शुक्रबार , फागुण १८, २०८०

के हो मष्टो संस्कृति ? यस्तो छ यसको इतिहास

image

आजका पुस्ताले नसुनेको तर बिस्तारै बहुचर्चित हुँदैरहेको एउटा परम्परा छ । त्यो हो मष्टा संस्कृति । पहाडी खस समुदायको लोकपरम्परा र संस्कृतिको एकमुष्ट रुप नै मष्टा संस्कृति हो । खसको आद्य र प्राग ऐतिहासिक परम्परा अझैपनि अवशेषको रुपमा देख्न र भोग्न पाइन्छ । यही अवशेषभित्र गहन चिन्तन, मनन, अध्ययन र अनुसन्धान गरी यो लोकसंस्कृतिको वास्तविकता जनसमक्ष उजागर गर्नु आजको आवश्यकता हो । विगत कस्तो थियो र कसरी खस जीवन व्यतित गर्थे ? भन्ने कुरा यस्तै लोकजीवन र संस्कृतिको अध्ययनबाट थाह लाग्छ भन्ने अनुमान छ ।

मष्टाको प्राचिनता प्राप्त तथ्य, प्रमाण, पुुरातात्विक अवशेष, पुराना लिखत र जानकारीका आधारमा प्रकृति पुजा (Shamanism) वा जडात्मवाद (Animism) नै सर्वप्राचीन आध्यात्मिक चिन्तन मानिन्छ । वरिष्ठ लेखक युभल नोआ हरारीका अनुसार मानव जातिले करिब ३०,००० वर्षदेखि धर्म, व्यापार र सामाजिक विभेदीकरण गर्न सिकेको तथा करिब ३२,००० वर्ष पुरानो जर्मनीको स्टेडल गुफामा भेटिएको सिंह मानव (पुरुष वा महिला) नै पहिलो धार्मिक चिन्ह भएको प्रमाण पेस गरेका छन् ।

पुुरातात्विक खोजीअनुसार प्रकृति पुजा (Shamanism) कम्तिमा २० हजार वर्ष अघि भएको मानिन्छ । प्रकृति पुजा (Shamanism) को उत्पत्ति थलो साइबेरिया र मध्य एसियालाई मानिन्छ । प्रकृति पुजाको मुख्य कार्यकर्तालाई धामी भनिन्छ । यसरी धामी, झाँक्री प्रथाको सुरुवात साइबेरिया वा मध्य एसियाबाटै भएको मान्नु पर्ने देखिन्छ ।
जडात्मवाद (Animism) र प्रकृति पुजा गर्ने संस्कृतिका विभिन्नरूप मध्ये मष्टा र आद्य केदार संस्कृति पनि एक मानिन्छ । त्यसैले यो संस्कृति प्राग ऐतिहासिक कालदेखि नै निरन्तर प्रवाह भएको मान्न सकिन्छ । हुन त यस धर्मका कतिपय प्रथाप्रचलन, रितिरिवाज लोप भइसकेका छन् । जस्तैः जन्म, मृत्यु, विवाह लगायतका संस्कार ।

खस भाषा (नेपाली) को ठेट र प्राचिनतम् शब्द धामीले पुकार्छन् । कर्णाली अञ्चलतिर धामीले पुकार्दा बोलेका शब्द उल्था गर्ने कार्यकर्तालाई खावा भनिन्छ । जुन शब्द आजभोलि दैनिक जीवनमा प्रचलनमा छैनन् । यस्तो शब्दलाई देउ भाषा समेत भन्ने गरिन्छ । निश्चित भूगोलमा रहने मष्टका भक्तजन या उपासकजनलाई पाली भनिन्छ ।

