शुक्रबार , मंग्सिर १५, २०८०

टान निर्वाचन: अध्यक्षका प्रत्याशी बास्तोला भन्छन्, ‘मलाई आम पर्यटन व्यवसायीको साथ छ, चुनाव जीत्ने छु’

image

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नीलहरी बास्तोलाले आम पर्वतीय पर्यटन व्यवसायीहरूले आफूलाई टानको नेतृत्वमा पुर्‍याउने बताएका छन् ।

करिब तीन दशकदेखि पर्वतीय पर्यटन क्षेत्रमा संलग्न रहँदै आएका टानको उपाध्यक्ष समेत भएर काम गरिसकेका व्यवसायी बास्तोलाले आफूले टानभित्रका थुप्रै समस्याहरू पहिचान गरेको र तिनको समाधानका उपायहरू पनि आफूसँग रहेको बताउँदै आम पर्वतीय पर्यटन व्यवसायीहरूले आफू र आफ्नो प्यानललाई टानको नेतृत्वमा पुर्‍याउने दाबी गरेका छन् ।

‘मैले पर्वतीय पर्यटन क्षेत्रमा लामो समय काम गरेको छु । यस क्षेत्रका सबैभन्दा ठुलो सङ्गठन टानमा सदस्य र उपाध्यक्ष भएर पनि काम गरेको छु । सङ्गठनमा बसेर काम गर्दैगर्दा मैले थुप्रै अनुभव लिएको छु । टानको चुनौती र अवसरको बारेमा पनि जानकार छु । त्यसैले मलाई लाग्छ, व्यवसायी साथीहरूले मलाई नै जिम्मेवारी दिनुहुनेछ ।’ बास्तोलाले हिमाल दर्पण सँग भने ।

बास्तोलाले सरकारले पर्यटन व्यवसायमैत्री ऐन नबनाएको र तिनलाई संशोधन गराउन आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन सरकारी निकायबाट नै महत्त्वपूर्ण कदम चाल्नुपर्ने बास्तोलाको भनाई छ । निजी क्षेत्रलाई थप जिम्मेवार बनाउने र सरकारी निकायलाई पनि जिम्मेवार र पर्यटनमैत्री ऐन बनाउन आफ्नो नेतृत्वमा पहल गर्ने उनले बताए ।

बास्तोलाले टान विशुद्ध पर्वतीय पर्यटन व्यवसायीहरूको हकहितमा काम गर्ने साझा संस्था भएकाले आफ्नो पक्षमा कुन पार्टी र कसले साथ दिएको भन्ने विषयमा सार्वजनिक गर्न नचाहेको बताए । यद्यपि बास्तोलाले नेपाली कांग्रेस, नेकपा एमालेका ४० प्रतिशत भन्दा बढीको समर्थन पाएका छन् । यसबाहेक विभिन्न पर्यटन सम्बद्ध सङ्घ-संस्थाहरूकाे पनि साथ पाएको बास्तोलाले बताएका छन् ।

बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सह-कोषाध्यक्षमा छिङ दोर्शी शेर्पा रहेका छन् ।

यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।

टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् । व्यवसायी बास्तोलाले हिमाली जिल्लामा पर्ने १५३ वटा गाउँपालिकासँग समन्वय गरेर पर्यटन प्रवर्द्धनका काम गरिने बताए । उनले पर्वतीय पर्यटनको विभिन्न भोगाई बाट आएकाले व्यवसायी मजदुरको आवाजलाई कार्यान्वयन गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए । करिब ४० देशबाट नेपालमा विदेशी नागरिक भित्रिने गरेकाले ती मुलुकमा समन्वय गरेर बढिभन्दा बढी विदेशी पर्यटक भित्र्याउने योजना पनि टान नेतृत्वमा गएपछि गरिने बताए ।

टानको यस पटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । बास्तोलाको बलियो प्रतिस्पर्धीको रूपमा रामप्रसाद सापकोटा (कमल)ले उम्मेदवारी दिएका छन् । आफ्नो प्यानललाई नेकपा माओवादी, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी लगायत पर्यटन र गैर पर्यटन क्षेत्रका समेत थुप्रै सङ्घ संस्थाहरूको साथ रहेको सापकोटाले बताएका छन् ।

सापकोटाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टानका वर्तमान महासचिव सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोख्रेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), सचिवमा हरि कडरिया, कोषाध्यक्षमा प्रमीला देवकोटा, सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सदस्यहरूमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा, रामचन्द्र लामिछाने, होम बहादुर विश्वकर्मा, कृष्ण बहादुर परियार, शरण अधिकारी रहेका छन् ।

पर्यटन व्यवसायी बोधराज भण्डारीले टानको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भिडियो

सम्बन्धित समाचार