शनिबार , फागुण १९, २०८०

काठमाडौं नजिकैको सुनसान गाउँ : जुका टिप्दै, फ्याँल्दै कार्कीगाउँ पुग्दा..!

जुकाले शरीरमा भएको खराब रगतलाई चुस्ने अनि छाला वा मांसपेशीमा लागेको रोग वा दुखाई निको हुने विश्वास स्थानीयरुपमा रहेको छ भनेर भनौँ भने ‘तैट’ गर्नुहोला तर, यो वास्तविकता हो ।

image

आजभोली त बर्खा लागेको छ, बाहिरफेर निस्कँदा हिलोसिलो लाग्ने भयो । छत्रीको बलेँसी चुहिएर कुम लफ्रक्कै भिज्ने भयो । डाँडाकाँडाले हुक्का तान्ने भए, हुस्सुले कतै केही नदेखिने भयो । तर, झरी मनपर्ने र रुझौँ/रुझौँ, भिजौँ/भिजौँ भएकाहरूलाई भने एउटा गजबको गन्तव्यको गाथा गाऊ गाऊ भा’को छ । आफू पुगेको, उतै बसौँ बसौँ भएको तर धेरै दिन बस्न नपाएको काठमाडौंदेखि नजिकैको एउटा हाइकिङ रुटबारे तपाईँलाई इतिवृत्ति सुनाऊ सुनाऊ लागेको छ । त, सुनाऊ क्यारे है ?

तपाईँ धेरै केही नगर्नुस्, चुपचाप बालाजु-बाइपास पुग्नुस् । छाता ओढेर पुग्नुस्, रुझ्दै पुग्नुस्, बिरालोको बाटो काटेर पुग्नुस् या आँखाको चिप्रा कोट्याउँदै पुग्नुस्, तर पुग्नुस् ।  त्यहाँसम्म पुग्नलाई साइकल लिनुहुन्छ र आफ्नो जिउलाई सिङ्गल रेनकोटले ओढाउनुहुन्छ भने तपाईँ गजब मान्छे भइजानु भयो । ‘होइन, मसँग त्यस्तो रेनकोट नै छैन भन्नुहुन्छ’ भने एउटा प्लास्टिक ओढेर साइकल चलाउनुस् । यो पदमार्ग साइकलमार्फत सयर गर्नु सर्वोत्तम हुने मेरो ठम्याई छ ।

‘होइन, मलाई साइकल चलाउन आउँदैन भन्नुहुन्छ’ भने २/४ दोस्त, यारहरूसँग कानेखुसी गर्नुस्, गफगाफ गर्नुस् र यता जाने कुरालाई टुङ्गोमा पुर्‍याउनुस् । यसरी यारहरूसँग दोस्तियाना जमाइरहँदा तपाईँले अनामनगर या बागबजारको धुँवाधुलोलाई साक्षी राख्दा बेस हुन्छ । सक्नुहुन्छ भने त, अफिस टाइमको घनघोर ट्राफिक जाममा यो प्लान अघि सार्नुस् । अझ, ‘यार क्या बोर भो ।  म त काठमाडौं छोड्छु होला हो’ भनेर भन्नै खोज्नुभा’छ भने पनि यस कुरालाई आफ्नो ब्रोहरूसामू राखेर आफू जान्ने-सुन्ने भइखानुस् । हाइकिङ जानका लागि यी-यसप्रकार वास्तुशास्त्र मिलाउनु पर्छ भन्ने मेरो अर्को ठम्याई हो ।

‘ह्यासट्याग ट्राभलर, ह्यासट्याग लभनेचर, ह्यासटेग समव्हेरअन्डरदस्काई’ लेखेर दुई चार दिन फ्रेस हुने जमर्को गर्नुस् । ‘अब इस ल्या छ, केही नि गर्दिन भन्नुहुन्छ’ भने यो पढ्न छोड्नुस् ।  भलु कि भालु बाजेलाई हेरेर पेट दुखाउनुस्, र निन्द्रा गुमाउनुस् । तपाईं टिकटकमा झुम्मिइरहँदा प्राकृतिक दृश्यहरू तपाईँबाट फुत्किसक्नेछन्, चेतना भया । तर, अझै पनि भन्छु । आउनुहोस्, यात्रा गरौँ, जहाँ तपाईँ आफ्नै खुट्टाले हिँड्नुहोस्, आँखाले हेर्नुहोस्, कानले सुन्नुहोस्, नाकले सुँघ्नुहोस् र त्वचाले स्पर्श गर्नुहोस्  ।