यसरी मष्टा संस्कृतिमा बारम्बार आइरहने शब्द जस्तैः पाली, धुमेलो (धमेलो-धामी पतुर्ने काम), औतिनु (आङमा चढ्नु), पडेली खेल्ने (आफ्नै भाषामा बोल्ने), पतुर्ने (बाजाको तालमा या बाजाबिना नाच्ने), घाई (बाजाको ताल) आदि सयौं शब्दहरू शब्दकोशमा पाइँदैनन् । त्यसैले यो विशिष्ट संस्कृति लोक अनुप्राणित हो भन्दा कत्ति फरक पर्दैन । वेद, पुराण आदि ग्रन्थमा कहीँ कतै उल्लेख नभएकाले विद्वानहरूले मष्टा संस्कृतिलाई अवैदिक संस्कृति भनी स्वीकारेका छन् । प्रमाण, तथ्यले मष्टा संस्कृति वेदभन्दा प्राचीनतम देखिन्छ ।

खसहरूको प्राचीन क्रिडास्थल ककेसस पर्वतमाला आसपास थियो । ककेसस (Caucasus) ककस या कस शब्द अपभ्रंश भई खस शब्द उत्पत्ति भएको देखिन्छ । पश्चिम एसियाको बेबिलोनिया खसलाई कस (casita) भनिन्थ्यो । अंग्रेजले हित्ती जातिलाई हिट्टाइट (Hittites), अमोर जातिलाई अमोराइट्स  (Amorites) भने जस्तै कसलाई कस्साइट्स  (Casitas) भन्छन् । कस या कस्साइट्स खस जातिकै प्राचीन नाम हुन् । पश्चिम एसियाको कश्यप सागर र ककेसस पर्वत कस जातिसँग सम्बन्धित जस्ता लाग्छन् ।

कस जातिलाई वैयक्तिकरण (Personification) गरी कश्यप भन्ने गरेको मत पनि छ । बेबिलोनियामा कसहरूले इ.पू. १७०० देखि ११३६ सम्म शासन गरेको पाइन्छ । त्यसैले त्यहीँ खस संस्कृतिको विकास भएको मान्न सकिन्छ किनकि आद्य शासन, सभ्यता, प्राचीन अवस्थल र संस्कृतिको आद्यरूप समकालीन हुन्छ भन्ने धेरैको ठहर छ । खस समाजमा प्रचलित लोकवार्ता र लोकसाहित्यले समेत मष्टाको आविर्भाव बेबिलोनियामा भएको देखाउँछ ।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा ढँडार मष्टाको उत्पत्ति कथा यस्तो छः

धेरै वर्ष पहिले उत्तराखण्डका बद्री, केदार, यमुनोत्तरी, गङ्गोत्तरी, सिमला, हरिद्वार, ऋषिकेश, अमरनाथ, नन्दादेवी आदि तीर्थस्थलको दर्शन गर्न कुशा भट्ट नामका एक सज्जन यात्रारत रहेछन् । सोही क्षेत्र यात्रारत रहँदा शङ्खद्वारमा एउटा शिला प्राप्त गरेछन् ।

शिला कन्तुरमा हालेछन् । राती सपनामा त्यो शिला देखिएछ र शिलाले आफू बेबिलोनियातिरको बाँबिरा नामक देवता भएको साथै उनले साइँपाल हिमालको प्रसवण क्षेत्रमा बस्न चाहेको बताएछन् । त्यसपछि उनले ढँडारमा माडौं (थान) बनाई शिलाको स्थापना गरे । त्यस ठाँउमा बनेल आई गोठालाको दही चोरेछ । यो थाह पाएर पक्रन खोज्दा गोठाला अचेत भएछन् । नजिकका मानिसलाई गुहारेछन् । उक्त समयमा जसराज भन्ने ग्वालालाई कम्प छुटेछ । ऊ पतुर्न थालेछ–

