शनिबार , मंग्सिर २३, २०८०

भानु नगरपालिकाले खादाको प्रयोगमा गर्‍यो निषेध, खर्चिलो भएको बहाना!

image

काठमाडौं । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्ण रूपमा रोक लगाइएको छ ।

खादा बौद्ध धर्मावलम्बीहरुले हरेक जन्मदेखि मृत्यु लगाएका संस्कारमा उपयोग गर्ने पवित्र वस्त्र हो । खादा बौद्ध धर्मावलम्बीको जन्म, व्रतबन्ध, विवाह, मृत्यु लगायत हरेक पूजाआजा, भेटघाटमा स्वागत, बिदाइ गर्दा नभई नहुने वस्त्र हो ।

भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णय अनुरूप रोक लगाइएको हो ।

विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मान लगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।

खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उनले बताए ।

अबदेखि कुनै पनि कार्यक्रममा खादा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको उनले बताए ।

भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ ।

सामुदायिक शैक्षिक संस्थामा आयोजना गरिने वार्षिकोत्सव, सभा, बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्ण रूपमा बन्देज लगाइएको उनले बताए ।

के हाे खादा ?

खादा बौद्ध धर्मावलम्बीहरूले हरेक जन्मदेखि मृत्यु लगाएका संस्कारमा उपयोग गर्ने पवित्र वस्त्र हो । खादा बौद्ध धर्मावलम्बीको जन्म, व्रतबन्ध, विवाह, मृत्यु लगायत हरेक पूजाआजा, भेटघाटमा स्वागत, बिदाइ गर्दा नभई नहुने वस्त्र हो ।

पछिल्लो समय खादा बौद्ध समुदायमा मात्र सीमित छैन । आजभोलि हिन्दु, क्रिश्चियन र मुसलमानले समेत खादाको प्रयोग गरेको देखिन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाइन्छ ।

हिमाली क्षेत्रमा फूल नपाइने हुँदा फूलको रूपमा खादाको प्रयोग गर्न थालिएको अभिलेख पाइन्छ । फूल बाह्रै महिना र बाह्रै काल सबै स्थानमा नपाइने भएकाले पनि फूलको विकल्पमा खादाको प्रयोग हुन थालेकोमा सन्देह छैन ।

कुनै समय हिमाल र बौद्ध समुदायमा मात्र सीमित खादा अहिले सबै समुदायमा विस्तारित भइसकेको छ । धार्मिक तथा अन्य विविध कार्यक्रमहरूमा पनि खादाको प्रयोग गरिन थालिएको छ ।

 खादाको सुरुवात कसरी भयो ?

हिमाली क्षेत्रमा फूल नभएको र एक दिन साथीको निधन पछि आत्मालाई शान्ति मिलोस् भनी खादा चढाइएको र त्यही संस्कार विस्तारित भएर सबैतिर फैलिएको विश्वास गरिन्छ । सातौँ शताब्दीदेखि सुरु भएको यो संस्कार पञ्चरंगी खादाको रूपमा सबैतिर फैलिएको हो ।

खादाको धार्मिक अर्थ

खादा वास्तवमा पुष्पको प्रतीक हो । सामान्यतया सबै प्रकारका खादाहरूमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरू लेखिएको हुन्छन् । जस्तो सम्भोट लिपीमा “टाशी देलेक फुन्सुम छ्योक” लेखिएको हुन्छ, जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस” भन्ने हो । त्यससँगै खादामा अरू विभिन्न सम्भोट अक्षरका वाक्यांशहरू पनि उल्लेख गरिएका हुन्छन् । सम्भोट लिपीमा “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ” जसको अर्थ “दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस्” भन्ने हो । त्यस्तै “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग” जसको अर्थ “दिन र रात सबै राम्रो भई त्रिरत्नको शुभ रहोस्” भन्ने हो ।
त्यसैगरी खादामा अष्ट मंगलमको चित्र पनि छापिएको हुन्छ । जसको अर्थ निम्न प्रकारका हुन्छन् ।
१. धुक यसको अर्थ छाता अर्थात् भगवानको छाता जो ज्ञानको सागर भएको व्यक्तित्वलाई ओढाइने गर्दछ ।
२. माछा अर्थात् सुनको माछा यसको अर्थ शुभ साइतको प्रतीक हो
३. भुम्बा अर्थात् कलश यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो ।
४. कमल यसको अर्थ हृदय आनन्दित पार्ने ।
५. शंख यसको अर्थ शक्तिशाली श्रवण अर्थात् धर्मको आवाज हो ।
६. स्वस्तिक चिन्ह अर्थात् इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७. ध्वजा यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो
८. धर्मचक्र यसको अर्थ धर्म फैलाउने । भन्ने हो ।
त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्ध धर्म अनुसार निम्न हुन्छन् ।
१. निलो . आकाश
२. पहेँलो . जमिन र माटो
३. रातो . अग्नी
४. सेतो . बादल
५. हरियो . जङ्गल
माथि उल्लेखित रङ्गहरूकै प्रतीकको रूपमा बौद्ध धर्मको झन्डा बनेको हुन्छ । जसको साङ्केतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जङ्गल हुन्छ त्यसको सधैँ हामीले संरक्षण, संवर्द्धन, प्रवर्द्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतीक र साङ्केतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो । सबै जाति र जगतको भलो होस्, सुख र समृद्धि होस् भनेर खादाको आविष्कार भएको हो ।

सम्बन्धित समाचार