बिहिबार , जेठ १८, २०८०

कुशादेवीको रातो पहरामा ‘रक क्लाइम्बिङ’

image

काठमाडौं । साहसिक खेल ‘रक क्लाइम्बिङ’ पनौती नगरपालिका-२, कुशादेवीको तोरीखोरियास्थित रातोपहरामा पनि सुरु भएको छ । काठमाडौं नजिकै रहेको काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ ९ किलोमिटर दूरीमा रहेको रक क्लाइम्बिङले नेपालको पर्यटन क्षेत्रमा नयाँ गन्तव्य थपिएको व्यवसायीले विश्वास लिएका छन् ।

व्यावसायिक रूपमा सुरु गरिएको उक्त रक क्लाइम्बिङको शुभारम्भ मङ्गलवार पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले गरेका छन् । पनौती सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा कुशादेवी क्षेत्रमा थपिएका साहसिक खेल गन्तव्यले उत्साह थपिएको उनले जनाएका छन् ।

नेपाल पर्वतारोहण प्रशिक्षक संघका प्रशिक्षक पेम्बा ओङ्छु शेर्पाका अनुसार एक पटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सकिने गरी रातो पहरामा रक क्लाइम्बिङ निर्माण गरिएको छ । साहसिक खेल रुचाउनेहरूले उक्त क्षेत्रमा पुगी रक क्लाइम्बिङ गर्न सक्नेछन् ।

रक क्लाइम्बिङका लागि जर्मनीबाट ल्याइएका एक हजार ‘बोल्ड’ किला पहराका भित्तामा गाडिएका छन् । जसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै रक क्लाइमिङ गर्न सकिने जनाइएको छ । नगरबाट विनियोजित १० लाख रुपैयाँबाट हाल रक क्लाइम्बिङ पुग्ने स्थानसम्मको पदमार्ग तथा पूर्वाधार निर्माण गरिएको पनौती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जनाएका छन् । यसमा ‘बेस वाल’ निर्माण लगायतका पूर्वाधार निर्माण गर्न बाँकी रहेको उनले जनाए ।

वडा कार्यालयले रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, डाउनहिल साइक्लिङका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी थप नयाँ गन्तव्य बिस्तारको प्रक्रिया सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी-फुल्चोकी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएपछि गत फागुनमा परीक्षण गरी उडान थालिएको हो ।

सम्बन्धित समाचार