“म बाँबिरा वा मरुत हुँ । यताका मानिसले मेरो भागगुरो दिन छोडेका छन् । म यस थलामा औतिएको छु । म तिमी सारा खसहरूको कुलमूली हुँ । दैत्यहरूको प्रहारबाट भवानीलाई जोगाउन आएको हुँ । म स्वर्गबाट झरेर पहिले खस्मिर, केदारखस मण्डल तथा कैलाश मानसरोवर डुल्ने गर्थें । यहाँ माडौं स्थापना भएको छ, तापनि म बद्री, केदारदेखि सारा हिमालय क्षेत्रभित्र फैलिएका खस जातिको र तिनका नजिक पर्ने अन्य जातिको घर, गोठ र चरनमा बिराजमान छु । मन्दिर बनाउनुको सट्टा साधारण माडौं बनाई त्यसको गभिरमा खोपो राख्नु र मेरो ‘गाधी’ सम्झेर पुज्नू । मेरो बैनी भवानीको पनि सम्झना गर्नु …।

माथि उल्लेखित लोक साहित्यको मतलाई थप बल पुग्ने गरी खस जातिको इतिहासका लेखक एवम् वरिष्ठ भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले उल्लेख गर्छन् । नेपाली खसहरूको एक विशिष्ट धर्मको रूपमा मष्टो उपासना स्वीकार गर्न सकिन्छ भन्ने बारेमा पोखरेलको भनाइ यस प्रकार छ:

खस जातिले हिन्दु कुश पश्चिमबाट नेपालमा ल्याएका उपासना मध्ये अन्तर्वेदी (मेसोपोटामिया) सित सम्बन्धित दुई उपासना हुन्– बाबिरो मष्टो र बान्नी मष्टा । बाबेरू मष्ट बेबिलोनको मार्डुक (मरूत:Marduk) हुनुपर्छ । किनभने बाबिरो शब्द संस्कृतको बाबेरूबाट आएको हो, जसको अर्थ हुन्छ बेबिलोन । ठीक त्यसैगरी वान्नी मष्ट अहुर मज्दाको (असुर मस्त) को हिमाली अवशेष प्रतीत हुन्छ, किनभने केही असुर सम्राट् (वानीपाल) ले  आफूलाई बानी नामक पाल (भगवान्को) नामबाट विभूूषित गरेको पाइएको छ । मस्ट उपासना खापर शाखाको प्रचीन वाजसनेय उपासनाको अवशेष प्रतीत हुन्छ ।

विद्वान् भाषा र संस्कृतिविद् डा.जयराज पन्तले धामी पतुर्दा बोल्ने भाषा प्राचीन भएको र वर्तमानमा त्यो बोली दैनिक जीवनमा उपयोगमा नआउने उल्लेख गरेका छन् । हाल प्रचलनमा नरहेका र प्राचीनकालमा बोलिने छत्तरया अर्थात् छत्रपति वा राजा वा ठकुरी, लौडया अर्थात् क्षत्रीय, पूजर्या अर्थात् पुजारी, भणर्या अर्थात् भण्डारी, भोकर्या अर्थात् भोकर बजाउने व्यक्ति, धौल्या अर्थात् ढोली, मुस्या अर्थात् कामी, ताकला अर्थात् ब्राह्मण, ताकली अर्थात् ब्राह्मणी, ज्वाँती अर्थात् चेलीबेटी वा कन्या, भईय्या अर्थात् समकक्षी देवता, दामडा अर्थात् रूपैयाँ, पेलो अर्थात् सुन, जिब्ब्या अर्थात् वचन वा बोली वा उपदेश, सन्निघट्ट अर्थात् संकट, ठेक अर्थात् वर्ष जस्ता अनेकौं शब्दहरू धामीले बोल्ने भाषामा प्रयोग हुन्छ ।

यसरी मष्टा, आद्य केदार र भवानी खस उपासना परम्पराका मूल स्रोत हुन् । यिनको आदिमता र प्राचीनताको स्रोत प्राग ऐतिहासिक कालदेखिका सयौं घटना, आपत विपद, पशुपालन र कृषिकर्म गर्दा देखा परेका समस्याको निराकरण गर्न अपनाइएको उपायबाट प्राप्त अनुभवको संगालो हुनुपर्छ । अलिखित संस्कृति भएकाले ती अनुभवहरू अभिलेखिकरण हुन सकेनन् ।