असार १५ मा कार्की गाउँमा हिलो खेल्न आरम्भ समूह पुगेको थियो

***

त, मेरो जहाँसम्म विचार छ, तपाईँ झरीबाट आफूलाई ढाकेर या झरीलाई आफ्नो शरीरदेखि तर्काउने मेसो गरेर नै बालाजु बाइपास पुगिसक्नुभएको छ । तपाईँले साइकल नचढ्ने नै निधो गर्नुभएको छ, जुन वर्खायाममा ठिक कुरा हो ।

अब यसो गर्नुस्, मास्तिर एउटा पिच बाटो लम्बेतान सुतेर बसेको छ । बिहानको ७ जति बज्दै छ । बाइपास एरियामा चराहरू चिरिबिराएको सुन्दै एउटा चिया पसल छिर्नुस् । बैखु खाजा घर छिर्दा कुनै हानी छैन । चियाको २० रूप्पे पर्छ, छुट्टा लिएकै राम्रो । एकाबिहानै हजारको फित्तो खल्तीदेखि निकाल्दा साहुजी मात्रै होइन बाउजी पनि रिसाउँछन् ।  त्यसो नगर्नुस् । २० रुपैयाँको चिया खाँदा हजारको नोट निकाल्नु असभ्य हुनु हो । सभ्यताको नगरीको मान्छे हो तपाईं (हो ?), सभ्य हुनुस् ।

हाइक निस्कँदा जङ्क फुडले झोला भर्नुपर्छ भन्ने काइते तर्कलाई उतै बिसाइदिऊ । हाइकिङ गर्नु भनेको हिँड्नु मात्रै होइन, शुद्ध भोजन खाँदै प्रकृतिलाई चुम्नु हो । बियर नै बोकेर जङ्गल उकालो लाग्नुको खासै अर्थ मैले देख्दिहालेको छैन । पानीको बोतल भर्नुहोला, केही फलफूल र पुष्टकारी आइटम्स राख्नुस् । हुँदैन भन्नुहुन्छ भने मास्तिर पुगेर लोकल कुखुरा खाइजाउला !

खैर, चिया खाइसक्नुभयो होइन ? अब चट्ट ल्याएर भुँडी मुसार्नुस् अनि ककनीतिर बत्तिएको ३ किलोमिटर लामो सडकलाई तपाईँका खुट्टाहरू समाउन दिनुस् । एकाबिहानै दुवै पट्टि जङ्गल भएको त्यस बाटोमा हिँडिरहँदा तपाईँले पक्कै आफूलाई ‘चङ्गा’ पाउनुहुन्छ । धेरै छेउकुना गर्दै नउफ्रिनुस्, फोहोर बोकेर कुदिरहेका ‘बालेनका ट्रक’हरूले ‘चङ्गा चैट’ गर्देलान् । अलि पहिले मैले कता हो ‘धेरै उफ्रेर भ्यागुतोको खुट्टा बाङ्गिएको रे’ भन्ने कथा सुन्या थे । तपाईँलाई देखेर त्यो कथा साँच्चैको घटना रहेछ कि भनेर म सोच्न बाध्य किन भइहालूँ भन्ने मेरो कुरा नि !

छन् त, सीतापाइलादेखि गाडी चढेर ३ घण्टा हाइ काढ्दै पनि कार्की गाउँ पुग्न सकिन्छ । तर, म त्यो यात्रा रुट तपाईँलाई अफर गर्दिनँ । गाडी नै चढ्ने भए त ब्राजिल जानुस्, ४ दिन लामो बस रुट समाएर दक्षिण अमेरिका भ्रमण हान्नुस् । या रेलमा युरोप सेयर गर्नुहोस्, यस्ता विकल्पहरू भारततिर पनि उपलब्ध छन् । यहाँ हिँड्ने कुरा हुँदैछ, थ्याच्च थ्याच्च बस्न मन पराउनेहरूलाई ‘लौ, चिया खाइहाल्नुभयो, बालाजुदेखि बस चढेर काठमाडौंमै हराउनुस्’ भन्दिने हो ।

***

त, तपाईं हामी यतिखेर शिवपुरी राष्ट्रिय निकुञ्जको गेटमा उभिएका छौँ । गेट भित्र बाँदरहरू उफ्राउफ्री गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज प्रवेश दस्तुर नेपालीका लागि सय रूप्पेको छ । प्रति साइकल प्रति व्यक्ति २० रूप्पे मात्र छ । तपाईं १०० काउन्टरमा बुझाएर भित्र छिर्नुस् ।

