शुक्रबार , चैत्र ३०, २०८०

अपी र  सैपाल हिमाल चिहाउने ‘महाबु लेक’

अपी र सैपाल हिमाल चिहाउने महाबु गाथ अर्थात् महाबु शिवधाम समुन्द्र सतहबाट करिब चार हजार दुई सय (४,२००) मिटरको उचाइमा रहेको छ ।

image

  • महेन्द्र रावल

दैलेखको सबैभन्दा उच्च भाग महाबु लेकको शिर दैलेख र कालिकोट जिल्लाको सीमा क्षेत्रमा पर्दछ । अपी र सैपाल हिमाल चिहाउने महाबु गाथ अर्थात् महाबु शिवधाम समुन्द्र सतहबाट करिब चार हजार दुई सय (४,२००) मिटरको उचाइमा रहेको छ । हिन्दु धर्मका आराध्य भगवान् शिवको पूजा गर्न आउने भक्तजनहरू यहाँस्थित आश्चर्यचकित पार्ने दैवी शक्तिको महसुसको वर्णन गरेर थाक्दैनन् ।

कर्णाली प्रदेशका सबैजसो जिल्लाहरूबाट हरेक वर्ष श्रावण महिनाको जनै पूर्णिमाको अघिल्लो दिन महाबु लेकमा दर्शनार्थीहरूको ठूलो भिड लाग्ने गर्दछ । पछिल्लो समय धार्मिक रूपले विख्यात महाबु लेकलाई दैलेख र कालिकोट जिल्लाका विभिन्न मनोरम दृश्यहरू अवलोकन गर्ने भ्यू पोइन्टको रूपमा समेत लिने गरिएको छ । महाबु लेकको नामबाट महाबु गाउँपालिका नामकरण गरिएको छ ।

महाबु लेकबाट हेर्दा दैलेख र कालिकोट जिल्लाका मनै लोभ्याउने फाँटहरूले हरकोहीलाई वशीभूत पार्दछ । जब कुनै मानिस महाबु लेकको उचाइमा रहेका साना-ठुला फाँटहरू र तल पहाडमा लडिबुडी खेलिरहेका जादुमय सेता बादलका मैदानहरू देख्छ, ऊ आफूलाई बिर्सन पुग्दछ । मानिसहरू यसरी लोभिन्छ मानौँ उनीहरू स्वर्गको जादुमय रूपलाई आकाशमा उडेर अवलोकन गरिरहेका छन् ।

लेकका छातीमा रहेका हरिया घाँसका फाँटहरू, लेकका काखै- काखबाट लडीबुडी खेल्दै बगेका खोला-खोल्सीहरू, लेकका थाप्लाबाट खसेका मनै लोभ्याउने श्वेत झरनाहरू र ठुला-ठुला फाँटहरूमा फुलेका रङ्गीचङ्गी भुइँफूलका लहरहरूले देख्दा कहिल्यै लोभिन नजानेकाहरू पनि मोहित भएर गुणगान गाउँन थाल्दछन् । उनीहरू भन्नेछन् कि, ‘अरे महाबु लेक त सपना र कल्पनालाई पनि मात खुवाउने प्राकृतिक सौन्दर्यको अखडा रहिछ ।’ अझ महाबु लेकका काखै-काखबाट फुटेका पानीका मूलहरूबाट एक अँजुली चिसो पानीको स्वाद लिने हो भने अमृत पिए सरह भान हुनेछ ।

महाबु गाथ अर्थात् महाबु शिवधाम धार्मिक रूपमा सबैको रोजाइँमा पर्दै आइरहेकै थियो, पछिल्लो समय युवाहरूको पिकनिक र घुम्नै पर्ने गन्तव्यमा समेत पर्न थालेको देखिन्छ । धार्मिक तीर्थयात्रीहरूले शिवको वासस्थान र स्वर्गको संज्ञा दिने गरेको महाबु लेकलाई युवाहरूले ‘नेपालको घुम्नै पर्ने ठाउँमध्ये एक रहेको’ बताइरहेका छन् ।