मष्टाका नातेदार

मष्टालाई लोक कल्याणकारी, भक्त वत्सल, भक्तहरूको समस्या निराकरण गर्ने, ठूलो समूहमा वाहन या भान या वीर या बाँठ भएका देवता मानिन्छ । मष्टा अविवाहित देवता हुन् भन्ने लोक मत छ । उनी लोकहितका खातिर सदा चिन्तनशील रहने देवता हुन् । बृहद् परिवारका सदस्य मष्टाका धेरै नातेदार रहेको जनविश्वास छ । अध्ययनले मष्टाका नातेदारहरू मूलतः पाँच समूहमा विभाजन गर्न सक्ने देखाएको छ । ती हुन्:
१.बाह्र भाइ मष्टा र नौ दुर्गा भुवानी
२.एक भाइ मष्टा र सोह्र बहिनी भुवानी
३. मष्टा, आद्य केदारहरूबीचको नाता
४. आद्य केदारका नातेदारसँग मष्टाका नातेदारको समानता

मष्टाका सेवकहरू

बाह्र भाई मष्टा र नौ दुर्गा भुवानी

यो लोकमतले मष्टा बाह्र भाइ र भुवानी नौ बहिनी भएको विश्वास गर्छ । परापूर्व कालमा खस जातिका बाह्र समूह रहेको र प्रत्येक समूहले छुट्टाछुट्टै मष्टा उपासना गर्ने भएकाले बाह्र भाइ मष्ट भन्न थालिएको अनुमान गर्न सकिन्छ । बाह्र भाइ मष्ट कुन कुन हुन् मतैक्य छैन् । यो मत अत्यधिक प्रचलित छ । मष्टोको बाह्र भाइ र नव दुर्गा भवानीको नौ बहिनी भनिन्छ तापनि बाह्र भाइ मष्टो को-को हुन् मतैक्य छैन । कहिलेकाहीँ १३ नाम पनि निस्कन्छन् ।

ती हुन् १. बुुडुु मष्टो २. कः मष्टो ३. बा मष्टो ४. थार्प मष्टो ५. बाबिरो मष्टो ६. लिउँडी मष्टो ७. कामल मष्टो ८. सिम मष्टो ९. रमाल मष्टो १०. ढँडार मष्टो ११. ढुसापानी मष्टो १२. डढी सिमल मष्टो १३. कुर्मी मष्टो ।८ बाह्र भेदको सुरूवात आदि मष्टोदेखि नै सुरू हुन्छ र रूमाल मष्टो, दाह्रे मष्टो, खप्तड मष्टो, टेढी मष्ट, मण्डली मष्ट, दूधे मष्टो, लडे मष्टो, रूद्र मष्ट, कैली मष्ट र काला मष्ट हुन् । यिनमा ४ भेद विभेद वा समूह भेद पाइन्छ ।

खस वा कस (Casitas) वा काशी जातिले बेबिलोनियामा शासन गर्दा देखि नै टुर्गु (Turgor) का उपासक थिए । पछि टुर्गु (Turgor) बिस्तारै अपभ्रंश नै (टुर्गु) – टुर्गा श- दुर्गा बनेको प्रतीत हुन्छ । सुदूर पश्चिमतिर दुर्गालाई धुर्गा वा दुरू भन्ने गरेको पनि पाइन्छ । खस उपासनाको नारी पक्ष दुर्गा भवानी नै हुन् । प्राचीन महामातृका दुुर्गा र कालिका हुन् ।

मष्टाका नौ दिदीहरूमा यसप्रकार छन्: कालिका, मालिका, कनका सुन्दरी, त्रिपुरासुन्दरी, जालपा, खेसमालिनी, ठिङ्याल्नी, हिमालिनी र विन्ध्यावासिनी । यी नाम यसरी पनि आउँछ : कालिका, मालिका, भवानी, जालपा, सुनन्दा, अलकनन्दा, कनक सुन्दरी, त्रिपुरासुन्दरी र उग्रतारा ।

