मंगलबार , जेठ १६, २०८०

अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिँदै, यस्ता छन् कारणहरू

image

एजेन्सी । कङ्गारु त्यस्तो दुर्लभ जनावर हो, जुन अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाइन्छ । पपुवा न्युगिनीमा ट्रि कङ्गारु पाइन्छ, जसको सङ्ख्या मात्र ३ सयदेखि ५ सयको हाराहारीमा छ । उता अस्ट्रेलियामा भने कङ्गारुको सङ्ख्या ३ करोड ६५ लाख रहेको अस्ट्रेलियाको सरकारी तथ्याङ्कले देखाएको छ ।

राेचक त के छ भने अष्ट्रेलियाकाे जनसङ्ख्याभन्दा बढी कङ्गारूकाे संख्या छ । जसका कारण पनि मार्नु परेकाे हाे । सन् २०२२ काे तथ्याङ्क अनुसार अष्ट्रेलियाकाे जनसङ्ख्या जम्मा २६.६५ मिलियन अर्था दुइ कराेड ६५ लाख रहेकाे छ । अष्ट्रेलियामा कङ्गारूकाे सङ्ख्या मानिसकाे भन्दा एक कराेड बढी रहेकाे छ ।

कङ्गारुको सङ्ख्या गणना गर्नु निकै गाह्रो काम हो । अस्ट्रेलियाका ६ राज्यले हेलिकोप्टरमार्फत कङ्गारुको गणना गर्ने सीएनएनले जनाएको छ ।

अस्ट्रेलियाले हरेक वर्ष लाखौँ कङ्गारु मार्नका लागि कोटा पनि तय गर्छ भन्दा तपाईँलाई अचम्म लाग्छ, तर त्यो सत्य हो । यस वर्ष मात्र अस्ट्रेलियाका न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, भिक्टोरिया, साउथ अस्ट्रेलिया र वेस्टर्न अस्ट्रेलियामा ५० लाख कङ्गारु मारिने कोटा तय भएको सीएनएनले जनाएको छ ।

गार्डियनका अनुसार यस वर्ष भिक्टोरिया राज्यमा २ लाख ३६ हजार ३५० कङ्गारु मारिँदैछन् । गत वर्षभन्दा यस राज्यमा २७ प्रतिशत बढी कङ्गारु मार्न अनुमति दिइएको हो । यस देशमा जग्गा धनीहरूलाई कङ्गारु मार्ने लाइसेन्स नै प्रदान गरिन्छ ।

अस्ट्रेलियाको कङ्गारु उद्योग सङ्घका अनुसार कङ्गारुको मासु र छाला बेचेरै अस्ट्रेलियाले वर्षको १ सय ३३ मिलियन अमेरिकी डलर आर्जन गर्छ । कङ्गारु मार्नुलाई अधिकारवादी संस्थाले विश्वभर विरोध पनि जनाएका छन् ।

यद्यपि अस्ट्रेलियाको सरकारले भने कङ्गारुको सङ्ख्या अत्यधिक भएकाले त्यसलाई मार्नुबाहेक उपाय नभएको बताउँछ ।

कङ्गारु धेरै हुँदा यसले मानिसलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने गर्दछन् । यसले जमिन नै कब्जा गरेर बस्ने र अन्य जनावरहरूलाई पनि मार्ने हुनाले सङ्ख्या नियन्त्रण गर्न मार्नुपरेको जनावर विज्ञहरू नै बताउँछन् ।

खडेरीको समयमा कङ्गारु आफैँलाई भोकमरीबाट जोगाउन पनि नियमित रूपमा कङ्गारु मार्न आवश्यक भएको उनीहरू बताउँछन् ।

अस्ट्रेलियाको क्वीन्सल्यान्डको मारुम भन्ने ठाउँ यतिबेला कङ्गारुको कब्जामै गएको छ । त्यहाँ २२० घर छन् तर कङ्गारुको सङ्ख्या बढी भएकाले त्यहाँ उक्त जनावरले मानिसहरूलाई आजित बनाएका छन् ।

कङ्गारु खाना खोस्न किचनसम्मै आउने गरेका छन् । यदि मानिसहरू कङ्गारुको प्रतिकारमा उत्रिए कङ्गारुले मानिसहरूलाई कुट्ने गरेको पनि बताइएको छ ।

सीएनएन र एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार