबेला केटीहरुको समूहले देउता कोठाको ढोकामा बसेर बेहुलालाई तिम्रो नाम के हो ? तिमी को हौ ? कताबाट आयौ ?  जस्ता प्रश्नहरु सोध्छन् । यस किसिमको सवाल जवाफलाई उनीहरु फकडा भन्दछन् । वेदी जग्गेमा बेहुलालाई निकाल्ने समयमा ढोकामा बसेका केटीहरुले बेहुलासँग सुपारी माग्छन् । मागे जति सुपारी बेहुलाले दिनुपर्छ ।

दनुवार समुदायको पुरेत्याइँको काम हजामद्वारा हुने भएकाले विवाहको विधि पनि हजामकै सक्रियता बाट पूरा हुन्छ । दनुवारमा सकेसम्म कन्यादान मामावलीले दिन्छन् । सिन्दुर हाल्ने काम सकेपछि बेहुलाबेहुलीलाई देउता कोठामा ढोगाउन लगिन्छ । यसरी पहिलो दिनको विधि पूरा हुन्छ । भोलि पल्ट जिम्दारबाट मरुवा पूजा गरेपछि विवाह विधि शुरू हुन्छ । पूजा गर्दा वेदीको पश्चिमपट्टि गाडिएको सिमलको छेउमा गर्ने चलन छ । यसपछि गडलगनिको लागि गाउँका नाता पर्ने इष्टमित्रकहाँ लगिन्छ । बेहुलाले आफ्ना ससुरा, जेठान आदि नाता पर्नेलाई पैसा राखेर ढोग्ने चलन छ । यो काम सकेपछि जन्तीलाई भोज खुवाइ बेलुकापख बेहुला बेहुलीलाई ‘मउर’ सेलाउन खोलामा लगिन्छ । मउर सेलाउने बेलामा साइतको लागि वन्दूक पड्काउने चलन । अन्त्यमा गाउँघरका स्वास्नी मानिसहरुबाट दूवो, दही, पानी र धान आदि पूजा साम्रगीले चुमाउँछन् । यस कार्यमा बेहुला बेहुलीलाई दक्षिणा पनि दिइन्छ । चुमाउनु भनेको पूजा गर्नु हो । यो बेहुली पट्टिबाट गरिने अन्तिम विधि हो । यसपछि जन्तीलाई भोज खुवाएर राति नै विदा गरिन्छ ।

जन्तीलाई पुर्याउन बेहुलीपट्टिबाट बेहसलाको गाउँसम्म आउने चलन छ । यसरी आउने मानिसलाई सरियाति भनिन्छ । सरियातिले जन्ती गाउँमा आएर बेहुली भित्र्याएकै दिन राति बेहुलीलाई लिएर जान्छन् । विवाहको दशौं दिनमा केटाले ससुरालमा कोसेली समेत लिएर ‘दशरथ’ नुहाउन जानुपर्छ । विवाहमा लगाएको लुगा यही बेलामा मात्र खोलिन्छ । दशरथ नुहाउन जाँदा ज्वाइँलाई चार पाँच दिन राखेर दाउरा काट्ने, माछा मार्ने जस्ता काम लगाइन्छ । यसपछि ज्वाइँ एक्लै घर फर्किन्छ । केटीचांहि एक वर्षपछि मात्र घरु फर्कन्छे । एक वर्षपछि केटी घर आउने क्रमलाई ‘कन्या छाड्ने’ भनिन्छ । कन्या छाड्ने बखतमा केटीका माइतीपट्टिका थुप्रै मानिसहरू पुर्याउन आएका हुन्छन् । यिनीहरूलाई खसी काटेर भोज खुवाएर विदा गर्नुपर्छ । केही समयपछि केटी पुनः माइत जान्छे । अन्त्यमा केटीलाई घर पुर्याउने समयमा स्वास्नी मान्छे लोग्ने मान्छे दुवै थरी आएका हुन्छन् । केटीलाई घर पुर्याएर उनीहरू रूँदै फर्किन्छन् । तिनीहरूलाई पुर्याउन केटा पक्षका स्वास्नी मान्छेहरू पनि रूँदै केही बाटो सम्म आई फर्कन्छन् । यसरी केटीको माइती आउने जाने क्रम विस्तारै कम भई घरजम हुन थाल्दछ ।