मालिका र त्रिपुरा सुन्दरीका सात-सात र नौ-नौ दिदीबहिनी भएका सुन्न पाइन्छ । नौ दुर्गा भवानीहरूमध्ये कालिका, मालिका, खेमिलिनी, दुलेल्ली, कनकासुन्दी र त्रिपुरासुन्दरी नेपाल एकीकरण पछिका अभिलेखहरूमा पनि पाइएको छ ।
मालिका दिदीबहिनी: दरबार मालिका, मालिका, चिमरा मालिका, बडिमालिका, चुलिमालिका, पुङ्गमालिका, भुरचुला मालिका र बासी मालिका । दरबार मालिका र कोट मालिका एउटै हुन् ।

त्रिपुरा सुन्दरीका नौ दिदीबहिनी: काफ्लासैनी, पोटलासैनी, बोदलासैनी, निङ्गालासैनी, डिलासैनी, निलासैनी, रणसैनी, जिलासैनी र बिजुलासैनी । त्रिपुरासुन्दरी र निङ्गलासैनी भन्नु एउटै हो भनिन्छ । ब्राह्मणिक धर्मशास्त्रमा उल्लिखित नवदुर्गाहरू यसप्रकार छन्: शैलपुत्री, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्द माता, कत्स्यायनी, ब्रह्मचारिणी, कालरात्री, सिद्धि, दात्री महागौरी ।

मष्टोका नौ दिदीबहिनी नौ दुर्गा भवानीको लोकोक्ति यसप्रकार छः

भवानीको नवै बैनी वन-वन छायाँ ।
डाँके लेक कर्णालीका गाड सेरा पायाँ ।।

मष्टाका बाह्र भाइ भनिए तापनि ठाउँअनुसार मष्टको नाम पृथक-पृथक भेटिन्छ । संकलन गर्दा मष्टका १०८ भन्दा बढि नाम समेत फेला परेका छन् । नौ दुर्गा केवल नौको संख्यामा मात्र छैनन् । त्यो भन्दा अधिक मात्रामा छन् ।

एक भाइ मष्टा र सोह्र बहिनी भुवानी

विविध नामले स्मरण र उपासना गरेतापनि मष्ट एकै हुन् भन्ने अर्को लोकमत छ । यो लोक साहित्यको किंवदन्ती, फाग, मागल, सगुन, चैत, भोलाइलो जस्ता विधामा समेत सुन्न पाइन्छ । बझाङतिर विशेषरुपमा यो मत प्रचलनमा छ । डोटी शैलेश्वरी मन्दिरको उत्तरतिर दुधेमष्ट माडौं छ । शैलेश्वरी लगायत सोह्र भुवानीको एकमात्र भाइ मष्ट हुन भन्ने स्थानीयजनमा गहिरो विश्वास रहेको छ ।

सोह्र बहिनी दुर्गा भवानी यसप्रकार छन्: १. जालपा देवी, २. लाखमा देवी, ३. पुन्यगिरि देवी, ४. निगला देवी, ५. दुर्गा देवी, ६. सुर्मा देवी, ७. कालिका देवी, ८. खनारी देवी, ९. मालिका देवी, १०. त्रिपुरासुन्दरी देवी, ११. नन्दा देवी, १२. उग्रतारा, १३. कनका सुन्दरी, १४. भुवनेश्वरी, १५. वागेश्वरी र १६. शैलेश्वरी ।

मष्टाको फाग

उदी मेलो गउले चर्यो उभो हरियो
मष्टा मण्डलीका थान लोग भरियो
सोह्र बहिनी दुर्गादेवी एक्लो भाइ मष्टा
आपूm दाजु मष्टादेव राजगद्दी बस्या
सोह्र बहिनी दुर्गादेवी शिका आग्र लागि
तम्रो दियो दाज्यू मेरो दाइजो नलिँदा
सिउती मिउती सेरा बहिनी तमे दाउजो लैझाऊ
फाटकी भइसेलु तमे दाइजो लैझाऊ ।
गोठको गाइय बैनातर्फ तमे दाइजो लैझाऊ
लाख न असर्फी तमे दाइजो लैझाऊ
झाउ न झाउ बैना मेरी शिका आग्र बस

