मंगलबार , जेठ १६, २०८०

बालेनलाई महेश बस्नेतकाे धम्की, ‘तिम्रो सन्की र लहडी आतङ्क नियन्त्रण गर्न हामी बाध्य हुने छौँ’ 

बस्नेतले प्रश्न गरेका छन्, 'बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ? हामी सँग नजिक भएर या फोटो लिएको कारण ?'

image

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई धम्की दिएका छन् । पछिल्ला दिन मेयर बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टि जनाउँदै बस्नेतले सामाजिक सञ्जालमार्फत धम्की दिएका छन् ।

मेयर शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसैप्रति असन्तुष्टि जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् ।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरेँ खुसी लाग्यो । तपाईँलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबिच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए ।

‘तपाइलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।

बस्नेतले २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् ।

‘विगतका यस्ता २र४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भएको छ । गाली गलौचको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईँका विरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले फेसबुकमा लेखेको छन् ।

अघिल्लो पोस्टमा डा कल्याण सुबेदी नामक फेसबुक प्रयोगकर्ताले शेयर गरेको अल्फाबिटाका सञ्चालकसँगै खिचेको तस्बिर राख्दै बस्नेतले प्रश्न गरेका छन्, ‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ? हामी सँग नजिक भएर या फोटो लिएको कारण ?’

प्रश्नलाई फलो गर्दै उनले लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान् नै । दोस्रो कारण हो भने त  हामी समेत मिलेर कसैको सन्की र लहडी आतङ्क नियन्त्रण गर्न बाध्य हुने छौ ।’

उनले डा कल्याण सुबेदी नामक फेसबुक प्रयोगकर्तालाई पनि धम्की दिँदै लेखेका छन्, ‘कथित बुद्धिजीवी कल्याण जीहरूले बौद्धिक अराजकता नफिँजाएकै राम्रो ।’

 

सम्बन्धित समाचार