काठमाडौं । आमनिर्वाचनको प्रारम्भिक नतिजाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको तस्बिर कस्तो बन्ला भन्ने सङ्केत कतिपयले दिइसकेको बताइरहेका छन् ।
यसअघिको संसद्मा उपस्थितिको हिसाबले प्रमुख दल मानिएकामध्ये कतिपय दलहरूले यो निर्वाचनमा उल्लेख्य मात्रामा मत गुमाउने सङ्केत त्यसले देखाएको उनीहरूको बुझाइ छ ।
प्रमुख दलका नेताहरूले पनि त्यसलाई अस्वीकार गरेनन्, तर त्यसको विस्तृत समीक्षा गर्न बाँकी नै रहेको उनीहरूको भनाइ छ ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएपछि आपसी तालमेल गरेर चुनावमा गएको सत्ता गठबन्धन कायम रहन्छ कि रहँदैन भन्नेमा पनि धेरैको चासो छ ।
सत्ता गठबन्धनका दलमध्ये नेपाली कांग्रेसका नेताहरूले यो गठबन्धन कायम रहने र बहुमत पनि पुग्ने दाबी गरिरहेका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका नेताहरू त्यसबारे खुल्न चाहेका छैनन् ।
प्रतिपक्षी नेकपा एमालेका एकजना नेताले चाहिँ अन्तिम नतिजापछि आफ्नो नेतृत्वमा सरकार बन्ने र वामपन्थी दलहरूको गठबन्धन हुनसक्ने बताए ।
नेपाली कांग्रेस के भन्छ ?
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सत्ता गठबन्धनका दलको मत केही घटे पनि बहुमत आउने दाबी गर्छन् ।
उनले भने, “हाम्रो गठबन्धनको बहुमत आउँछ र यो गठबन्धन पनि जारी रहन्छ भन्ने लाग्छ ।”
यद्यपि विपक्षीसँग मत अन्तर फराकिलो हुने अपेक्षा गरेकोमा त्यस्तो नहुने जस्तो देखिएको उनको बुझाइ छ ।
गठबन्धनमा रहेको माओवादी केन्द्रका कतिपय नेता-कार्यकर्ताले यो निर्वाचनमा कांग्रेस “इमानदार” नबनेको भन्ने प्रश्न पनि उठाएको बुझिएको । तर महतले त्यस्तो नभएको दाबी गर ।
उनले भने, “हामी संस्थागत रूपमा इमानदार भएका हौँ । खासगरी सहरी र युवा मतदाताले समग्र स्थापित दलहरूले अझै कामको रफ्तार बढाउनु पर्छ र त्यसमा गति दिनुपर्छ भन्ने म्यान्डेट स्वतन्त्र पार्टीमार्फत् दिए । यद्यपि स्वतन्त्र पार्टीमाथिको विश्वासले त्यो मत गएको होइन ।”
“मतदातामाथि हाम्रो नियन्त्रण हुँदैन । उनीहरूले प्रतिक्रिया हामीमाथि पनि देखाए। समानुपातिकमा कांग्रेसलाई पनि भोट दिएका छैनन् ।”
उनले माओवादीको सहरी क्षेत्रमा मताधार कम भएको र युवापुस्ता परम्परागत दलप्रति सकारात्मक नभएकाले अहिलेको अवस्था देखापरेको दाबी गरे ।
‘गठबन्धनको बहुमत आएन भने कांग्रेसले स्वतन्त्र वा जनमत पार्टीसँग गठबन्धन गर्छ ?’ भन्ने प्रश्नमा उनले “अन्तिम नतिजा आएपछको परिस्थिति हेरेर” त्यसबारे भन्न सकिने बताए ।
माओवादी र समाजवादीका नेता के भन्छन् ?
नेकपा समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले चाहिँ चुनावको प्रारम्भिक नतिजा गठबन्धनलाई नै “आश्चर्यचकित पार्ने खालको” भएको बताए ।
उनले चुनावअघि गरिएको आफूहरूको आकलन नमिलेको स्वीकारे ।
खनालले पनि आफूहरू अझै गठबन्धनको बहुमत आउनेमा आशावादी रहेको बताएका छन् ।
झापास्थित हाम्रा संवाददाता उमाकान्त खनालसँग बुधवार साँझ कुराकानी गर्दै उनले “संसद्मा कुनै पनि पार्टीले बहुमत नल्याउने” बताए ।
खनालले भने, “… तर गठबन्धनको सरकार बन्नु अनिवार्य छ । हाम्रो गठबन्धनले बहुमत ल्याउँछ भन्ने आशा छ । त्यसपछि त गठबन्धनकै सरकार बनिहाल्छ नि !”
आफ्नो निर्वाचन क्षेत्रको मतगणनामा प्रतिद्वन्द्वीभन्दा पछाडि रहेका उनले निर्वाचन आयोगको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले चाहिँ सबै मत परिणाम आएपछि मात्र गठबन्धन कायम रहन्छ कि रहदैन भन्न सकिने बताए ।
बीबीसीसँग उनले भने, “चुनावको सम्पूर्ण परिणाम आएको छैन । अहिले नै सबै कुरा भन्न सकिन्न ।”
“प्रारम्भिक नतिजामा अलिकति कम आयो यत्तिकैमा भन्न सकिन्न । सबै नतिजा आएपछि समीक्षा हुन्छ, त्यसपछि मात्र भन्न सकिन्छ ।”
एमाले नेताको भनाइ
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीले राखेको लक्ष्यअनुसार सिट नआउने देखिएको बताए ।
यद्यपि आफ्नो दल नेपाली कांग्रेसभन्दा पनि ठूलो पार्टी बन्ने उनको दाबी छ ।
“हामीले उनीहरूको भन्दा बढी क्षेत्रमा उम्मेदवार उठाएका छौँ अनि समानुपातिकमा पनि हाम्रो मत बढी आउने देखियो त्यसले गर्दा हामी ठूलो पार्टी बन्छौँ,” उनले भने ।
उनले आफ्नो दल ठूलो बन्ने भएकाले एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।
त्यसमा एमालेसँग चुनावी तालमेल गरेका जसपा र राप्रपासँग एवं माओवादी र समाजवादीसँग पनि गठबन्धन हुनसक्ने बताए ।
उनका दाबीमा मतदाताले कांग्रेस र एमालेको कार्यशैलीप्रति पनि असहमति जनाएको तर माओवादी र समाजवादीलाई चाहिँ अस्वीकृत गरेको देखिएको छ ।
उनले एमालेभित्रै पनि “यथास्थितिवादी” शक्तिलाई जनताले मन नपराएको बताए ।
गुरुङले भने, “जनताले मध्यमार्गी धारलाई मन पराएकाले एमालेको समानुपातिक मत धेरै आउँदा पनि कतिपय हाम्रो पार्टीभित्रकै यथास्थितिमा रहन चाहनेलाई मन नपराएको देखियो ।”
यद्यपि उनले त्यस्तो प्रवृत्तिको नतृत्व गर्ने नेताहरू को हुन् भन्ने खुलाउन चाहेनन् । बीबीसी