बिहिबार , मंग्सिर २१, २०८०

ओझेलमा नेपालकै अग्लो झरना

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ती प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पचाल झरना हालसम्म पर्यटकीय गन्तव्यको रूपमा विकास हुन सकेकाे छैन ।

image

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हिमाल, पहाड तराइ र तिनमा बनेका डाँडा, पाखा-पखेरा, उपत्यका, खोला, नदीनाला, गुफा, झरनाहरू नेपालका गहना हुन् । यहाँ थुप्रै सुन्दर प्राकृतिक सम्पदाहरू छन् । प्राकृतिक सम्पदा नेपालका अमूल्य निधि हुन्  । प्रकृतिका अनुपम उपहार हुन् ।  कतिपय सम्पदाहरू चर्चामा छन् भने कतिपय गुमनाम छन् । ती सम्पदाहरू पहिचानको खोजीमा छन् । हामीले तिनलाई पहिचान गरेर पर्यटनसँग जोड्न जरुरी छ ।

नेपालमा थुप्रै झरनाहरू छन् । यहाँका हिमाल र पहाडमा हजारौँ सुन्दर झरनाहरू छन् । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचाल झरना नेपालकै अग्लो झरना हो । यो झरना ३८१ मिटर अग्लो छ । यो झरना पचाल झरना गाउँपालिकामा अवस्थित छ । यही झरनाकै नामबाट गाउँपालिकाको नामकरण भएको हो ।

पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको हो । जङ्गलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक भए पनि पर्यटकीय विकास नहुँदा ओझेलमा परेको हो । घना जङ्गलको बीचमा पर्ने पचाल झरना कर्णाली अञ्चलको चर्चित धार्मिक स्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ती प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पचाल झरना हालसम्म पर्यटकीय गन्तव्यको रूपमा विकास हुन सकेकाे छैन । अग्ला-अग्ला पहाडी हिमश्रृङ्खलाहरूको फेदमा कर्णाली नदीको दक्षिणतर्फ साबिकका बदालकोट गाविस र राम्नाकोट गाविसको बीचमा पर्ने ऐतिहासिक पचाल झर्नाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार तथा यसको उचाइ प्रमाणीकरण हुन नसक्नुलाई विडम्बना नै मान्नु पर्दछ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरू

सुरुमा यो झरनालाई छहराको रूपमा स्थानीय चिन्दथे भने यो झरनाभित्र भूतहरूको बास स्थान भएकोले यहाँका स्थानीय यसलाई पहिले-पहिले भुतिनी छहराको रूपमा नामकरण गर्ने गर्दथे । जुन समयमा स्थानीयले यो झरनालाई भूतहरूको बास स्थान भएको विश्वास गर्ने गर्दथे । त्यो समयमा त्यहाँका स्थानीयलाई यो झरना पनि एक प्राकृतिक सम्पदाको रूपमा स्थापित हुन्छ भन्ने थाहा नै थिएन ।

प्राकृतिक सौन्दर्य

जङ्गलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक देखिन्छ । पचाल झर्नाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौन्दर्यतताले भरिपूर्ण यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । खास गरी झरना, हिमाल, कडा चट्टानी पहाड लेकाली मैदान फाट, लेकभरी हिमाली जडीबुटी वन्यजन्तु यहाँका मुख्य पहिचान रहेका छन् ।

यो ऐतिहासिक झरनाको संरक्षण, विकास र प्रवर्द्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरूको लागि मुख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ ।

पचाल झरना नेपालको सबै भन्दा अग्लो पचाल झरनामा स्थानीय सरकारको गठन पछि आन्तरिक पर्यटकहरू आउन थालेको जानकारीमा छ । बाटोका विकासका साथै झरनाको बेस क्याम्पमा होमस्टेको तयारी हुँदै गरेकोले पर्यटकीय सम्भावना बलियो छ ।

यस अघि नेपालको सबैभन्दा अग्लो झरना तेह्रथुमको हृयातुङ झरना मानिन्थ्यो । जसको उचाइ ३६५ मिटर छ । तर नाप लिएपछि पचाल झरना सबैभन्दा अग्लो झरना मानिएको हो । तर भौगोलिक विकटता र पर्याप्त प्रचार प्रसार नहुँदा यो झरना ओझेलमा छ ।

झरनाको बनोट

पचाल झर्नाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौन्दर्यताले भरिपूर्ण यो झरना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानीयहरूका अनुसार यो झर्नाको बीचमा ठुला ठुला गुफाहरू पनि छन् र सशस्त्र द्वन्द्वको समयमा माओवादीहरूले यिनै गुफाहरूमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए । यहाँका स्थानीय विद्यालयहरूले शैक्षिक भ्रमणमा विद्यार्थीहरूलाई लिँदा यही झर्नाको अवलोकन गराउने गरेका छन् । झर्ना हिउँदको समयमा पानीको बहाव कम हुँदा र वर्षा यामको तीव्र पानीको बहावमा पनि शान्त रूपमा खसिरहेको छ ।

सम्बन्धित समाचार