अनि उफ्राउफ्री गरिरहेका बाँदरहरूलाई आफ्नो क्यामरामा कैद गर्दै ‘मैले दामी फोटो खिचे है’ भनेर मक्ख पर्नुस् । तर, लड्नुहोला विचार गर्नुस् । बाटो चिप्लो छ, टाउकोले भुँइ टेक्ला । त्यसो हुँदाखेर बाँदरहरूले ‘हामीभन्दा पहिले रुखदेखि हामफ्यालेकाहरू पनि अझै उस्तै रहेछन्’ भनेर सोच्लान् र, भुइँतर्फ नझरी अर्को हाँगोतिर उफ्रेलान् । एकाबिहानै सर्वश्रेष्ठ प्राणी हुनुको अहम् चकनाचुर भयो ? हुन् दिनुहोस्, यहाँ हामी आफ्नो अहम् तोड्न नै निस्किएका हौँ । प्रकृतिलाई मात दिने होइन, प्रकृतिमा समाहित हुने हो । मान्छे एउटा जनावर मात्रै हो, ऊ सम्पूर्ण पृथ्वी होइन ।

तपाईँले देखिहाल्नुभयो, एउटा मात्रै गाडी छिर्ने तर्पाइलो (तेर्सो) बाटो तपाईँको सामुन्ने छ ।  झ्याउँकिरीका झ्याउझ्याउ यात्रा अवधिभर तपाईँको ‘गुलाम अलि, नारायण गोपाल, भिटेन र डिजे फलानो ढिस्कानो’ भइरहनेछन् । तपाईँले आफ्नो मुड अनुसार गीत चेन्ज गर्न पाउनु हुनेछैन । झ्याउँकिरीका पनि मुड हुनेछन्, तपाईँले उनीहरूको मुडको सम्मान गर्नुपर्नेछ । इयरफोन निकालेर कानमा कोच्नुहुन्छ भने त्यति नै बेला तपाईँलाई काठमाडौं फर्काइनेछ । “गीत नै सुन्नु थियो भने, घरमा बसे हुन्थ्यो नि” भन्नेखालको आकाशवाणी एकाएक हुनेछ । तपाईँले आकाशवाणीको कटाक्षलाई मनन गर्नुपर्नेछ ।

“ठुलो ठुलो म्युजिक स्पिकर बजाउँदै हिँड्न पनि सख्त मनाही छ”, यो निकुञ्जले भनेको होइन, मैले भनेको हो । किन भनेको हो भन्दा- ठुलो आवाज निकाल्दा तपाईं ३२० प्रजातिका चराचुरुङ्गीहरू चिरबिराहट मिस गर्नुहुनेछ । बाँदरदेखि बँदेल र सालकदेखि ध्वाँसे चितुवासँग आकस्मिक जम्काभेट हुने माहौललाई चुर्लुम्मै पार्नुहुनेछ । तपाईँले अझै मान्नुभएन भने निकुञ्ज क्षेत्रका १२४ प्रजातिका पुतली र १,१०० भन्दा बढी बिरुवा र फूलहरू तपाईँलाई कर्के नजरले हेर्नेछन्, धारे हात मार्नेछन् । तपाईँ मात्रै जंगलमा हुनुहुन्न भन्ने कुरालाई मनमनै मनन गरिदिनुहोला ।

डा. तीर्थ बहादुर श्रेष्ठ पनि भन्थे, “शिवपुरी वास्तवमा शिवकै पुरी हो । यसलाई बिथोल्नुहुँदैन । पाप लाग्छ ।” तपाईं धर्मात्मा भइखानुस् ल ! गुम्बा र मन्दिरको नाममा खडा भएका विशाल संरचनाले उसै पनि शिवपुरीलाई अशान्त बनाइसकेको छ, अब तपाईं अर्को अशान्त प्रजाति नबन्नुस् । १६ हजार भन्दा ज्यादा चराचुरुङ्गीको चिरबिरले सुमधुर यस जंगलमा आइसकेपश्चात् तपाईँले एउटै चरा देख्नु भएन त बोर हुन्छ । अतः किप क्वाइट महासय ।

चुपचाप चुपचाप अगाडी बढ्नुस् । वसन्त ऋतुलाई बोलाउँदो कुक्कु कुक्कु बोल्ने कुक्कु कोइली, हामीलाई को हो ? को हो ? भनी वनै थर्काउँदै प्रश्न गर्दो कोयल कोइलीसँग तपाईँको पक्का देखादेख हुनेछ । बुलबुल, जुरेली, लुइँचे, कालिज र तित्रा लगायत रुखका हाँगामा बसिरहेका होलान्, पैताला विस्तारै चाल्नुहोस् । चरा हेर्नुछ भने धैर्य र मौनता बरोबर चाहिन्छ । अतः बि प्यासेन्ट महासय ।

