शुक्रबार , अषोज १४, २०७९

कहिलेकाहीँ तपाईंलाई लाग्दैन झोला बोकेर कतै फुत्त निस्किदिम् ?

image

कसैले भनेको छ जीवन एक सुन्दर प्राकृतिक अवसर हो । जीवन एक यात्रा हो । कहिलेकाहीँ तपाईंहरूलाई लाग्दैन यो सबै छोडेर कतै गएर आनन्दले बस्दिम् । जहाँ आफूमा आफू मात्र भएर बाँच्न पाइयोस् । आफूलाई मन परेको, मन लागेको सबथोक गर्न पाइयोस् । प्रकृति सँग डाँको छाडेर रुन पाइयोस्, प्रकृति सँगै दिल खोलेर हाँस्न पाइयोस् ।

यो बाधा, अड्चन यो काम न काजको ब्यस्त जीवनबाट फुत्त निस्किएर कतै आनन्दले सास फेर्न पाइयोस् । आकाशलाई शिरानी बनाएर प्रकृतिलाई अंगालो मारेर रातभर मस्त निदाउन पाइयोस् । ओहो ! यसरी सोच्दै गर्दा रोमाञ्चित भएको मन बोकेर कहिले तपाईंले झोला बोकेर हिँड्नु भएको छ ? छ भने आफ्नो अनुभव मलाई बताउनु होला है म पनि तपाईंलाई आफ्नो अनुभव सुनाउनेछु ।

यात्रा गर्दा महिनौं अगाडि सल्लाह गरेर बनाएको योजना भन्दा क्षणभरैमै भएका योजना सफल हुँदा रहेछन् । त्यस्तै योजना हामीले पनि बनायौँ र हामी हिँडिहाल्यौँ । एक शनिबारको बिहान काठमाडौं बिहानीपखको शितमा मस्त भिजेर निदाई रहको थियो तर हाम्रो टोलीले उक्त शितले मुख धोइसकेको थियो । हामीलाई काठमाडौं नउठ्दै कतै माथि पुग्नु थियो र हेर्नु थियो मस्त निदाई रहेकी काठमाडौंलाई ।

भक्तपुरबाट चक्रपथ सम्म पुग्ने बसमा चढ्दा मन भारी थियो मनमा एउटा डर थियो कतै आजको यात्रा बाट मैले आफूमा कुनै परिवर्तन पाइनँ भने ? मलाई प्राय: यात्रामा एक्लै हिँड्न मन पर्छ । एक्लै प्रकृतिको आन्नद लिन मन पर्छ यो स्वभावले म सँगै हिँडिरहेका साथीहरूलाई कुनै अप्ठ्यारो पर्यो भने ? यो सोच्दा-सोच्दै म चक्रपथ पुगिसकेकी थिएँ । जहाँ मलाई तीन साथीहरू पर्खिरहेका थिए । उनीहरूको उत्साहित अनुहारले ममा पनि उर्जा भर्न थाल्यो र हामीले एकअर्काको हात समात्दै बुढानिलकण्ठ नागी गुम्बा जाने योजना तयार पार्यौँ ।

शिवपुरीको सम्पूर्ण डाँडा उपोष्ण तथा शीतोष्ण क्षेत्रमा पर्दछ । काठमाडौँ शहरबाट नजिक रहेको यो निकुन्ज पूर्वमा चिसापानी देखि पश्चिममा ककनीसम्म फैलिएको छ । सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने वि.सं. २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्ग कि.मि. क्षेत्रफल समेटेर १५९ वर्ग कि.मि. क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनाइएको छ । यहाँको हावापानी, भू–बनोट, माटो तथा जैविक तत्वहरूले गर्दा प्राकृतिक वनको संरचनामा विभिन्नता ल्याएको पनि देखिन्छ ।

निकुञ्जको वनजङ्गल पूर्णरूपमा संरक्षण गरिएकोले यहाँ ३१८ किसिमका चरा, १०२ किसिमका पुतली र १२९ किसिमका च्याउ पाइन्छन् । साथै यो निकुञ्जमा दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लंगुर लगायत विभिन्न जङ्गली जनावरहरूको आश्रयस्थल हुन पुगेको छ । यीलगायत यस निकुञ्जमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन् । बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन् ।

बुढानिलकण्ठबाट लगभग बीस मिनेट हिँडेपछि हामी निकुञ्जको मुख्य प्रवेशद्वारमा पुग्यौँ । त्यहाँ टिकट काटेपछि सजिलै भित्र छिर्न सकिन्छ । हामी पनि छिर्यौँ । त्यहाँ भित्र छिर्दा एउटा छुट्टै आन्नद मिल्छ । एउटा छुट्टै शान्ती, उर्जा मिलेको अनुभव हुन्छ । त्यसपछि हामीले उक्त गुम्बा जाने रुट हेर्दै अघि बढ्यौँ । जङ्गलको बीचमा ठिक्कको रोड छ । जसमा मज्जाले हिँड्न सकिन्छ । रूखमा बसेर चराहरूले गीत गाइरहेका छन् कि जस्तो लाग्छ ।

सानो-सानो खोल्सामा बगेको पानीले उक्त गीतमा संगीत भरिरहेँ झैँ लाग्छ । आँखा चिम्लिएर मस्त ति आवाजहरूमा आफूलाई कतै बिसाई दिऊ झैँ लाग्छ । बीचबीचमा साथीहरूले कविता गजल पनि सुनाई रहेका थिएँ । त्यो बेला यस्तो लाग्थो जङ्गलमा रहेका फूलहरू हामीलाई हेर्दै, हामीलाई सुन्दै हामी तिर नै फर्किएर मुस्कुराई रहेका छन् । रूखहरूको छहारी हामीले विश्राम गर्ने क्षणको प्रतीक्षामा छ ।  यसरी हामी हिँडेको पत्तै नपाई दुई घन्टा हिँडेर नागी गुम्बा पुग्छौँ ।

नागी गुम्बा काठमाडौँ बाट नजीक रहेको राम्रो र छोटो हाइकिङ रुट हो । उक्त गुम्बाको स्थापना २०४७ सालमा भएको रहेछ । जहाँ पुग्दा लाग्छ खुल्ला आकाशको छानो मुनि हामीले आफूलाई छोडि दिन पाएका छौँ । आकाश हाम्रो गतिविधि नियाल्न आतुर छ । विद्यार्थी भिक्षुहरू र उनीहरूका शिक्षकहरू हाजिरीजवाफ कार्यक्रममा व्यस्त रहेछन् ।  बाहिरैबाट हेर्दा आकर्षक देखिने उक्त गुम्बा भित्र थुप्रै मूर्तिहरू थिए । जसलाई सुन्दर तरीकाले सजाइएको थियो भने त्यहाँको वातावरण पनि सफा थियो ।

त्यहाँ नजीक एउटा सानो क्यान्टीन पनि थियो जहाँ चिया, बिस्कुट, चाउचाउ आदि सामान्य नास्ता पनि पाइँदो रहेछ । तर हामीले आफैँले सामान्य खानेकुरा लगेको भएर एउटा रूखको शितल छहारी मुनि बसेर ति खानेकुराहरू खायौँ । एकैछिनको गफगाफ र विश्राम पछि हामी त्यहाँ बाट फर्कियौँ ।

सम्बन्धित समाचार