मंगलबार , जेठ १६, २०८०

हामी गरिब होइनौँ, मूर्ख हौँ, अज्ञानी हौँ: कर्ण शाक्य

यदि यो देशबाट पर्यटन खत्तम भयो भने पर्यटन भन्ने शब्द संसारबाट खत्तम हुन्छ ।

image

नेपालको पर्यटन क्षेत्रको एक धरोहर, पर्यटन व्यवसायी लेखक एवम् सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले एनटिपी मल्टिमिडिया ग्रुपद्वारा वसन्तपुरमा आयोजित नेपाल पर्यटन महोत्सवमा व्यक्त गरेको ‘पर्यटन प्रवचन’को सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । शाक्यले नेपालको पर्यटन, यसको इतिहास, सम्भावना र चुनौतीहरूबारे महत्त्वपूर्ण विचारहरू व्यक्त गरेका छन् ।

कर्ण शाक्य 

…हामीले नेपालको पर्यटन बुझ्न सबैभन्दा पहिला देशलाई बुझ्न जरुरी छ । अरू देशका लागि स्वर्ग भनेको मिथ हो । परिकल्पना हो । तर, हाम्रो लागि सत्य हो । किनकि स्वर्ग हाम्रो देशमा छ । हाम्रो देश स्वर्ग हो । हेभन इज् मिथ फर अदर कन्ट्री, बट इट इज् रियल फर अस । विकज् हेभन इज हियर इन् नेपाल । नेपाल इज् हेभन ।

भगवानले यो देश निर्माण गर्ने बेलामा, मलाई के लाग्छ भने ब्रह्माजीले यो देश निर्माण गर्ने बेलामा एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नको निमित्त सिर्जना गरेको छ । यदि यो देशबाट पर्यटन खत्तम भयो भने पर्यटन भन्ने शब्द संसारबाट खत्तम हुन्छ । त्यसैले यो देश पर्यटनको निमित्त सिर्जना भएको देश हो ।

हामी सधैँ आफूलाई गरिब भन्छौँ के, आफूलाई सधैँ सानो भन्छौँ । तर, म भन्छु, हामी गरिब होइनौँ, हामी मूर्ख हौँ । अज्ञानी हौँ । माल पाएर चाल नपाएको मूर्ख र माल पाएर चाल नपाएको अज्ञानी । यदि हामी आफूलाई सधैँ गरिब हौँ भन्ने सोच्ने हो भने हामी सधैँ गरिब नै रहनेछौँ । भगवान नै रिसाउने छ । किनकि यो देश भगवाले चपरी फोरेर बनाएको स्वर्ग हो । यो स्वर्गलाई हामीले नर्क बनाएका हौँ । स्वर्ग दिँदा पनि हामी गरिब छौँ, सानो छौँ भन्ने अप्रिसियट गर्न नजान्ने हामी नेपालीसँग भगवान पनि रिसाउनुहुनेछ । त्यसैले सबभन्दा पहिले यो देशको बारेमा हामीले बुझ्नुपर्ने छ ।

हामी नेपालीको सबैभन्दा ठुलो कमजोरी के हो भने हामी अरूलाई जान्ने कोसिस गर्छाैँ । हामीलाई मूल्याङ्कन गर्ने कोसिस गर्छौँ । अरूलाई तराजुमा तौलने कोसिस गर्छौँ । तर, आफूले आफूलाई हेर्दैनौँ । हामी आफूले आफूलाई ऐनामा हेर्दै हेर्दैनौँ । यो ठुलो, यो सानो, यो यहाँ छ, त्यहाँ छ । हामी कोहो र कहाँ छौँ भन्ने हेर्दै हेर्दैनौँ । त्यसैले सबभन्दा आफूलाई बुझ्नुपर्छ । आफूले आफूलाई थाहा पाउनुपर्छ । अनि मात्रै हामी आफूभित्र एउटा कन्फिडेन्ट बिल्डअप हुन्छ ।

संसारमा दुई सय भन्दा बढी देशहरू छन् । तर, तीमध्ये धेरैलाई २० वटा देशको नाम पनि थाहा छैन । नेपालको नाम संसारका धेरै मानिसलाई थाहा छ । नेपाल जहिले पनि संसारको जीवनमा एक पटक घुम्नै पर्ने घुम्नै पर्ने देशको सूचिमा पर्दछ । कहिले नम्बर एकमा पर्छ त कहिले दशमा । तर, संसारका १० गन्तव्यहरूको सूचिमा नेपाल अनिवार्य पर्छ । अरू दुई सय वटा देश कहाँ छन् हामीलाई थाहा छैन । कसैलाई थाहा हुँदैन ।

नेपालको पर्यटन भनेको नेपालको रक्तसञ्चार हो । जुन दिन पर्यटन धराशायी हुन्छ । रक्तसञ्चार बन्द हुन्छ । हाम्रो पर्यटन उद्योगको कुरा गर्नुपर्दा तीन वटा चिजहरूको महत्त्व छ ।