(साभार: मष्टो संस्कृति र परम्परा (हर्कबहादुर बम्म, सुबेडा) पृ. ४०३)
नवदुर्गा र सोह्र दुर्गा भुवानीमा सम्मिलित देवीहरूको नाम धेरै मात्रा दोहोरिएको छ । यी मत कहिलेदेखि प्रचलनमा आए भन्न सकिने अवस्था छैन् ।

मष्टा, आद्य केदारहरूबीचको नाता

मेसोपोटामिया (Mesopotamia) का महान् काशी नरेशहरूले आफूले दानमा दिएको भूमिको सिमानामा कोदार शिला (Kuduro) नामक ढुङ्गालाई मुर्चलका रूपमा प्रयोग गर्दथे । यी केदार शिलामा राजाद्वारा दिइएको दान र दान पाउने व्यक्तिको नाम उल्लेख हुन्थ्यो । त्यहाँ दान दिएको बेला देख्ने साक्षीका रूपमा नक्षत्रका देवता र अन्य देवतालाई राखिएको हुन्थ्यो । यी शिला धार्मिक तथा आर्थिक र कलात्मक कृतिका नमुना थिए ।

Kuduro’s are large polished stones carrying inscriptions concerning land grants, usually involving the crown or land sales. They are often of hard stone, including black basalt. Those kuduro known from excavations were found mostly in temples, standing as records of the royal grants, but it is supposed that these represent replicas of such stones placed on the boundaries of the land allotments themselves (hence the term boundary stone, as a common translation of kuduro). They were perhaps introduced by the Kassites and were used from time down to the Neo-Babylonian period (Seventh century B.C.) 

माथिको तथ्यले कुदुर्रु (kuduro) नामक कलात्मक मुर्चलबाट केदार बनेको संकेत गर्छ । त्यसैले आद्य केदारको उत्पत्तिस्थल कस (Kassites) प्राचीन बसोबासस्थल बेबिलोनिया भएको इसारा गर्छ । यसरी मष्टा र केदार दुवैको जरो खसजाति र बेबिलोनियासँग रहेको देखाउँछ । त्यसैले खस संस्कृतिलाई केदार, मष्ट र भुवानी पूजक संस्कृति पनि भन्न सकिन्छ । केदार र मष्टबीच भाई भाईको सम्बन्ध रहेको जनविश्वास छ । यसका धेरै प्रमाणहरू यस पङ्तिकारले फेला पारेको छ ।
मष्टो र केदारबीच दाजुभाई सम्बोधन हुन्छ । कफल्लेकी केदारको चैत्र (सुदूर पश्चिमको एक प्रकारको लोक गीत) मष्टालाई दाजू भनेर सम्बोधन गरिएको छ । कफल्लेकी केदारले मष्टलाई हृदयको दाई भनेका छन् ।

मष्टो दैत तियडीको मित
भुवरेका कानी चढ्यो कपदेउती हित
मष्टो दैत मेरो हियडीको दाइ 

केदारहरूका नाम यसप्रकार छन्ः रौलाकेदार, ग्वाल्लेक केदार, सिगास केदार, देउले केदार, धुरा केदार, जगन्नाथ, महारुद्र, पाताल भूमेश्वर, गणमहेश्वर, भूमिराज, भागेश्वर, घण्टेश्वर, असिग्राम, घटाल, अर्धनागेश्वर, सहस्रलिङ्ग, गन्याप, मल्लिकार्जुन, लटिनाथ, गलीनाथ, हुनैनाथ, गोकुलेश्वर, कपल्लेकी केदार, असिउँ, लाना केदार, चाकाकेदार, काफली केदार, पासा केदार ।

