शुक्रबार , अषोज १४, २०७९

स्रष्टा पदयात्राको ६२ औं पदयात्रा धादिङको खनियाबास

image

धादिङ । २०७३ मंसीर ३ गतेदेखि नियमित मासिक रूपमा महिनाको पहिलो शनिवार स्रष्टाहरूले पदयात्रा गर्दै आइरहेकोमा ६२ औं पदयात्रा खनियाबास गाउँपालिका वडा नं ३ कुह्री गाउँमा असोज १, २ र ३ गते आयोजना गरिएको छ । यो स्रष्टाहरूको पदयात्रा रहेकोले यसको नाम पनि ‘स्रष्टा पदयात्रा’ राखिएको छ ।

यात्रा गरिएको स्थानको बारेमा स्रष्टाहरुले आ आफ्नो विधामा लेख्न गर्दछन् । पदयात्री जय छाङछाले ‘उपत्यकाको डाँडापाखा’ र स्रष्टा पदयात्राले ‘डाँडापाखा हेर्ने रहर’ नामको नियात्रा कृति प्रकाशित गरि सकेको स्रष्टा पदयात्राका संयोजक शितल गिरीले बताए ।

रचना पत्रिकाको १७७ औं अंक ‘स्रष्टा पदयात्रा अंक’ रहेको छ । लेखकहरूको यात्रा रहेकोले प्रत्येक यात्राको बारेमा विभिन्न पत्रिकामा नियात्रा प्रकाशित भइरहेकै छन् । उपत्यका र सोको वरिपरि वाहेक पोकली झरना (ओखलढुंगा), इन्द्रावती, पनौती (काभ्रे), सिन्धुलीगढी, चिसापानी (सिन्धुपाल्चोक), ककनी (नुवाकोट), मौलाकालीका (नवलपरासी), बन्दीपुर (तनहुँ) लगायतका स्थानमा पदयात्रा सम्पन्न गरिसकेको छ ।

सामान्यतया पदयात्राका उद्देश्य निम्न अनुसारको रहेको छ—
१. पदयात्रा गर्ने स्थान र त्यहाँको बारेमा यथार्थ थाहा पाउन स्थानीयसँग सम्पर्क राखी जानकार व्यक्तिबाट सहयोग लिने गरेको छ ।
२. यात्रा गरिने स्थानको बारेमा सामान्य जानकारी अग्रीम संकलन गरि स्थान छनोट गर्ने गरेको छ ।
३. यात्रा गरेको स्थानको कला, संस्कृती, रितिरिवाज अध्ययनगरी सिर्जनामा स्थान दिदै आएको छ ।
४. आफुले यात्रा गरेको रुटको बारेमा व्यापक प्रचार प्रसार गरी स्थानिय पर्यटन बिकासमा सहयोग पुगाउँदै आएको छ ।
५. सकेसम्म पृथक कुरालाई ध्यान दिदै आएको छ ।

यिनै आधारमा ६२ औं स्रष्टा पदयात्रा गर्ने स्थान खनियाबासको कुह्री छानिएको स्रष्टा नवराज रिजालले बताए । यसको लागि खनियाबास गाउँपालिका वडा नं ३ का स्थायी बासिन्दा स्रष्टा गोपाल फ्युबा तामाङलाई यस पटकको स्थानीय व्यवस्थापन संयोजक तोकेका थियो । लाली गुराँस आमा समूहले स्रष्टाहरूलाई माला र सगुनद्वारा स्वागत गरेका थिए ।

स्वागत मन्तव्य राख्दै समूहका अध्यक्ष कान्छीमाया गुरुङले आन्तरिक तथा वाह्य पर्यटकलाई आफुहरू तयार रहेका बताइन् । त्यसको लागि सांस्कृतिक भवन आवश्यक रहेकाले स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताइन् । त्यस्तै वडा नं ३ का वडा अध्यक्ष कमानसिङ तामाङले सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्वका पर्याप्त स्थानहरु खनियाबास गाउँपालिकामा रहेकाले स्रष्टाहरुले ती स्थानको बारेमा खोज अनुसन्धान गरी यथार्थ जानकारी बाहिर ल्याउनुपर्ने बताए ।

स्रष्टाहरूको पदयात्रामा व्यस्तताले प्रत्यक्ष सहभागी हुन नपाए पनि यस प्रकारका कार्यक्रमले खनियाबासको प्रचारप्रसारमा सघाउ पुग्ने गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङको रहेको छ । लोक साहित्य र संस्कृति बुझ्न र सिक्न अनी अरूलाई जानकारी गराउँने गरेको स्रष्टा माधव श्रेष्ठले बताए ।

यस पदयात्रामा शीतल गिरी (स्रष्टा पदयात्रा संयोजक), मन्दिरा मधुश्री (गजलकार तथा आख्यानकार), बसन्त रिजाल (कवि), घनश्याम प्रसाइ, शारदा पराजुली (गजलकार तथा समालोचक), परशुराम पराशर, विमल अर्याल (कवि), प्रोल्लास सिन्धुलीय (कवि), सुमन पुडासैनी (गजलकार तथा कवि), नवराज रिजाल, माधवलाल श्रेष्ठ, निशा के.सी., राम कुमार पण्डित क्षत्री गरी १३ जना स्रष्टाहरुको सहभागीता रहेको थियो ।

पदयात्रामा सहभागी स्रष्टाहरुलाई ल्याक्चेकुण्ड आधारभूत विद्यालयले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रधानाध्यापक राज बहादुर तामाङले विद्यालयको इतिहास र अवस्था बताउनुका साथै कुह्री गाउँको महत्वपूर्ण जानकारी दिएका थिए । स्रष्टाहरूले विद्यालयको पुस्तकालय प्रयोजनको लागि पुस्तक तथा पत्रिकाहरु प्रदान गरेका थिए ।

Tags:

सम्बन्धित समाचार