सोमबार , जेठ १४, २०८१

नेवार समुदायले म्हः पूजा गर्दै

नेवारी भाषामा म्ह: भनेको शरीर हो, यस दिन परिवारका सबै सदस्य भेला हुने र म्ह: पूजा गर्ने चलन रहेको छ ।

image

म्ह पूजा नेवार समुदायले मनाउने एक विशेष पर्व हो । (चन्द्रमानक) नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्ल पक्ष प्रतिपदा) तिथिका दिन यो पर्व मनाइन्छ ।

यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैँलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्छन् । परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्बित गर्छन् र आफैँले आफ्नो पूजा गर्छन् । पूजा सबै भन्दा जेठी आमाबाट अघि बढाइन्छ । म्ह पूजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले यसलाई धार्मिक समन्वयको कडीको रूपमा पनि बुझ्ने गरिन्छ । आफ्नो प्रतिविम्ब सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दीर्घायुको कामना गर्ने गरिन्छ । यो पर्व देश तथा विदेशमा बसेका नेपालीहरूले आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेका छन् ।

म्ह: पूजाको अर्थ र महत्व

नेवारी भाषामा म्ह: भनेको शरीर हो, यस दिन परिवारका सबै सदस्य भेला हुने र म्ह: पूजा गर्ने चलन रहेको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफ्नो आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष पनि सुन्दर छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रह्माण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ । किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठुलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन पुग्यो, त्यसपछि जीवित रहेका मानिसले आत्म सुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा आएको जनविश्वास छ ।

म्ह: पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो । भगवान् खोज्न अन्त कतै जानुपर्दैन आफू नै भगवान् हो भन्ने सन्देश हो, म्ह: पूजा ।

पूजा विधि

म्ह: पूजा सुरु गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुइँमा ढुङ्गाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल बनाइन्छ । यस बाहेक सबै भन्दा माथि एक र सबैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि तयार गरिन्छ । यस बाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल बनाइन्छ । रङ्ग प्रयोग गरी मण्डललाई सिँगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवीत) आदि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सबै सदस्यहरू क्रमबद्ध रूपमा पलेटी कसेर मण्डल सामुन्ने बस्दछ । त्यसपछि परिवारको सबैभन्दा जेठी आमाले पहिला सूर्य रूपी सुकुण्डालाई पूजा गरी सबै मण्डलहरू पूजा गर्छिन् । र, सबैलाई ‘धौ सगँ’ दहीको सगुन दिइन्छ । सबैले लामो कपडाको बत्ती (खेलु इताः) मण्डल माथि बाल्छन् । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी आमाले सजाइएको बिमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र बत्ती सबैको हात हातमा दिन्छिन् र सबै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गर्छन् ।

त्यसपछि खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिइ भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुइँमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथा श्रद्धा दक्षिणा दिइन्छ ।

म्ह पूजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पूजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।

मण्डलको भावार्थ

मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पूजा साधना प्रयोजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ । यसर्थ म्ह: पूजा मण्डलले म्ह: (आफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलाई समावेश गरी मण्डलको मध्य विन्दुमा आफूलाई राखिन्छ । मण्डलको विविध अङ्ग तथा पक्षहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

चुनढुङ्गाको धुलोको प्रयोग: म्ह: पूजाको मण्डल चुनढुङ्गाको धुलोबाट लेखिन्छ । चुनढुङ्गा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गर्ने गरिन्छ । धुलोलाई सीधै हातमा लिइ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल बनाउने गरिन्छ । पूजा पश्चात् मण्डल मेटाउनु पर्ने भएकोले धुलोले लेखिएको हो । आफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलाई तुरुन्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल आफ्नै निर्मित प्रतिविम्ब मात्र हो यसरी नै आफूको रूपमा मानिएको ‘म’ को भावना, आफ्नो भौतिक रूप तथा चेतसिक दुवै पक्ष ऐना भित्र देखिने प्रतिविम्ब समान हुन् भन्ने थार्थ दर्शनलाई बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो । आजभोलि धातुको मण्डल बनाइ त्यसमा केही धुलोको प्रयोग गरी पनि म्ह: पूजा गर्ने गरेको पाइन्छ ।