चुरोट लैजान दिन्छन् तर चुरोटको धुवाँले पुतली चाहिँ गायब हुन्छन् । चुरोट सल्काउँदै पुतलीको फोटो खिच्छु भन्नु चाहिँ मुर्ख्याइँ हो । निकुञ्जभित्र धुवाँ फाल्ने सवारी साधन भित्र्याउनु पनि पुतलीको संसार ध्वस्त पार्नु हो । तर, पुतली हेर्न पनि गाडीमा आउने सुप्रसिद्ध प्रकृति प्रेमीहरूले यो कुरा बुझेका छैनन् । तिनलाई कुरीकुरी गर्दिएर हामी अगाडि बढौँ । जहाँ पुतली छ, त्यहाँ शान्त छ भनेर बुझ्नुपर्छ । अतः यो हाइक रुट अत्यधिक शान्त रहेको कुरामा कुनै शङ्कै रहेन । शिवपुरी निकुञ्जका अन्यत्रका चलेका हाइकिङ रुटमा पुतली देख्न मुस्किल छ ।

पानी अमला उखेलेर खानुस् तर त्यो पोथ्रालाई त्यसै नहुत्याइदिनुस् । उसको जरोमा माटो छ भने उसलाई माटो नजिकै छाडिदिनुहोस्, अर्कोपटक तपाईँको लागि ४/५ दाना पानी अमला तयार गरेर बसेको हुनेछ । तपाई खनायो (खन्यू) चिन्नुहुन्छ भने ती स्वादिष्ट गुलिया दानाहरू तपाईँलाई नै पर्खिरहेका छन् । तर, खनायो नाममा अर्कै थोक खाएर शरीर ओइलाउने काम चाहिँ नगर्नुस् ।

चिलौने, कटुस, उत्तिस, सल्ला, बाँझ–फलाँट, गुराँस र खस्रु जस्ता बीज भण्डार जन्य रुख मुनि ओत लाग्नु या तिनलाई अंकमाल गर्नुमा धेरै भलो छ ।  फूल नफुल्ने उन्यू, निगुरो, नागबेलीका लहरा हेरेर लोलाउनु निकै स्वास्थ्यकर छ । ‘अग्ला-ठुला रुखमा जति धेरै यस्ता लहराहरू भयो, उति धेरै त्यो रुखलाई ऋण लागेको छ अरे’ भन्ने कथन छ । अतः उसको ऋण चुक्ता गरिदिन तपाईँले एउटा लहरा तानेर आफ्नो कपाल बाँध्न सक्नुहुन्छ, पेटी बनाउन सक्नुहुन्छ । तर, त्यसो भन्दैमा जैविक विविधताको बीउ नै नष्ट गरिदिनु चाहिँ हुँदैन ।

तपाईँ यसो पनि त गर्न सक्नुहुन्छ, रुखदेखि खसेर भुईँमा थपक्क बसेका पहेँला पातहरूलाई छुनुस्, चुम्नुस् र केशमा सिउरिनुस् । सिमसिम झरीमा रुखलाई लपक्क अँगालो हालेर बसिरहेका हरिया लेउहरूसँग तपाईं पनि लपक्कै भइजानुस् । एक लट म्वाइँ नै खाइदिनुस्, के फरक पर्छ र ? लेउलाई म्वाइँ खाएकै भरमा तपाईँको प्रेमसम्बन्धमा लेउ लाग्छ भने त्यो ‘झ्याउसम्बन्ध’ हो, ब्रेकअप लिए हुन्छ । यसपश्चात्, ‘अकला हु मे इस दुनियाँमा, कोही साथी है तो मेरा साया’ मनमनै गाउँदै आफूलाई मोहम्मद रफी घोषित गरिदिनुस् ।

