शुक्रबार , अषोज १४, २०७९

हिमालमा लक्जरी बेसक्याम्प, तारे होटेलको पनि सुविधा

image

काठमाडौं । केही वर्ष अघिसम्म बेसक्याम्पहरूलाई अस्थायी वासस्थानका रुपमा मात्र लिँदै सामान्य तवरले बेसक्याम्प तयार गर्ने गरिन्थ्यो । पछिल्लो वर्षदेखि बेसक्याम्पलाई लक्जरी बनाउन थालिएपछि आरोहीहरूले तारे होटेलको सुविधा बेसक्याम्पमै पाउने गरेका छन् ।

त्यस्तै चार हजार आठ सय मिटरमा रहेको मनास्लु बेसक्याम्प अहिले कुनै सुविधा सम्पन्न सहरभन्दा कम देखिँदैन । बेसक्याम्प पुग्नेहरू सहर छिरेको अनुभव गर्छन् । केही वर्ष अघिसम्म आरोहीहरू चीनतर्फको बाटो हुँदै सगरमाथा आरोहणमा जाँदा बेसक्याम्पमा रेस्टुरेन्ट, बार, स्नुकर, डिस्कोलगायतका सुविधा पाउने गरेको सुनाउने गर्दथे । तर आजभोलि सगरमाथा, मनास्लुलगायत धेरै आरोहीको भीड लाग्ने हिमालको बेसक्याम्प लक्जरी बनाउन थालिएको पाइएको छ ।

बजार प्रतिस्पर्धा भएकाले बेसक्याम्पमै तारे होटेलको सुविधा दिने गरी आरोहण आयोजना गर्नुपर्ने बाध्यता आएको फोर्टिन पिक एक्पीडिसन प्रालिका निर्देशक एवं आरोही टासिलाक्पा शेर्पाले बताए । मनास्लु हिमाल काठमाडौंबाट नजिक र आरोहणका लागि सस्तो पर्ने भएकाले आरोहीको भीड लाग्ने गरेको छ । नजिक भएकाले पनि बेसक्याम्पमा लक्जरी सुविधा दिन सम्भव भएको शेर्पाले बताए । आरोहण आयोजक कम्पनीहरूले यो सुविधा सगरमाथा, आमादव्लम लगायतका हिमालको बेसक्याम्पमा पनि विगतका वर्षहरूदेखि दिन सुरु गरेको बताएका छन् ।

केही वर्ष अघि विदेशी कम्पनीहरूले मात्र बेसक्याम्पमा लगानी गर्ने गरेका थिए भने नेपाली कम्पनीहरूले भने जसोतसो टार्ने काम मात्र गर्दै आएका थिए । पछिल्लो समय आरोहीबाटै रकम लिएर सुविधा दिने भएकाले कम्पनीहरूले बेसक्याम्पमा लाखौँ रुपियाँ लगानी गरेर लक्जरी बनाउन सुरु गरेको एटके एक्पीडिसनका निर्देशक एवं आरोही गाइड लाक्पा शेर्पाले बताउँछन् ।

यो महिना मात्र मनास्लु हिमालमा दुई हजार जनाभन्दा बढी आरोही, गाइड र कामदार बेसक्याम्प पुगेका छन् । मनास्लु आरोहणका लागि ३८ आरोहण दलबाट ४०४ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका छन् । त्यसै गरी यो आरोहण मौसमका लागि सगरमाथासहित १३ वटा हिमाल आरोहणका लागि ५६ वटा आरोहण दलबाट पाँच सय जना आरोहीले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

बेसक्याम्पले मिनेट मिनेटमा स्वरूप परिवर्तन गर्ने गर्छ आरोहीहरू मौसमसँगै रमाउँदै थकान मेटाउने गर्छन् । कम्पनीहरूले आरोहीका लागि उचाइमा पुगेर फर्के पछि रमाइलो गराउन साङ्गीतिक कार्यक्रम, हाइ अल्टिच्युट पचाउने प्रकारका खानका परिकार खुवाउने गरेको माउन्टेन गाइड गेल्जे शेर्पाले बताए । मृत क्षेत्र (डेथ जोन) जानुपर्ने भएकाले आरोहीलाई खुसी बनाउनुपर्ने, अन्य समय सुतिरहनुपर्ने भएकाले शरीर स्वस्थ र फुर्तिलो बनाउन पनि विभिन्न खेल खेलाउने व्यवस्था कम्पनीहरूले गरेकाले आरोहीहरूलाई चुचुरो पुग्न सहज हुने गरेको उनी बताउँछन् ।

पछिल्लो समयदेखि बेसक्याम्पमा लगानी गर्दै लक्जरी सुविधा दिन सुरु भएसँगै आरोहीहरूको आकर्षण बढ्न थालेको कम्पनीहरूले जनाएको छ । धेरै आरोहीको भीड लाग्ने हिमालमा बेसक्याम्पलाई सरकारले स्थायी संरचना निर्माण गरेर व्यवस्थापन गरे राज्यलाईनै  फाइदा पुग्ने पर्यटन व्यवसायीहरुको भनाइ छ । सगरमाथा बेसक्याम्प सार्ने विषय उठ्दा विवाद गरेको भन्दै शिविर सार्ने भन्दा पनि थप व्यवस्थापन जरुरी रहेकाले सरकारले दीर्घकालीन योजना बनाउन समेत आरोही टासिलाक्पा शेर्पाले माग गरे । गाेरखा पत्र अनलाइन 

सम्बन्धित समाचार