काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को छैटौँ संस्करण आज (बिहीबार)बाट आयोजना हुँदैछ । बुधवार भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा राखिएको पत्रकार भेटघाट कार्यक्रममा आयोजक नेपाल फिल्म एण्ड कल्चर एकेडेमीले महोत्सवको तयारी पुरा भएको जनाएको छ ।
‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा सहित महोत्सव कार्यक्रम चैत्र २ गतेबाट ६ गतेसम्म सञ्चालन हुनेछ । ‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट हुने कार्यक्रम रहेको छ भने, समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताएका छन् ।
आयोजकका अनुसार ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको छ । महोत्सवमा सहभागी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित ५ वटा अत्याधुनिक सिनेमा घरमा हुनेछन् । संसारभरिका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कला अनुरागी कोही पनि वञ्चित हुनहुन्न भनेर आयोजकले चलचित्र प्रदर्शन ४ हलमा मिलाएको हो ।
निफको ‘ओपनिङ फिल्म’ को रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । साथै तोकिएका क्यूएफएक्सका सिनेमा घरमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिनेछ । यसपटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको विधा समावेश छन् ।
कार्यक्रममा निफका प्रमुख सल्लाकार, कलाकार तथा निर्देशक नीर शाहले महोत्सवमा एकै ठाउँबाट संसार घुम्न र बुझ्न सकिने भन्दै महोत्सवको लाभ फिल्मकर्मी तथा सर्वसाधारणले उठाउनुपर्ने बताएका छन् ।