शुक्रबार , मंग्सिर १५, २०८०

मलेसियन जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला

image

एजेन्सी ।  मलेसियन एयरलाइन्सको कलसाइन एम-एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ ।

नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले जनाएको छ ।

सन् २०१४ नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको जहाजलाई पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहार गरी पूर्वी युक्रेनमा खसाएका थिए । रूस समर्थित पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहारले जहाज खस्दा २ सय ९८ जनाको मृत्यु भएको थियो ।

घटनामा रूसका पूर्व कर्नेल इग्गोर गर्किन, खुफिया एजेन्सीमा काम गर्ने सर्गेई दुब्निस्कीलाई अदालतले दोषी ठहर गरेको हो ।

यस्तै उनीहरूलाई सहयोग गर्ने युक्रेनी नागरिक लियोनार्द खार्चिन्कालाई पनि अदालतले आजिवन काराबासको सजाय सुनाएको छ । अभियुक्तहरू अझै फरार छन् । उनीहरूलाई रूसले लुकाएको आशंका छ ।

यो मुद्दामा विगत दुई वर्षदेखि सुनुवाई जारी थियो । घटनाको जिम्मेवारी सुम्पिने हिसाबले सुनुवाई भइरहेको भनिएको यस मुद्दामा अदालतले दोषीलाई सजायसमेत तोकेको छ ।

२०१४ को जुलाई १७ मा एम-एच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो । त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार