शुक्रबार , मंग्सिर २३, २०७९

राजनीतिमा होमिँदै कुलमान घिसिङ, ऊर्जामन्त्री बन्ने इच्छा  

'प्राधिकरणमा मेरो कार्यकाल तीन वर्ष बाँकी छ । तर, यो भन्दा अर्को तह/क्षेत्रमा मेरो आवश्यकता देखियो भने म सधैँ तयार छु,' उनले भने ।

image

आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुँदै छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरू उम्मेदवार छनौटमा व्यस्त हुन थालेका छन् । उम्मेदवारका आकाङ्क्षीहरू टिकेटको लागि दौडधुप गर्न थालेका छन् । नेतृत्व रिझाउन लागि परेका छन् । दलका नेतृत्व पनि कुन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने बहसमा देखिन्छन् । कतिपय लोकप्रिय व्यक्तिहरूलाई आफ्नो पार्टीको उम्मेदवार बनाउन दलहरू लागि परेका छन् ।

यस्तैमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसै निर्वाचनबाट राजनीतिमा होमिन लागेको विषय बहसमा आएको छ । नेपाली जनताले वर्षौँदेखि खेप्दै आएको लोडसेडिङको अन्त्य गरेर उज्यालो नेपाल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका घिसिङ नेपाली जनतामाझ लोकप्रिय छन् । उनलाई नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा उम्मेदवार बनाउन चाहेका छन् । त्यसो त उनलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पनि माओवादीले नै बनाएका थिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जा मन्त्री (हाल अर्थमन्त्री) जनार्दन शर्माले घिसिङलाई विद्युत् प्राधिकरणको निर्देशक बनाएका थिए ।

आउँदो निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले घिसिङलाई काठमाडौंको कुनै क्षेत्रबाट उठाउन चाहेका छन् ।

सोमबार माओवादी अध्यक्ष प्रचण्डले पार्टीको एक कार्यक्रममा निर्वाचन भनेको ‘सेन्टिमेन्ट’ पनि हो भन्दै काठमाडौंमा बालेन शाहले ल्याएकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताएका थिए । उनले कुलमान घिसिङलाई अघि सार्ने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको बुझ्न सकिन्छ ।

उनले काठमाडौंमा माओवादीको अवस्था चिन्ताजनक भएकाले नयाँ अनुहारलाई उम्मेदवार बनाउने पक्षमा आफू रहेको बताएका हुन् । राजनीतिमा देखिएको भन्दा अलग्गै र ‘फ्रेस’ अनुहार आउन सक्ने उनले बताएका थिए । उनले देखेको नयाँ अनुहार कुलमान नै हो ।

प्रचण्डले भनेका थिए, ‘त्यही सेन्टिमेन्ट ल्याएर, तपाईँहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो । त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन, यो गुट र त्यो गुट भन्ने पनि छैन, हामी सबैले साथ दिन सक्ने मान्छे, हो यो त ठिक छ भन्ने मान्छे उम्मेदवार भए भने काठमाडौंमा हामीले २/३ सिट जित्न सक्छौँ ।’

अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि उनको पार्टीका नेता कार्यकर्ताले पनि आगामी निर्वाचनमा घिसिङलाई उम्मेदवार बनाउन सुझाव दिएका छन् ।

घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउन माओवादी केन्द्रका काठमाडौंमा क्रियाशील नेताहरूले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका हुन् । घिसिङलाई उम्मेदवार बनाउन आफूहरूले सुझाव दिएको नेकपा माओवादी केन्द्रका नेता अनिल शर्माले भने ‘म लगायत केही साथीहरूले कुलमान जीलाई उम्मेदवार बनाउँदा राम्रो हुन्छ भनेका छौँ । अध्यक्षले यो कुरालाई सकारात्मक ढङ्गले लिनुभएको छ ।’ शर्माले भने, ‘उहाँलाई काठमाडौं १, ३ र ५ मध्ये जुन क्षेत्रबाट उम्मेदवार बनाउँदा पनि हुन्छ । त्यसका लागि हामी यहाँ क्रियाशीलहरूले उहाँलाई साथ दिन तयार छौँ ।’

केही दिन अघि इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा घिसिङले राजनीतिमा आउने औपचारिक तयार नभए पनि आवश्यक परे आउन तयार रहेको बताएका थिए ।

राजनीतिमा होमिने तयारी छ ? भन्ने प्रश्नमा घिसिङले भनेका छन्, ‘त्यस्तो तयारी नै भन्ने त गरेको छैन तर म त परिआयो भने जुनसुकै नेतृत्व लिन तयार भएकै मान्छे हो नि त ।’

उनले आफू सबै खालको नेतृत्व गर्न सक्षम रहेको बताएका थिए । उनले भने, ‘कार्यकारी निर्देशक चलाउने मान्छेले मन्त्री भएर काम गर्न नसक्ने भन्ने त हुँदै हुँदैन ।’

तपाईँलाई मन्त्री बन्ने इच्छा छ ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘इच्छा नहुने भन्ने नै हुँदैन ।’ उनको यस भनाइबाट पनि पुष्टि हुन्छ कि उनी राजनीतिमा आउन चाहिरहेका छन् ।

उनले आफू सधैँ प्राधिकरणमा नबस्ने र नीति निर्माणको तहमा गएर काम गर्न तयार रहेको बताएका छन् ।

‘प्राधिकरणमा मेरो कार्यकाल तीन वर्ष बाँकी छ तर यो भन्दा अर्को तहमा, क्षेत्रमा मेरो आवश्यकता देखियो भने म सधैँ तयार छु ।’

उनले आफू जुनसुकै क्षेत्रको नेतृत्व गर्न पनि तयार रहेका तर ऊर्जा क्षेत्रमा आफ्नो विशेष दक्षता र अनुभव रहेको बताए, ‘अन्य क्षेत्रमा पनि काम गर्न सक्छु, तर ऊर्जालाई मैले अलि बढी बुझेको छु’ उनले भने । उनको भनाइबाट उनी ऊर्जामन्त्री बन्न चाहेको बुझ्न सकिन्छ ।

हालसम्म घिसिङले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेता कार्यकर्ताहरूले उनलाई उम्मेदवार बनाउन चाहेका छन् । उनले पनि आफ्नो आवश्यकता देखिए राजनीतिमा होमिन र नेतृत्व गर्न तयार रहेको बताएका छन् । उनी आगामी निर्वाचनबाटै राजनीतिमा होमिन्छन् या होमिँदैनन्, थाहा पाउन भने प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

सम्बन्धित समाचार