भागेश्वर केदारका चौध बहिनी भएको लोकोक्ति पाइन्छ । १. जेठी निङलासैनी २. मेलौली भगवती ३. त्रिपुरा सुन्दरी (रणसैनी) ४. डिलासैनी ५. काफलासैनी ६. पोटलासैनी ७. बोदलासैनी (बैतडी) ८. मष्टा भवानी ९. उग्रतारा (डडेल्धुरा) १०. शैलेश्वरी ११. दुर्गादेवी (डोटी) १२. बालासैनी (बालुका मुडेगाउँ, डोटी) १३. मालिका (बाजुरा) १४. पूर्णागिरी (महाकाली किनार, भारत) ।१९ यसरी केदारका बहिनीहरू र मष्टाका बहिनीहरूमा धेरै मात्रामा समानता देखिन्छ ।

बझाङ र डोटीतिर केदारलाई शिवको रूप नमानेर देवताको रूपमा मानिन्छ । डोटी तर्फ केदारलाई विभिन्न रूप र नाम दिइएको छ । कफल्लेकी केदारका पुत्र ‘मोहन्याल’ मूल नक्षत्रमा जन्मिएको वर्णन छ । केदारका अर्का पुत्र ‘पञ्चमढ’ पनि मूल नक्षत्रमा जन्मिएको भनिन्छ । तर शिव पुत्र गणेश र कार्तिकेय (कुमार) सँग यी देवताको कुनै सम्बन्ध रहेको छैन र पुराणमा पनि यस्तो प्रसङ्ग पाइँदैन ।२० सुदूर पश्चिमको भ्रमणको अवसरमा यस पंक्तिकारलाई स्थानीयले गजर्याल, धिरकाणी र मोहन्याललाई केदार पुत्र भनी परिचय गराए । त्यस्तै लाना केदारका जेष्ठ पुत्र धिरकौणी (धिरकाणी) हुन् भन्ने पाइन्छ । यसैगरी केदारका बहिनीको नाम कालीका र मालीका हुन् ।

यसरी शिव र आद्य केदार एकै होइनन् । आद्य केदार र मष्टा शताब्दीऔं देखि खसहरूले श्रद्धाभक्तिपूर्वक अर्चना गर्ने देव हुन् ।

मष्टाका सेवकहरू

मष्टाका सेवकहरूलाई ठाँउ अनुसार वीर, बाँठ, भान, वाहन आदि भन्ने चलन छ । मष्टाको अनुचर वा सेवक वा गणका सदस्यलाई वीर वा वाहन वा भान भनिन्छ । आद्य केदारका पनि सेवकहरू हुन्छन् । केदार वा केदार समूहका देवताहरूको पनि सेवकहरू छन् । ती वाहन (भान) हरूलाई बाउन्न वीर (५२ थरी सेवक) भन्ने चलन छ । यी वीरहरू शक्तिशाली, लोककल्याण गर्ने र मष्टाको सेवक भएको विश्वास गरिन्छ । कतै कतै ५२ सय वीर र १६ सय मसानी भन्ने चलन पाइन्छ । डोटीमा माडौं भएका कपल्लेकी केदारका भान वा सेवक लाटो, मसानी, सिमराडो, राजरै, सालमुनी, गौडीवाग, डाँडावाग, भुमरे, निमाउने आदि रहेको स्थानीयले बताए ।

स्थानीय नदीनाला, बाटोघाटो, पहाड, भञ्ज्याङ खोला, नदी, खेतगरा, वन जंगल, भीरपाखा आदि स्थानमा रहने देवीदेवतालाई मष्टाको सेवक मानिन्छ । यी भानहरू शक्तिशाली हुन्छन् । यिनीहरू सर्प, घोडा, बिरालो, कुकुर, लामपुच्छ्र्रे र बाँदर आदि रूपमा हुन्छन् । बूडू मष्टोका भानहरू फुटाशिली, भान्या, लाप्के र छ्यढुस्का हुन् । ढँडार मष्टाको भान चाप चुल्डी, लोडेसिमी, सिपदुल्यौ र नीलाग्रे हुन् । यी मध्ये छ्यदुस्का बाँदरको रूप लिएर हिंड्छन् । लोडेसिमी बदेलको रूप लिएर हिंड्छन् । सिपदुल्यौ बाघ बनेर हिंड्छन् । निलाग्रेहरू राक्षसको रूप लिएर हिँड्छन् ।