अष्तदल पद्माकार: म्ह पूजा मण्डल आठ वटा पात भएको कमलको फूलको स्वरूपमा बनाइन्छ । म्ह: (आफू) लाई कमलको फूलको रूपमा प्रतिविम्बित गर्नु व्यक्तिको आदर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भए तापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने आदर्श स्वभाव सबै व्यक्तिहरूमा विद्यमान छ तर यसलाई नचिनेको कारण वा बिर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको आकृति पद्माकार बनाइएको हो । पद्मको अर्को अर्थ पवित्रता हो । राग, द्वेष र मोह रूपी दलदलबाट अलग्ग रही काय, वाक् र चित्तका कर्महरू शुद्ध राखिरहने आदर्श रूप ‘म’ हो भन्ने अनुभूति गराउने पनि यसको उद्देश्य हो ।

कमलको आठ वटा पातको अर्थ अष्टमंगल, आर्य अष्टाङ्गिक मार्ग हो ।

षट्कोणाकारः हिन्दुमतानुसार बनाइने मण्डलचाहिँ षट्कोणाकार हुन्छ । शैव परम्पराको षट्कोणले प्रकृति र पुरुष वा शिव र शक्ति को एकत्वको स्वरूप नै आफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ ।

मण्डलको बिचको बनाइने संकेन्द्रित वृतहरूः

अधिकांश प्रचलनहरूमा बिचको विन्दु वरिपरि ४ वटा संकेन्द्रित वृतहरू बनाइन्छ । तिनीहरूको प्रतीक निम्नानुसार छ ।

१. तेलको मण्डल- छिटो नसुक्ने लामो समय सम्म टिकी रहने तत्त्व, चेतन तत्त्व, नामस्कन्ध

२. आखे- (खैरो चामलको पूर्ण अन्न)- अखण्डता, पूर्णता

३. धान- पुनरावृत्ति, पुनर्जन्म

४. लावा (ताय्)- हेतु प्रत्येय, कार्य र कारणको उपज

कसै-कसैले मण्डलको बिचमा ६ वटा वृतहरू कोरेको पनि पाइन्छ । यी मध्ये सबै भन्दा भित्र चेतन तत्त्वको प्रतीकको रूपमा तेलको वृत्त र पञ्च तत्त्वको प्रतीकको रूपमा क्रमशः आखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) का वृतहरू बनाइन्छ ।

ख्यलुइता बाल्नु

८ देखि १० इन्च सम्म लामो गरी बनाइने कपडाको बत्ती दुई थान मण्डलको छेउमा राखिन्छ । मण्डल पूजा पश्चात् ती बत्तीहरूको दुवै छेउ बाली तेर्सो र ठाडो पारी प्लस आकारमा मण्डल माथि बालिन्छ । यसको प्रतिकात्मक अर्थ आफूमा सर्वाङ्गीणरूपमा ज्ञानको दीपक प्रज्वलित गर्नु हो । ज्ञानको दीपक बालेको तत्क्षणमा नै अज्ञान रूपी अन्धकार हराउँछ । आफू र जगतको यथार्थ छर्लङ्ग हुन्छ ।

भोज

पूजाको अन्तमा सबै परिवारजन एकै पङ्क्तिमा बसी सुन्दर रूपमा सिँगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवा: भोज खाने गर्छन् । जति सुकै राम्रो सिँगारिएको भए पनि त्यस मण्डलको सुन्दरतामा पटक्कै आशक्त नभई मण्डल बिग्रिएला भन्ने सुर्ता नलिइकन अष्टमात्रिकाका प्रतीक स्वरूप आठ परिकारयुक्त भोज खाइन्छ । भोज समाप्त भए पश्चात् मण्डल र थाली रात भरिका लागि त्यतिकै छोडिन्छ र भोलि पल्टमात्र भुईँ बढारेर सफा गरिन्छ ।

विकिपेडियाबाट 

Tags:

सम्बन्धित समाचार