बिहिबार , चैत्र २९, २०८०

दश दिनपछि उठ्यो उपत्यकाको फोहोर

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ ।

image

काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहोर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ । राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहोरको गाडी सिसडोल जान पाउने छ ।

हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

दश दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ । अठार स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माण गरिएको छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

Tags:

सम्बन्धित समाचार