‘नमरी स्वर्ग देखिँदैन’ भनेझैँ महाबु लेक नपुगी यसको सुन्दरता भेट्न मुस्किल छ । स्वर्गको सुन्दरताको रसपान त आफैँ उपस्थित भएर नै गर्नुपर्छ तर, यहाँ रहेको शिव लिङ्गको उत्पत्तिको महिमा र यत्रतत्र सर्वत्र छरिएर रहेको शिवको शक्ति  वर्णन पङ्क्तिकार गर्ने जमर्को गर्दछ ।

शिव लिङ्गको उत्पत्ति

दैलेख सदरमुकाम नजिकै रहेको भुर्ति भन्ने ठाउँबाट लेकमा गाईभैंसी चराउन अर्थात् लेकमा गोठ बनाएर उतै गाईभैंसी राखेका गोठालाहरू मध्ये एक जना लठ्याङ्ग्रो (राम्ररी बोल्न नसक्ने र कान पनि राम्रो सँग नसुन्ने ) थियो । लेकमा गोठ बनाएर गोठाला गर्ने गोठालाहरू सबैजसोका गाईभैंसी दुहुना भइरहन्थे तर, त्यो लठ्याङ्ग्रो गोठालोका भने गाईभैंसी नै बाझो रहने गर्थ्यो ।

अरू गोठालाहरूले दिएको दूध आधा शिलामा अर्थात् शिव लिङ्ग जस्तो आकार भएको ढुङ्गामा ढोलेर आधा मात्रै ऊ आफू खाने गर्थ्यो । लठ्याङ्ग्राको यस्तो हर्कतबाट जानकार उसका अन्य गोठाला साथीहरू सधैँ जसो उसलाई घोचपेच गरेर खुब लज्जित बनाउने गर्थे र भन्थे, “कहीँ शिव लिङ्गको आकार भएको ढुङ्गोमा हामीले खान भनी दिएको दूध आधा मात्रै खाई आधा ढोलेर पनि धर्म हुन्छ ? यो त लठ्याङ्ग्रो मात्रै होइन पागल पनि भयो । खाँ भनेर दिएको दूध ढुङ्गामा ढोल्ने ?” त्यो लठ्याङ्ग्रो गोठालोले दिनहुँ आफ्ना साथीहरूबाट लज्जित र अपमानित भइरह्यो तर, उसले आफूलाई खान दिएको दूधलाई शिलामा हाल्न छाडेन ।

उसको निरन्तरको भक्तिभावबाट भगवान् शिव प्रकट भई उसलाई लठ्याङ्ग्रोबाट मुक्त गरिदिए । भगवान् शिवले उसलाई धर्म शास्त्रको ज्ञान हुने वरदान समेत दिए । साथसाथै, ‘यहाँ भक्तिभावले पूजा गर्ने व्यक्तिको घरमा गाइभैंसी फैलाई गोरस (दही दूध) कहिल्यै खाली नहोस्’ भनेर भगवान् शिव सोही शिलामा प्रवेश गरे भन्ने जनश्रुति प्रचलित रहेको छ ।

लठ्याङ्ग्रोको फेरिएको स्वभाव र विद्वतासँग परिचित भएको गोठाले साथीहरूले त्यस स्थानमा पूजास्थल बनाई श्रावण महिनाको जनपूर्णिमाको अघिल्लो दिन विशेष रूपमा पूजाआजा गर्ने चलन बसाए । यस कुराको प्रमाणस्वरूप वर्तमान तीन जना पुजारीहरूमध्ये भुर्तीका लठ्याङ्ग्राका सन्तानहरू आजसम्म मुख्य पुजारीको रूपमा रहेका छन् ।

शिव लिङ्गको तल्लो भागको एक कप्टेरो चोइटिएको अहिले पनि देख्न सकिन्छ

सशस्त्र द्वन्द्वको समयमा सो शिव लिङ्गलाई नेकपा माओवादी सेनाले २०५८-५९ आसपास फोड्ने प्रयास गरेका थिए, तर उनीहरूले सफलता हासिल गर्न सकेनन् । फलतः शिव लिङ्गको तल्लो भागको एक कप्टेरो चोइटिएको अहिले पनि देख्न सकिन्छ । मन्दिरका एक पूजारीका अनुसार, ‘माओवादीले शिवको शक्तिसामु घुँडा टेके पनि उनीहरूको प्रहारको चोटले शिवलिङ्ग टुट्न गयो र त्यसपछि हामीले भोकभोकै टुटेको शिव लिङ्गको तल्लो भागलाई सुन, चाँदी र तामाद्वारा बाँधेर होम गरी सकेपछि पुन पूजाआजा निरन्तर चलेको छ ।’

