काठमाडौं । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको छ ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरूपयोगको मुद्दामा २५ हजार रुपैयाँ जरिवानासहित साढे दुई वर्ष जेल सजायको फैसला सुनाएको हो ।
अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीकाअनुसार अदालतले बलात्कारको मुद्दामा भने अभिनेता शाहलाई सफाइ दिएको छ । त्यस्तै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।
नाबालिगले जबरजस्तीकरणीमा तनहुँ प्रहरीमा जाहेरी दिएपछि अभियुक्त शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्यरातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो ।
मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनुहुँले १० चैतमा र जिल्ला अदालत नवलपरासी (पूर्व)ले २३ चैतमा पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । त्यसविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । उच्च अदालत पोखराले शाहलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँ र नवलपरासी (पूर्व)को आदेशलाई सदर गरेको थियो ।
यसबीचमा पीडितले बयान फेरेकी थिइन् । उनले पीडकले जबरजस्तीकरणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन् । उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्साहटमा जाहेरी दिएको बयान दिएका थिए ।