आद्य केदार, मष्टा र भुवानीका सयौं, हजारौं सेवकहरू भएको जनविश्वास छ ।

सन्दर्भ सामग्री:
१. Harari, Youal Noah (2015), Sapiens :  A brief history of Humankind, London: Vintage, p. 23/25

२. Prince, Neil s. (2001), The Archaeology of Shamanism first edition, New York: Routledge, P.43

३. क्षेत्री, दिलबहादुर (२०७०), खस आदिवासी कि आप्रवासी तथ्य र तथ्याङ्कमा आधारित निचोड पृ.१८ (खस आर्यका १५००० वर्ष, काठमाडौं: मधुवन)
४. अधिकारी, सूर्यमणि (२०६७), खस साम्राज्यको इतिहास, काठमाडौं: भुँडीपुराण प्रकाशन, पृ. २०
५. आचार्य, राजेन्द्रकुमार संकलन-सम्पा. (२०७३), पचहत्तर जिल्लाको लोककथा, काठमाण्डौंः ने.प्र.प्र. पृ. ११४-११५
६.पोखरेल, बालकृष्ण (२०५५), खसजातिको इतिहास, विराटनगरः उदात्त अनुसन्धान अड्डी पृ.६३७
७. पन्त, जयराज (२०६४), मष्टा परम्परा र यसका गीतहरु, काठमाडौं: वाङ्मय प्रकाशन पृ. १६६
८. मेची महाकाली माग ४ (२०३१), श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सूचना विभाग, पृ.४६८
९. यात्री, पूर्णप्रकाश नेपाल (२०३५), सेती अञ्चल दिग्दर्शन, विराटनगरः हिमाल सौगात, पृ.३९९
१०.कार्की, तेजबहादुर (२०७५), मष्टो संस्कृति ऐतिहासिक र सांस्कृतिक अध्ययन, काठमाडौंः शिखा बुक्स, पृ. १०५
११. पन्त, जयराज (२०६४), मष्टा परम्परा र यसका गीतहरु, काठमाडौं: वाङ्मय प्रकाशन पृ.२५
१२.अधिकारी, सूर्यमणि (२०६८), बाइसे राज्यको इतिहास, पूर्ववत्, पृ. २८८-८९
१३. पन्त, जयराज (२०६४), पूर्ववत्, पृ. २२-२३
१४. खनाल, मोहनप्रसाद (२०७०), मष्टो एक प्राचीन देवता, काठमाडौं: बानियाँँ वन्धु समाज, पृ.७६
१५.पोखरेल, बालकृष्ण (२०३५) खसजातिको इतिहास, पूर्ववत्, पृ. २४०.
१६. Black, Jeremy and Anthcny Green (1995), Gods, Demons and symbols of Ancient    Mesopototamia,  Austrin : University of Texas P: 113

१७. खड्का, श्यामबहादुर (२०७२), मष्टो संस्कृति र परम्परा, काठमाडौं: एकता प्रकाशन, पृ.३८४
१८.भारद्वाज, पदमराज जोशी (२०६७), कालो पातल, पूर्ववत्, पृ.५५
१९. भारद्वाज, पदमराज जोशी (२०६७), कालो पातल, पूर्ववत्, पृ. १०६-१०७.
२०. खड्का, श्यामबहादुर (२०७२), पूर्ववत्, पृ.३८६
२१. पन्त, जयराज (२०६४), मष्टा परम्परा र यसका गीतहरु, काठमाडौं: वाङ्मय प्रकाशन पृ. २७
२२. आत्रेय, विष्णुप्रसाद (२०७०), लौकिक दर्शनमा मष्टो देवता, काठमाडौं: बानियाँँ बन्धु समाज, पृ.६८

तेज कार्की 

सम्बन्धित समाचार