मृत्यु संस्कार : मृत्यु संस्कार दनुवार समुदायमा गरिने जीवनको अन्तिम संस्कार हो । कमलाखोंजका अन्य समुदायका तुलनामा यिनीहरूको संस्कार कर्म सर्वथा नौलो छ । दाहसंस्कार गर्ने समयमा चारजनाले चार शुरबाट चित्तामा आगो लगाउने र एकजनाले पैसा चढाउने गर्छन् । लाश जलाउँदा तीन दिनसम्म लगाएर जलाउने अनौठो चलन छ । पहिलो दिन लाश जल्न मात्र बाँकी भएपछि त्यतिकै छोडेर जान्छन् । दोस्रो दिन बाँकी अवशेषलाई जलाउने गर्दछन् र तेस्रो दिनचाँहि जलेको खरानीलाई ढुङ्गा माटोले छोपेर सेलाउँछन् । अन्तिम दिनको अँगार खरानी सेलाउने कामलाई ‘छोरछप्पी’ भन्दछन् । यही तेस्रो दिन मलामीलाई खुवाउने र क्रियापुत्री बस्ने गरिन्छ । क्रियापुत्री एक भाइले बसे मात्रै पनि पुग्छ । क्रियापुत्रीले कात्रोको एकधरो घाँटीमा बेरेर बस्नुपर्छ । त्यस्तो लुगालाई ‘उत्री’ भनिन्छ ।

माझी समुदायले जस्तै क्रियापुत्रीले कुना पसी बस्नु पर्देन । बाहिरफेर हिड्डुल गर्न सक्छन् । यस्तो अवस्थामा अर्को समुदायसँग बोल्दैनन् । अन्य जीवजन्तुले नछुओस् भन्नका लागि डोरीले बेरेको लठ्ठी बोकेर हिंड्छन् । क्रियापुत्रीले माछा, मासु, तेल, कोदोको रोटी, मासको दाल बाहेक अरू चीज बार्नु अनिवार्य मानिंदैन । दनुवार समुदायमा क्रियापुत्री बदल्ने चलन पाइन्छ । क्रियापुत्री बदल्नु परेमा अघिल्लो क्रियापुत्रीले घाँटीमा बेरेको उत्री फुकालेर पछिल्लो क्रियापुत्रीले घाँटीमा लगाएपछि पहिलो क्रियापुत्री स्वतन्त्र हुन्छ । दसौं दिनमा गाउँले सबैले ( नाता पर्ने ) दशाइ नुहाउँछन् । उक्त दिन विवाहित दनुवार्नीहरूले सिउँदोमा सिन्दूर लगाउने चलन छ । एघारौं दिनमा हजामलाई दक्षिणा दिनुपर्छ । बार्हौं दिन माछा मारेर गाउँलेहरूलाई खुवाउनु पर्छ । तेर्हौं दिन मृत व्यक्तिलाई पिण्ड दिई आफ्ना गाउँले इष्टमित्रलाई जाँड र बोकाको मासु खुवाएर मृत व्यक्तिको संस्कार कर्म सधैका लागि बिसर्जन गरिन्छ । ‘मेचीदेखी महाकाली’ पुस्तकमा दनुवार समुदायले मृत व्यक्तिको नाममा तीन दिन जुठो र पौषे औंसीमा श्राद्ध गर्दछन् भनी उल्लेख गरिएको भए तापनि कमलाखोंजका दनुवार समुदायमा यस्तो किसिमको संस्कारगत चलन रहेको पाइन्न ।

  • राजेश पौड्याल

सम्बन्धित समाचार