न तो परवाना
और न दीवाना
मैं किसी महफिल का

सूनी सूनी राहें
थामती है बाहे
गम किसे मंज़िल का…।

***

शिवपुरीकै काखबाट वागमती, विष्णुमती, नागमती, श्यालमती, रुद्रमती र इच्छुमती नदि जन्मिएका हुन् । तल शहरतिर पुगेपछि तिनलाई हाम्ले बिटुलो पार्दियौँ, मास्तिर त यी नदीहरू कन्चन छन्, पवित्र छन् । भलै यो बाटोमा ती नदिहरूसँग तपाईँको जम्काभेट हुँदैन, तर यी नदीको नाम याद गरिराख्नुस् न, के फरक पर्छ र ? तपाईँलाई थाहै होला, विविध नदीको मुहान शिवपुरी रक्षार्थ २०३२ सालमा शिवपुरी जलाधार संरक्षण क्षेत्र कायम गरियो । कालान्तरमा वन पुनर्स्थापना भएलगत्तै यस क्षेत्रलाई शिवपुरी जलाधार क्षेत्र मात्र नभई वन्यजन्तु आरक्ष पनि घोषणा गरियो । संरक्षणको सफलताले बाटो लिएपछि नागार्जुन क्षेत्र पनि समेटेर २०५९ सालदेखि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका रूपमा स्थापित छ । (तीर्थ श्रेष्ठ)

हामी जङ्गलभित्र छिरेको १०-१५ मिनेट भइसकेको छ । यतिका बेरसम्म तपाईँले एक दुई मोटरसाइकल र एउटा गाडी भेट्नुभएको हुनुपर्छ । त्यो किन भन्दा यो जङ्गलको फेदीमा एउटा बस्ती छ, कार्की गाउँको नामको । त्यहाँ त्यस्तै ४०-५० घर छन् । त्यहाँका मान्छेहरू यहिँ बाटो ओहरदोहोर गर्छन् । विशाल सहर नजिकैको एक शान्त, सुन्दर र मनोहारी गाउँमा तपाईं जाँदै हुनुहुन्छ । रसिला नास्पातीलाई नुनमा चोपेर लोकल रक्सी घट्काउने सौभाग्य तपाईँलाई प्राप्त हुनेछ । अतः त्यस गाउँको परिकल्पनामा मन्त्रमुग्ध हुँदै आफ्नो खुट्टाका जुत्ता/चप्पल निकाल्नुस् ।

चिस्यानले भिजेका, ठाउँ ठाउँमा आहाल जमेका बाटोहरूलाई आफ्नो नाङ्गो पैतालाले कुल्चनुस् । के थाहा, यही मौकामा तपाईँलाई एक दुई जुकाले अझ चुस्न पाउँछन् कि ? जुकासँग डराउनुहुन्छ होला भनेर ‘नुन बोकेर’ ल्याएका छौँ । आफ्नो पैताला वरपर छर्नुस् । तर, तपाईं यति चाहिँ ढुक्क हुनुहोस् कि यो यात्रामा तपाईँलाई जुकाले १०-१५ ठाउँमा टोक्छ, टोक्छ ।

मात्र नभएर माथि रुख र बुट्यानबाट समेत जुका हाम्फ्यालने गर्दछन्, तर यहाँ सडकमा मात्रै जुका भेटिनेछ । तपाईँको गाला या आँखातिर जुका हामफ्याल्ने छैनन् । जुकाले शरीरमा भएको खराब रगतलाई चुस्ने अनि छाला वा मांसपेशीमा लागेको रोग वा दुखाई निको हुने विश्वास स्थानीयरुपमा रहेको छ भनेर भनौँ भने ‘तैट’ गर्नुहोला तर, यो वास्तविकता हो ।

हजुरआमा भन्नुहुन्छ, ‘जुकालाई काट्यो भने झन् धेरै भाइ भयौँ भनेर खुसी हुन्छन् । जुकालाई आगोमा हालेर पोल्नुपर्छ नत्र भए नुन छर्कनु पर्छ । जुका त्यसै मर्दैनन् ।” उहाँको कुरालाई अलि सविस्तारमा बुझ्न खोज्दा मैले यो कुरा चाहिँ भेटेँ, “जुकाको शरीरमा दुवै भाले र पोथी प्रजनन अङ्गहरू हुन्छन् । पोथी प्रजनन अङ्गले थुप्रो अण्डाहरू पैदा गरेको हुन्छ र भाले प्रजनन अङ्गले शरीर भित्र नै तिनलाई गर्भाधान गराएको हुन्छ । यसरी भ्रूणसहित विकसित भइरहेका अण्डाहरूलाई घामले त्यतिको असर गर्न सक्दैन । जुका सुकेर मरेको अवस्थामा पनि ती अण्डाभित्रको भ्रूणहरू जीवितै हुन्छन् र पानीको सम्पर्कमा आएपछि पूर्ण विकसित भएर जुकामा परिणत हुन्छ ।” काटेर फ्याकेमा पछि ओस भेट्टाएमा जुका पुनर्जीवित हुन्छ भन्नु हजुरआमाको आशय हुँदो हो ।