शिव बसेको ढुङ्गा

लठ्याङ्ग्रो गोठालाको भक्ति भावबाट प्रभावित भई भगवान् शिव प्रकट भएको ढुङ्गामा पूजाआजा हुँदै आइरहेको छ । यहीँ ढुङ्गामा बसेर भगवान् शिव शंकरले आफ्नो भक्त लठ्याङ्ग्रो गोठालोलाई शिक्षा दिएको किम्बदन्ती रहिआएको छ ।

शिव लिङ्ग अगाडिका चामत्कारीक दुई ढुङ्गा

सायद धेरैलाई यो कलियुगमा भगवान्को चमत्कार प्रत्यक्ष देख्न र अनुभव गर्न पाइन्छ भन्दा अचम्म लाग्छ । त्यस्तै अचम्म र आश्चर्य लाग्दो कुरा मध्येको एक हो- महाबु लेकको शिरानमा रहेको शिव लिङ्ग अगाडिका दुई ढुङ्गा । ती दुई ढुङ्गा हामी जो कोहीले हेर्दा पनि यस्तो लाग्छ कि यी दुई ढुङ्गामा धेरैमा तीस चालिस जना मानिसहरू अट्न सक्छन् तर, आश्चर्यको कुरा के भने यी दुई ढुङ्गामा जत्ति मान्छे बस्न चाहे पनि सजिल्लै बस्न सक्छन् ।

चालिस जना मात्रै होइन ३/४ सय वा ३/४ हजार मान्छे नै यस ढुङ्गामा बस्न सक्छन् । महाबु दर्शन गरेर फर्किएका हरेकले यही विश्वास गर्ने गर्दछन्, यसमा अविश्वास प्रकट गर्नुपर्ने कुरा नै छैन । यो पनि मानिँदै आएको छ कि आजसम्म यी ढुङ्गाहरूमा बस्न चाहेकाहरूमध्ये बस्न नसकेर एकजना पनि त्यहाँबाट तल खसेको छैन ।

चमत्कारिक ढुङ्गाभन्दा तलपट्टि रहेको ठूलो ढुङ्गा

झट्ट हेर्दा कुनै निश्चित आकार छुट्याउन नसकिने त्यो रहस्यमयी ढुङ्गाको कहावत् दङ्ग पार्ने खालको छ । त्यहाँ पूजा गर्ने एक जना बाहुनका अनुसार त्यो ढुङ्गा शिवको वाहन हो । जब भगवान् शिव लठ्याङ्ग्रो गोठालोलाई शिक्षा दिन आउनु भयो, आफ्ना वाहन पनि सँगै लिएर आएका थिए । जब भगवान् शिव आफ्नो लठ्याङ्ग्रो भक्तलाई शिक्षा दिएर शिव लिङ्गमा बिलाए, तब देखि उक्त वाहन पनि त्यही शिला आकारमा रहेको छ ।

महाबुमा पूजा गर्ने बाहुनहरूको नजानिँदो शक्ति

ढुंगैढुंगाको बाटो भएर नाककै डाँडीजस्तो उकालो  पार गर्दै महाबु लेक सुर्खेतबाट जुम्ला जाने मार्गको सबैभन्दा उच्च स्थानको कठिन गन्तव्य हो । महाबु लेक निकै कठिन भू-धरातलको बीचमा खडा छ । दर्शनार्थी/तीर्थयात्रीहरू धेरै टाढा-टाढाको सफर तय गरी एक दुई दिन अघि नै यहाँ उपस्थित हुने गर्छन् । महाबु गाथको महत्त्वलाई मध्यनजर गरी अहिले सडक सञ्जाल जोडिनुका साथै सडकको स्तरोन्नति पनि भइरहेको छ । दैलेख सदरमुकामदेखि महाबु गाथ पुग्न सवारी साधन प्रयोग गरी करिब ६-७ घण्टाको समय लाग्छ भने हिँडेर तीव्र गतिमा ११-१२ घण्टाको समय लाग्छ ।

