शुक्रबार , मंग्सिर २३, २०७९

बलिउड चलचित्र ‘उचाइ’ले नेपालको पर्यटन प्रवर्द्धन गर्ने विश्वास

चलचित्रको छायांकन नेपालको स्वयम्भु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङ आदि ठाउँमा करिब एक महिना लगाएर गरिएको थियो।

image

काठमाडौं । नेपालका विभिन्न मनमोहक स्थानमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । विभिन्न पर्यटकीय स्थानमा छायांकन गरिएको चलचित्रले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

बलिउड कलाकार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसन आदिको अभिनय रहेको चलचित्रमा नेपालकै पात्रलाई मूल कथा बनाइएको छ । चलचित्रमा करिब दुई सय भारतीय प्राविधिक र कलाकारहरूका साथमा नेपाली प्राविधिक तथा कलाकारले पनि काम गर्ने मौका पाएका थिए ।

स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनले निर्माण गरेको चलचित्रमा सुरज बडजात्याको निर्देशन रहेको छ । चलचित्रको छायांकन नेपालको स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङ आदि ठाउँमा करिब एक महिना लगाएर गरिएको थियो। नेपालको व्यवस्थापनको जिम्मा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले लिएका थिए।

छायांकन टोलीमा भारतका एक सय ५५ जना सदस्य र नेपालका (कलाकार बाहेक) ३० देखि ३५ जना प्राविधिकले काम गरेका थिए । जसकालागि चौबिसै घण्टा ६० भन्दा बढी गाडीको प्रयोग गरिन्थ्यो । लाइन प्रोड्युसर आचार्यले छायांकनको समयमा करिब तीन सयको हाराहारीमा हेलिकोप्टर उडान गरिएको जनाएका छन् ।

चलचित्र उचाइको छायांकन भएपछि थप सिरिज तथा चलचित्र नेपालमा छायांकन गरिएका छन् । सरकारले वातावरण सहज बनाए नेपालमा थप चलचित्रहरूको छायांकन हुने विश्वास प्रोडक्सन कोर्डिनेटर रेग्मीले राखेका छन्  ।

चलचित्रमा कलाकार डेनी डेन्जोङ्पा सोलुखुम्बुवासीको भूमिकामा छन् । उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल भ्रमण गराउने प्रयास गर्छन् तर  सफल हुँदैनन् । डेन्जोङ्पाको निधनपश्चात् उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन नेपाल आउने कथा चलचित्रमा प्रस्तुत गरिएको छ । नेपाली गाइडको भूमिका निभाएकी परिणिती चोपडाले उनीहरूलाई नेपाल भ्रमण गराउँछिन् ।

Tags:

सम्बन्धित समाचार