‘काल आए जुकोले टोक्दा पनि मानिस मर्दो’ भन्ने उखानले चाहिँ कहिलेकसो जुकाले टोकेर पनि मान्छे मरेका रहेछन् भन्ने कुरालाई सङ्केत चाहिँ गर्छ । तर, यसो भनेर तपाईँ मर्नुहुन्छ भनेको होइन । आइपरेका सम्भावनाहरूलाई केलाइहेरेको मात्रै ! तीतेपाती र टिमुर चाहिँ यताका जुकाले पचाइसकेका छन् । अतः त्यो आइडिया तपाईँलाई नै मुबारक ।

सानो जुकाले टोक्दा चाहिँ दुख्छ तर अक्सर ठूलो जुकाको टोकाई थाहा हुँदैन, यसैले थाहा नहुने कुरामा धेरै अल्झिनु पनि हुन्न । टोक्यो कि, टोकी नै हाल्ला कि भनेर आफ्नो सम्पूर्ण ध्यान जुकामै केन्द्रित गर्ने हो भने २ घण्टाको बाटो ४ घण्टाको हुनेछ र जुकाले टोक्ने अनुपातमा दोब्बर वृद्धि हुनेछ । यस्ता मानिसहरू पनि छन्, जो गाईबस्तु, याक-चौँरीको नाकबाट निकालेको वा ढाडिएर आफै खसेको जुकालाई फ्राई गरेर वा आगोमा पोलेर खान्छन्, तिनलाई तपाईँसँग भेट नगराइदिई भएन । यसपश्चात् तपाईँले भन्नुहुनेछ, “अतः जुका इज नट अ बिग डिल महासय ।”

जुकाले टोक्दा थाहा हुँदैन । थाहा नहुनुको पनि कारण छ । र कारण यसप्रकार छ, जहाँनेर टोकेर रगत चुस्नुपर्ने हो, त्यहीनेर जुकाले छाला लट्ठ्याउने रसायन छोड्छ । छाला लाटो बनाएर अप्रेसन गर्ने डाक्टरहरूलाई माथ दिने जुकालाई नमन गरेर हामी अघि बढौँ ।

***

श्री बर्द्र बहादुर गणका आर्मीहरूले हामीलाई सोधखोज गर्नेछन् । परिचयपत्र देखाएर हामी त्यहाँदेखि फुत्कनेछौँ । शान्त जङ्गली क्षेत्रमा बन्दुक भिरेर बसिरहेका आर्मीहरू देख्दा चाहिँ मानसिक अशान्ति पनि छाउनेछ तर, बन्दुक भिर्नु उनीहरूको नित्यकर्म हो । विगतमा नाङ्गो भइसकेका पाखाहरू अहिले हरिया, भरिला र रसिला छन् । यसो हुनुमा यि-यस्ता सेनाका गणहरूको भूमिका छ । अत: हामी उनीहरूलाई सुकिलो मुस्कान चिप्लाएर अगाडि बढ्नेछौँ ।

हामी मुड्खु मुन्याडको जङ्गली क्षेत्रमा छौँ । मुड्खु क्षेत्र १ घण्टा पर नै छुटिसकेको छ ।  स्वानागाउँ (धुनिवेशी-१, धादिङ) नजिकै छ, त्यहाँ पुगेर हामीले बिहानको नास्ता गर्नेछौँ । स्वानागाउँ रेस्टुरेन्ट एन्ड खाना नास्ता घरमा लोकल कुखुरासँग मकैको ढिँडो खान सक्नेछौँ ।

घाँटी खुइलिएका लोकल कुखुराहरू यत्रतत्र चरिरहेका देख्न सक्छौँ । तिनीहरूलाई लखेटालखेट गर्दै एउटा च्याप्प समाएर ‘यसैसँग ढिँडो खान्छु’ भन्नुभयो पनि साहुजीले नाइँ भन्ने छैनन् । लोकल कुखुराको मासु भनेर गिरिराज र लेस कुखुराको मासु झुक्क्याएर खुवाउने शहरतिरका साहुहरूलाई यतिबेला तपाईँलाई एक दुई गाली फलाक्न पनि सक्नुहुनेछ । ‘मासु स्वास्थ्यमैत्री खानेकुरा होइन’ भन्ने ग्याङमा पर्नुहुन्छ तपाईँको लागि शाकाहारी खाना पनि यहाँ उपलब्ध भई नै हाल्छ ।

