आइतबार , फागुण १३, २०८०

हुम्लामा पुरानाबाट नयाँ पुस्ताले सिक्ने माने पर्व सम्पन्न

यो पर्व बुराउसे गाउँमा तीन सय वर्षअगाडिदेखि नै नाचिँदै आएको स्थानीय बूढापाको भनाइ छ ।

image

काठमाडौँ । हुम्लाको बुराउसे गाउँका लामा समुदायले मान्ने ‘माने पर्व’ सम्पन्न भएको छ ।

सिमकोट गाउँपालिका–४ का राजबहादुर लामाले पुरानाबाट नयाँ पुस्ताले सिक्ने माने पर्व सम्पन्न भएको बताएका हुन् । यस पर्वमा पुराना पुस्ताका बूढापाकाबाट युवाले आफ्नो संस्कृति, नाच, सिक्ने गर्छन् । चार दिनसम्म मनाइने यस पर्वमा बूढापाकाबाट नयाँ पुस्ताले खानपानदेखि गीत गाउने, नाच्ने, परम्परागत पहिरन लगाउनेबारे सिक्ने गर्छन् ।

यो पर्वको पहिलो दिन देवीदेवताको पूजाआजा गरिन्छ । दोस्रो र तेस्रो दिन लामा समुदायले नाच्ने विभिन्न झाँकीहरू पुरुषले प्रस्तुत गर्छन् । यसमा काठको मुकुण्डो लगाएर हातमा लट्ठी समातेर नाचिने बाक्पा नाच, तिलिङ्गे नाच, ढालतरबार समातेर नाच्ने महाँकाल नाच, घोडा नाच, फुर्का नाच, महिलाले नाच्ने ठाइकोर नाच नाचिन्छ । यी सबै नाचमा बूढापाका अगाडिको लाइनमा लागेर पछि लागेका नयाँ पुस्तालाई सिकाउने गरिन्छ ।

अन्तिम दिनमा भने गाउँमा भएका सबै खाले नराम्रा पक्ष हटाउन झुत्रा कपडा लगाएर पुरुष नाचेपछि पर्व समापन हुन्छ । यो पर्व बुराउसे गाउँमा तीन सय वर्षअगाडिदेखि नै नाचिँदै आएको स्थानीय बूढापाका बताउँछन् ।

सम्बन्धित समाचार