सबैभन्दा पहिलो प्रकृति हो । प्राकृतिक दृष्टिकोणले यति धनि हामी बाहेक संसारमा सायद कुनै दोस्रो देश छैन । यस्तो विशिष्ट छौँ हामी । भूगोलको हिसाबले विश्व मानचित्रमा नेपाल सियो जतिकै सानो छ । तर, यति सानो क्षेत्रमा अनौठो प्राकृतिक सम्पदा लुकेर बसेको छ । सर्वोच्च हिमालदेखि गहिरो खोँच, उपत्यका, बाघ, भालु, चितुवा, गैँडा, वनस्पति । प्राकृतिक रूपले हामी यति धनाढ्य छौँ कि संसारमा अरू कुनै देश छैन यस्तो । उचाइको आधारमा हुने पारिस्थितिक प्रणाली र हावापानी जसले गर्दा जैविक विविधता छ । हाम्रो देशमा संसारको जुनसुकै कुनामा फल्ने फलफूल, तरकारी अन्न फल्छ । हामीलाई यहाँ लुकेर बसेको १२ प्रतिशत मात्रै जैविक विविधता थाहा छ । ८८ प्रतिशत हामीलाई थाहा नै छैन । ती जीव तथा वनस्पति अँध्यारो कुनामा लुकेर हिराको रूपमा बसेको छ । धरातलीय उचाइले हावापानीमा विविधता ल्याउँछ । हावापानीको विविधताले जीव तथा वनस्पतिमा विविधता ल्याउँछ । यस्तो देश यो पृथ्वीमा अरू छैन ।

हाम्रो देशको प्राकृतिक सम्पदा अरूसँग तुलना गर्नै मिल्दैन । अतुलनीय छ । हिमाल, पहाड, तराइ, झरना, खोला, ताल तलैया छ । तर तालै ताल भएको देशमा हामीलाई दुई वटा तालको नाम थाहा छैन । झरनै भरना भएको देशमा हामीलाई दुई वटा झरनाको नाम थाहा छैन । गुफै गुफा भएको देशमा हामीलाई दुई वटा गुफाको नाम थाहा छैन । हामी यति अनविज्ञ छौँ । यहाँको प्राकृतिक सम्पदाको अध्ययन तथा खोज गर्नका लागि संसारका कुना कुनाबाट मानिसहरू आउँछन् ।

दोस्रो कुरा भनेको संस्कृति हो । हेरिटेज एण्ड कल्चर । अहिले हामी जहाँ छौँ । यो विश्व सम्पदा स्थल हो । यस्तो विश्व सम्पदा स्थल काठमाडौं उपत्यकामा मात्रै सात वटा छ । अरू देशमा एउटा विश्व सम्पदा स्थलबाट अर्को विश्व सम्पदा स्थलमा पुग्न २४ घण्टा रेल वा गाडीमा चढेर जानुपर्दछ । हामी बिहान चिया खाएर साइकल चढेर वा हिँडेर सात वटा विश्व सम्पदा स्थल घुम्न सक्छौँ । हामीलाई हाम्रो पुर्खाले यति सम्पन्न बनाए, तर हामीले तीनलाई संरक्षण सम्म पनि गर्न सकेनौँ । नयाँ बनाउन त कुरै छोडौँ । यस्तो महत्त्व, मूल्य मान्यता हामीले बुझ्न सकेनौँ । पर्यटकहरू यहाँ कुनै बिल्डिङ हेर्न आएका होइनन्, रेष्टुरेन्टमा खाना आएका होइनन्, क्यासिनो खेल्न आएका होइनन् । उनीहरू यहाँका झ्याल, ढोका हेर्न आएका हुन् । असनदेखि इन्द्रचोकसम्म हेर्नुस् न, बुट्टे झ्यालहरू ४५ डिग्रीमा ढल्केर बसिरहेको छ । तर, कहिल्यै ढल्दैन । कहिल्यै झर्दैन । सयाैँ वर्षदेखि त्यसरी नै बसिरहेको छ । एउटा पनि फलामको किल्ला ठोकिएको छैन । काठको चुकुलले अड्याइरहेको छ ।

त्यस्ता झरझराउँदो झ्याल । बाह्र सय वर्षअघि पाटनको अरनिको भन्ने कलाकार चिन गएर जेन्गिस खानको दरबार बनाए । तिब्बत गए । आज अरनिकोले सिर्जना गरेका प्योगोडा शैली आज संसारमा फैलिएको छ । अरनिकोले बाह्र सय वर्ष पहिले त्यस्तो गरे । त्यसका सन्तान हौँ हामी । तर, हामी कस्तो भयौँ भने परजीवी भयौँ । प्यारासाइट बनिसक्यौँ । टुँडिखेलमा एउटा चर्पी बनाउनुपर्‍यो भने हामीले जर्मनसँग सहयोग माग्छौँ । हजारौँ वर्षको इतिहास बोकेको हामी आज एउटा चर्पी बनाउन पनि विदेशीको अनुदान लिनुपर्ने भइसक्यौँ । यस्तो विडम्बना छ । हामीले नयाँ संरचना बनाउन आवश्यक छैन । पुर्खाहरूले बनाइराखेका सम्पदाहरूको संरक्षण मात्रै गर्न सक्यौँ भने पनि पर्यटनको विकास गर्न सक्छौँ ।