अलि अगाडि बाटोछेवैमा शिवधाम जस्तो देखिनेछ । त्यहाँ बडो भद्र-भलाद्मी पारामा कान्लामा अडेस लगाएर बसेका शिवसँग तपाई आफ्नो गच्छेअनुसारको श्रद्धा अर्पण गर्न सक्नुहुनेछ । ‘म भौतिकवादी हुँ’ भन्नुहुन्छ भने तपाईँले शिव मूर्तिलाई कलाकृति मानेर त्यसको रूपरेखा मनमा सेभ गरेर राख्न सक्नुहुनेछ ।

***

खाना खानेबित्तिकै फटाफट हिँड्नु निको होइन भनेर हामी नजिकै बसेर सामुन्नेको गैरी गाउँलाई हेर्नेछौँ । गोलोडोलो आकारमा पुक्क उठेको त्यस दृश्यले तपाईँलाई एकपटक हायलकायल पारिदिनेछ । घोगा हाल्दै गरेका, सुप्ला चेप्दै गरेका मकैको जङ्गल तपाईँको सामुन्ने छ । तपाईं रिस्क मोल्न चाहनुहुन्छ भने मकैबारीमा पसेर एक दुई घोगा मकै चोर्न सक्नुहुनेछ र दुधे मकैको स्वाद लिँदै ग्राम्य सभ्यतालाई नियाल्न सक्नुहुनेछ ।

दृश्यहरूमा डोको थुन्से बोकेर घाँस काट्न हिँडिरहेका महिलाहरू, स्कुलतर्फ रवाना हुँदै गरेका बालबालिकाहरू, बार्दलीबाट कुटो-कोदालो झिकेर खेततर्फ जाँदै गरेका वयस्कहरू, लोकल रक्सी पारिरहेका आमाहरूलाई देख्न/भेट्न सक्नुहुनेछ ।

एक मानाको ६० रुपियाँ लिने तर आफूसँग राख्दिने भाँडो नभएको बताउने उहाँहरूलाई आफ्नो मिनिरल बोतल दिन सक्नुहुनेछ । यसपश्चात् घरबुना रक्सीलाई नष्ट गर्न मरिमेट्दै विदेशी ब्रान्डेड रक्सीसँग व्यापारिक सम्झौता गाँसेका सरकारी मतियारहरूलाई गाली फलाक्न सक्नुहुनेछ । सांस्कृतिक एवं सामाजिक गर्भाशयलाई नबुझ्ने ऐन-कानूनहरू अल्पआयूका हुनेछन्, तिनले भलो गर्नेछैनन् ।

कसैलाई गाली गर्नु वा आफैले गाली खानु राम्रो कुरा होइन । मन हो चुट्छ, दुख्छ । तर शोधकर्ताहरू भने गाली गर्नु मानिसको स्वास्थ्यका लागि लाभदायक भएको बताउँछन् ।  गाली गर्नाले कुनै पनि मानिसलाई भविष्यमा आउने समस्या तथा कठिनाइहरू झेल्ने र त्यसविरुद्ध मानसिक रूपमा तयार हुने हिम्मत र शक्ति प्राप्त हुने उनीहरूको भनाइ छ । यसकारण बेलामौकामा गाली फलाक्नु गतिलै कुरा हो । शोधकर्ताहरूका अनुसार यसरी मानिसले कसैलाई गाली गर्दा वा जोडसँग चिच्याएर अपशब्द बोल्दा उसको शरीरमा एड्रिनलाइन नामक हर्मोन निस्किन्छ । यसले मानिसको पीडा सहने क्षमतामा वृद्धि गर्दछ ।

त, हामीले ‘सामाजिक अहितकारी तत्त्व’ भनी निषेधीकरण लगाइएको घरबुना रक्सीलाई पेटमा हुलिसकेका छौँ र विभिन्न मदिरा ऐन तथा नियमावलीहरू ल्याएर घरेलु मदिरा नियन्त्रणमा कडाइ गरिरहेका प्रशासनलाई गाली फलाकिसकेका छौँ भने हामी यहाँ बसिरहनूको के औचित्य ?

