शुक्रबार , मंग्सिर २३, २०७९

डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा कथाकार नवीन अभिलाषी प्रथम

image

काठमाडौं । बाह्रखरी मिडियाद्वारा आयोजित चौथो संस्करणको ‘डिशहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा नवीन अभिलाषी प्रथम भएका छन् । उनको ‘दमाहा’ शीर्षकको कथा प्रथम भए सँगै उनले  प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी रमेशजङ्ग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ । थापाले ट्रफीसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै, कथाकार रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ । न्यौपानेले ट्रफीसहित ४० हजार नगद प्राप्त गरेकी छन् ।

डिशहोम १२खरी कथा लेखनको चौथो प्रतिस्पर्धामा नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, भारत, कतार, यूएई, मलेसियालगायत मुलुकबाट ५९६ कथा प्राप्त भएका थिए । तीमध्येबाट उत्कृष्ट २५ कथा छानिएका छन् । साथै, २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७९’ पनि लोकापर्ण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायत व्यक्तिले उत्कृष्ट २५ कथाकारहरूलाई प्रमाणपत्रसहित प्रथम, द्वितीय र तृतीय हुन सफल विजेताहरूलाई ट्रफी, नगद, प्रमाणपत्र प्रदान गरेका छन् ।

१२खरी कथा लेखन प्रतियोगिता–२०७९ मा अजित रुपाबुङको ‘अब रुन्नँ कहिल्यै’, काशीलाल अधिकारीको ‘धमेलो’, डा. गोमा अधिकारीको ‘बालन’, चन्दन अर्यालको ‘नियति’, चेतनाथ आचार्यको ‘राजकुमारी दिक्पाल’, जनक कार्कीको ‘विरुपाक्ष’, जीवन खत्रीको ‘लेख्न नचाहेको कथा’, दीपेन्द्र दोङ तामाङको ‘देवता बनाउने मान्छे’, दुर्गा ढेँगाको ‘भोक’, द्वैपायन रेग्मीको ‘म अश्वत्थामा’, डा. नवीनबन्धु पहाडीको ‘निर्धो समय’, नवीन अभिलाषीको ‘दमाहा’ उत्कृष्ट २५ कथाभित्र परेको छ ।

यस्तै, पूजा आराधनाको ‘बयान’, प्रतीक्षा घिमिरेको ‘ढक–ढक’, प्रोल्लास सिन्धुलीयको ‘मच्छिनी–दंशन’, महेन्द्र महकको ‘क्षतिपूर्ति’, मोहित जोशीको ‘हेबियस कोप्र्स’, रमा अधिकारी कादम्बरीको ‘पुरुष वेश्या’, रमेशजंग थापाको ‘डढेको आकाश’, राधिका कल्पितको ‘मालती मिस’, रुमु न्यौपानेको ‘घूँघट’, डा. विनोद ढकालको ‘व्यार’, वीरसिंह विश्वकर्माको ‘काँठीबच्छी’, सेसे फुङको ‘नागरिकता’ र सिर्जु शाहको ‘कचेरा’ उत्कृष्ट २५ कथाभित्र पर्न सफल भएको छ ।

सम्बन्धित समाचार