सोमबार , फागुण १४, २०८०

किन मौसम पूर्वानुमानमा प्रयोग हुन सकेन सर्वोच्च शिखर सगरमाथामा जडित उपकरणबाट प्राप्त डेटा ?

मौसम विभागले विभिन्न उचाइमा राखिएका उपकरणहरूबाट प्राप्त हुने रीयल टाइम डेटा भरपर्दो मौसम पूर्वानुमानमा थप उपयोगी हुन सक्ने विज्ञहरू बताउँछन् ।

image

काठमाडाैं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजीकै मौसमसम्बन्धी उपकरणहरू राखिए पनि तिनबाट प्राप्त हुने विवरण नेपालको मौसम पूर्वानुमानमा प्रयोग हुन नसकेको अधिकारीहरूले बताएका छन् । सगरमाथाको चुचुरो नजीकै ‘विशप रक’ भनिने ८,८१० मिटर उचाइ र बाल्कोनी भनिने ८,४०० मिटर उचाइको क्षेत्रमा विभिन्न चरणमा मौसम मापनमा प्रयोग हुने उपकरणहरू स्थापना गरिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले त्यहाँ राखिएका उपकरहरूबाट प्राप्त विवरण मौसम पूर्वानुमानमा प्रयोग हुन नसकेको बताएका छन् ।  “सगरमाथामा राखिएको भनिएको उपकरणबाट हामीले अहिले प्रत्यक्ष डेटा प्रयोग गरिरहेका छैनौँ । हामीले अरू विधिहरू डेटाहरू पाउने हो,” उनले भने ।

किन प्रयोग हुन सकेन डेटा

अमेरिकाको न्याश्नल जीओग्राफिक सोसाइटी र जल तथा विभागले संयुक्त रूपमा जडान गरेका यस्ता उपकरणहरूबाट न्याटजीओले र विभाग र त्रिभुवन विश्व विद्यालयको जल तथा मौसम केन्द्रीय विभागले नियमित विवरणहरू प्राप्त गर्छन् ।

प्राविधिक कारणले ती विवरणहरू प्रशोधन र विश्लेषण गरेर नेपालको मौसम पूर्वानुमानमा प्रयोग गर्न नसकिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुवास तुलाधरले बताए ।”हामीसँग विवरण नै नआएको होइन । तर त्यसलाई मौसम पूर्वानुमानमा प्रयोग गर्न सकिने ढाँचामा ढाल्न सक्ने प्राविधिक प्रणालीमा समस्या भएको हो । यसलाई सकेसम्म छिट्टै समाधान गर्न प्रयत्न गरिरहेका छौँ,” उनले भने ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्याल यस्ता अत्याधुनिक उपकरणबाट प्राप्त हुने विवरण नेपालको मौसम पूर्वानुमानमा प्रयोग हुन नसक्नु दुःखद भएको बताउँछन् । “सगरमाथाको ३,८०० देखि ८,८१० मिटर उचाइका बीच राखिएका उपकरणहरूबाट हामीले रीयल टाइम डेटा पाइरहेका पनि छौँ,” अर्यालले भने । “हामीले यस्ता परिष्कृत उपकरणबाट प्राप्त हुने विवरण मौसम पूर्वानुमानमा प्रयोगमा ल्याउन नसक्नु चाहिँ दुःखद हो।”

न्याटजीओ र फ्रान्सको आईआरडीसँग संयुक्त रूपमा सगरमाथा क्षेत्रमा १० वटा मौसम उपकरणहरू राखिएका छन् । चीनसँग सहकार्यमा पनि मौसम उपकरहरू राख्ने परियोजना अघि बढिरहेको अर्यालले जानकारी दिए । उनले यस्ता विवरणहरूलाई मौसम पूर्वानुमानमा प्रयोगमा ल्याउन आवश्यक संयन्त्र निर्माणमा विभागले पनि पहल लिइरहेको बताए ।

पूर्वानुमान सहज हुने

नेपालको मौसम पूर्वानुमान ‘रिमोट डेटा’ भनिने भू-उपग्रहहरूबाट प्राप्त हुने विवरणहरूमा धेरै निर्भर रहेको अधिकारीहरू बताउँछन् । तर मौसम विभागले विभिन्न उचाइमा राखिएका उपकरणहरूबाट प्राप्त हुने रीयल टाइम डेटा भरपर्दो मौसम पूर्वानुमानमा थप उपयोगी हुन सक्ने विज्ञहरू बताउँछन् । विभाग आफैँले पनि ४,८०० सम्मको उचाइमा मौसम उपकरण राखेको तुलाधरले जानकारी दिए ।

“यस्ता उपकरणहरूबाट प्राप्त हुने विवरण अन्त कतै पाइँदैन र हिमालय क्षेत्रको [मौसम] पूर्वानुमानमा निकै उपयोगी हुन्छ । थप उपकरण पनि जडान गरेपछि हामी सगरमाथा क्षेत्रमा हरेक मिनेटको मौसमसम्बन्धी जानकारी दिन सक्ने अवस्थामा हुन्छौँ,” विभाग प्रमुख अर्यालले भने ।

यस्ता उपकरणहरूबाट प्राप्त हुने विवरणहरू विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका विद्यार्थीहरूले अध्ययनका लागि पनि प्रयोग गरिरहेका छन् । तर मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पौडेलले पनि उचाइमा राखिएका उपकरणहरूले मौसम पूर्वानुमान सहज र भरपर्दो बनाउने बताए । “उच्च भूभागमा हाम्रो स्टेशन कम छ किनभने यस्तो उपकरणबाट हाम्रो डेटा सञ्जालमा जोडेर रीयल टाइममा हेर्न पाएको खण्डमा के कस्तो भइरहेको छ भन्ने हेर्न र हिमाल आरोहण गर्नेहरूका लागि पनि उपयोगी हुन सक्छ,” उनले भने ।

समन्वयको अभाव

नेपालका विभिन्न उचाइमा राखिने मौसम उपकरण जडानमा समन्वयको अभाव हुने गरेको गुनासो मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूको छ । “कतिपय उपकरण कसले राख्यो कुन संस्थाबाट र के प्रयोजनका लागि राखियो कुनकुन प्यारामिटर मापन गर्नेगरी राखिएको छ र हिउँ मात्रै छ कि तापक्रम मात्रै छ कि के-के देखाउँछ त्यसले भन्ने कुरा हामीलाई पनि जानकारी हुँदैन,” उनले भने ।

“नेपालमा विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूले आफ्नै अध्ययन प्रयोजनका लागि उस्तै किसिमका उपकरण राख्छन् तर समन्वय गर्ने र विवरण साझा गर्ने हो भने हामीलाई अझै सहज हुन्छ,” पौडेल भन्छन् । उचाइमा राखिएका कतिपय उपकरणहरू परियोजना सकिएसँगै अलपत्र हुने गरेका छन् ।

सम्बन्धित समाचार