अर्को थर्ड आस्पेक्ट भनेको हस्पिटालिटी हो । पर्यटन भनेको हस्पिटालिटी इन्डस्ट्री हो । यो क्षेत्रमा हाम्रो हाँसो पनि बिक्छ । हामी मनदेखि हाँस्ने हुनाले हाम्रो हाँसोले पर्यटकलाई मोहित बनाउँछ । हाम्रो मुस्कान देखेपछि दङ्ग पर्छ । पर्यटकहरू पहिला हिमाल हेर्न आउँछन् । पछि बारम्बार फर्कि फर्कि आउँछन् । त्यो किन भन्दाखेरि ह्युमन फ्याक्टरले हो । हाम्रो हाँसो, मुस्कान, सद्भाव । हाम्रो छिमेकी राष्ट्रहरूभन्दा मज्जाले हाँस्छौँ हामी । एउटा छिमेकी राष्ट्र त कहिल्यै हाँस्न जानेन । त्यो मेसिन होकि के हो छुटाउनै सकिँदैन । त्यसलाई साथी कहिल्यै बनाउन सक्दैन । अर्को छिमेकी छ साथी बनायो पछाडिबाट छुराले गोपिदिन्छ । तर हामी लाटो, हामी नेपाली, हामी मनकारी, हामी संस्कारी, हामी धर्ममा आस्था राख्छौँ । हामी नेपाली माग्ने मान्छेहरू पनि हाँसेर माग्छन् । ए हजुुर, दुई पैसा पाउन हजुर चियाँ खौँ भन्दै हाँसी हाँसी माग्छन् । संसारमा हाँसेर माग्ने कोही मान्छे छ ? त्यसले यो हाम्रो हाँसो मुस्कान भनेको ह्युमन फ्याक्टर हो । द्याट इज नो अदर कन्ट्री ह्याभ । हामीले यी तीन फ्याक्टरहरूलाई मात्रै बुझ्ने हो भने पनि नेपालको पर्यटन फस्टाउँदै जाने छ । हाम्रो प्रतिष्ठा संसारमा पुग्ने छ ।

हाम्रो देशको सत्तरी असी लाख युवाहरू अहिले विदेशमा छन् । आफ्नो देश नचिनेर गएका हुन् । सुनखानीमा बसेर ढुङ्गा खोज्न गएको जस्तो । सुनखानी हो हाम्रो देश । आफ्नो देशमा के छ, आफू को हो भन्ने थाहा नपाउँदा नोकर बन्न गएका छन् । अर्काको नोकर बनेर सम्पन्न कहिल्यै हुन सक्दैन । आफ्नै देशमा मालिक बन्ने हो । मालिक बन्न जम्मा तीन वटा चिजको आवश्यकता पर्दछ । पहिलो आमाको काख, दोस्रो साथीको साथ र तेस्रो संस्कृतिको छहारी । यी तीन चिज नभई मानिस मालिक बन्न सक्दैनन् । विदेश गएर मिठो मिठो खाना पाउँदैमा, राम्रो लाउन पाउँदैमा हुँदैन । खाना त पशुले पनि खाइरहेकै छन् । हामी पशु होइनौँ के । हामी मानिस हौँ । विदेश गएर मिठो खाने, सेकेन्ड ह्यान्ड गाडी चढ्ने अनि समुन्द्र किनारमा गएर बियर पिउन पाउँदैमा त्यसलाई सम्पन्न ठान्नु हुँदैन । त्यसले अन्तिममा गरिब नै बनाउँछ । आफू र आफ्नो देश कहिल्यै चिन्न सक्दैन ।

गुनासो गरेर मात्रै देश बन्दैन । यो देश न नेताले बिगारेको हो, न राजाले बिगारेको हो । यो देश बिगार्ने तपाईँ हामी नै हौँ । हामीले नै बिगारेका हौँ । हामीलाई अरूले गर्नुपर्ने कुरा सब थाहा छ, आफूले गर्नुपर्ने कुरा केही पनि थाहा छैन । अनि कसरी बन्छ देश ? राजाको समयमा रैती भयो । प्रजातन्त्र आएपछि जनता भयो । तर हामी आजसम्म पनि नागरिक बन्न सकेका छैनौँ । नागरिक बन्न चेतना चाहिन्छ । कर्तव्यको बोध हुन जरुरी छ । आफूलाई बुझ्न जरुरी छ । आफूलाई नै बुझ्न नसक्नेले अरूलाई बुझ्न सक्दैन ।

हेर्नुहोस् भिडियो :

भिडियो

सम्बन्धित समाचार