काठमाडौं । नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क)को थालनी भएको छ । विद्यार्थीमाझ गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउन उद्यान सुरु गरिएको हो । बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको उद्यान हिजो ‘पाई डे’ तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा उद्घाटन गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्यले उद्घाटन गरेको उद्यान गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले सुरु गरिएको हो । शिक्षकको अनुपस्थितिमा विद्यार्थीहरूले आफैँ उद्यानबाट गणितका नयाँ कुरा सिक्न सक्ने र यसले कक्षा कोठाको सिकाइमा सहयोग पुग्ने विश्वास राखिएको छ । विद्यार्थीहरूले उद्यानमा गणित प्रयोग गरी रमाउँदै सिक्ने अवसर त प्राप्त त गर्छन् नै गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट छुटकारा दिलाउन समेत उद्यानले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा सचिव बज्राचार्यले नेपालमा पहिलो स्थापना भएको गणित पार्कले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणितप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको बताउँदै गणित पार्कले विद्यार्थीलाई सहज हुने धारणा व्यक्त गरिन् । साथै मन्त्रालयले ‘स्टिम’ शिक्षाका सामाग्री तयार पार्ने काम गरिरहेको र पूरा भएपछि विद्यालयलाई वितरण गर्ने तथा शिक्षकलाई पनि तालिम दिने जानकारी दिइन् ।
विद्यालयको गणित विभागका कारण पार्क निर्माण गर्न सकिएको प्रिन्सिपल जुनिता शाही कार्कीले जानकारी दिइन् ।