***

कच्ची रोडलाई परित्याग गरेर हामी गोरेटो बाटो समाउनेछौँ । गाउँलेहरूसँग ‘कार्की गाउँ जाने’ बाटो सोध्दै-खोज्दै कान्ला-खोँच ओर्लनेछौँ । यसो गर्दा हामी गाउँलेहरूले दिएका नास्पाती चपाइरहेका हुनेछौँ । घरबुना रक्सी घुट्क्याइरहेका हुनेछौँ ।

सामुन्ने खोला भेटिनेछ । होइन, खोलामा हामी भेटिनेछौँ । होइन, खोलामा पौडिरहेका भेटिनेछौँ । होइन, खोलामा नाङ्गिइरहेका भेटिनेछौँ । ..छौँ । पहाडी मूल रसाएर बगेका यी कन्चन खोलाहरूमा घण्टौँ बस्न सक्छौँ । यी खोलामा पौडिएर शारीरिक व्यायाम नै त भइहाल्दैन तर, मानिसक स्फूर्ति र ताजगीले भने हामी निथ्रुक्कै हुनेछौँ । तीन भूभाग पानीले छोपेको यस दुनियाँका हामीले जीवनमा ठुलो जलराशीको सामना गर्नु अनिवार्य छ, यसर्थ यि-यस्ता खोलाखोल्सीसँग दोस्ती राखेकै जाति । तर, हिउँ झरेजस्तो चिसो पानीमा धेरैबेर नबसेकै जाति । अतः उकालो बाटो समाउँदै कार्की गाउँ पुगेकै जाति ।

***

कार्की गाउँ विशुद्ध एक ग्राम्य परिवेश हो । यहाँ आइपुगेपश्चात् ग्राम्य आतिथ्ययतामा लुटपुटिनु र काठमाडौंको ढड्नेसो मुनि लुकिबसेको गाउँलाई अँगाल्नु नै हाम्रो यात्राको मूल कर्म हुनेछ । यात्राको कुनै गन्तव्य रहनुपर्छ भनेर मात्रै हामी यहाँसम्म आइपुगेका हौँ ।

कार्की गाउँमा एक दिन बिसाएर भोलिपल्ट काठमाडौं फर्किनु उपयुक्त हुन्छ । त्यसो गर्दा तपाईँ-हामीले आफ्नो थकान मेटाउन पाउनेछौँ । वन कुरो निकाल्दै जुकाले टोकेर गएको आफ्नो पिँडुला, पैताला क्षेत्रलाई कन्याएर थप आनन्द लिन सक्नेछौँ ।

कार्की गाउँका मानिसहरू कामधन्धाको लागि मोटरसाइकल या हिँडेर काठमाडौं आउजाउ गर्ने गर्दछन् । नजिकै स्वास्थ्य चौकी या सुविधायुक्त होटेलहरू छैनन् । चेपाङ समुदायका बालबालिकाहरू यहाँ न्यून मूल्यमा स्थानीयहरूलाई घरायसी काममा सघाइरहेका देख्न सक्छौँ । गाउँभन्नासाथ याद आइजाने पुराना घरहरू (भुइँचालोले ढालेका), छुवाछुत, सन्तानले छाडेका बुढा बा-आमाहरू यहाँ पनि दृष्टिगोचर हुनेछन् तर, त्यसअलावा असारे-साउने रोपाईंको मारामार, एकहोरो-दोहोरो मकै गोड्ने सिजन, पूजापाठसहित दैनिकी गुजारा गरिरहेका दृश्यहरू पनि देखिनेछन् । ‘सुख भन्नासाथ् शहर या खेतीकिसानी छाड्नु भनेर बुझ्ने हो भने त कार्की गाउँमा दु:खै छ तर, यहाँ डिप्रेसन, एन्जाइटी र भुँडी ठुलो हुने समस्या छैनन् । यसकारण गाउँमा सुख छ ।’

पानी पर्दा गाउँमा बत्ति जान्छ, इन्टरनेटको पहुँच छैन तर गाउँसँग ‘आफू हुनुको बोध छ । ‘ कार्की गाउँले पनि आफू हुनुको बोध गरिरहको छ तर, यस गाउँलाई नबिथोलिकन आन्तरिक पर्यटनलाई बढुवा भने दिन सकिन्छ ।  धुनिवेशी नगरपालिकाको पनि यस क्षेत्रमा खासै आँखा पुगेको पाइँदैन । काठमाडौं नजिकका अनेकन् स्थानहरूले काठमाडौंवासीलाई लोभ्याइरहँदा यस क्षेत्र भने हुस्सुभित्र लुकेर बसेको छ ।

त, यसपटकको हाइकिङ रुट ‘कार्की गाउँ’तर्फ सोझ्याउने होइन त?

फोटो : राजु झल्लु प्रसाद

सम्बन्धित समाचार