यहाँनेर पूजारीको चर्चा गर्नु उपयुक्त हुन्छ । दैलेख सदरमुकाममै रहेको भुर्तिबाट महाबु गाथका मुख्य पुजारी पूजा गर्ने दिन मही पाडेर (पारेर) आलो नौँनी र भैँसी दुहेर नतताएको (तात्तातो फिँज नसेलाएको) दूध लिएर महाबु लेकमा रहेको शिवलिङ्गमा चढाउन पुग्छन् । सवारीसाधनको प्रयोगबिना १२-१३ घण्टाको लाग्ने बाटोमा पूजारी भने दूधको फिँज नसेलाउँदै त्यहाँ पुग्ने गर्दछन् । भनिन्छ दैविक शक्तिले गर्दा यो सबै सम्भव भएको हो ।

मुख्य पुजारी मात्र नभएर अन्य दुई जना पुजारीहरू पनि पूजा गर्ने दिन पूजा गर्न निक्लिँदा सर्वसाधारण भन्दा कयौँ गुणा चाँडो महाबु गाथ पुग्ने गरेको त्यहीँका एकजना पुजारीले बताएका छन् । उनका अनुसार “उनलाई गाथ पूजाका लागि घरबाट निक्लिएर गाथ आउँदा अरूलाई करिब ५-७ घण्टा लाग्ने बाटो उनलाई १ घण्टा मात्रै लाग्दछ ।”

 लिस्निको भीर

पहिलोपटक महाबु गाथ पुग्ने दर्शनार्थी एवम् तीर्थयात्रीहरूले लिस्निको भिर चढेर महाबु गाथ जानु पर्छ भन्ने मान्यता छ । लिस्निको भिरको फेदमा गएर माथि हेर्दा यदि टाउकोमा टोपी लगाएको छ भने टोपी निश्चय नै खस्छ । गाथ जानेहरू जब लिस्निको भिरको फेदीमा पुग्छन् तब उनीहरू एकछिन त सोचमग्न हुन्छन्, “के साँच्चै यो भिड (भिर) चढ्न सकिएला त ?” मान्छेका मुटु थर्थराउँछन् जब तिनीहरू त्यो भिरको उचाइमा पुगेका चल्ला आकारका मान्छेका आकृतिहरू देख्छन् ।

लिस्निको भिर चढ्नेहरूले सर्वप्रथम त भिरको पुच्छरमा ध्वजा र धूप बालेर पूजा गर्छन्, त्यसपछि डरलाग्दो उकालो चढ्न सुरु गर्छन् । खुट्टालाई राम्रोसँग अड्याउन असम्भवप्राय: भएता पनि चारै हातखुट्टा टेकेर सुस्त चालका साथ जोकोहीले पनि सो भिर छिचोल्न भने सक्दछन् । यसमा पनि दैविक शक्तिको आशीर्वाद रहेको बताइन्छ । यस बाटो भएर मानिस मात्रै होइन, महाबु गाथमा पूजाका लागि ठुल्ठुला राँगा एवम् बोकासमेत लगिने गरिन्छ । यी जीवहरूलाई पनि भगवान् शिवको आशीर्वाद प्राप्त हुने जनविश्वास छ ।

तपाईँ यस ठाउँमा नआइपुग्दासम्म यी सबै कुरालाई झट्ट विश्वास गर्नुहुनेछैन तर, महाबु गाथ पुगेर फर्किएका व्यक्तिहरूले तपाईँलाई अझ यस यात्राको सविस्तार चर्चा सुनाउने छन्  । तब, तपाईँ विश्वास गर्नुहुनेछ र आफ्नो झोली बाँधेर महाबु लेकतर्फ लाग्नुहुनेछ । यताको यात्रामा निस्किँदै हुनुहुन्छ भने न्यानो कपडा बोक्न नभुल्नुहोला । ‘हाच्छ्युँ,,. हाच्छ्युँ’ गर्दै महाबु लेक पुग्नु म तपाईँलाई दिनेछैन ।

तपाईँको महाबु लेकको यात्रा शुभ रहोस्, शुभकामना !

तस्बीर : महेन्द्र रावल र कालाेपाटी नेपाल

सम्बन्धित समाचार