बिहिबार , मंग्सिर १४, २०८०

आहा ! मनमाेहक पाँचपाेखरी 

पाँच-पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ मा पर्ने यो क्षेत्र हिन्दु र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल पनि हो ।

image

अग्लो पहाडमाथि लमतन्न परेको भूभागमा पाँच वटा पोखरीहरू, वरिपरि अग्ला होचा थुम्काहरू, जहाँबाट नियाल्दा एकातिर तँछाडमछाड गर्दै उभिरहेका पहाडका चुचुराहरू त अर्कोतिर दन्ते लहर जस्तै सेताम्मे हिमशृङ्खला देख्न सकिन्छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच- पोखरी क्षेत्र र सोही क्षेत्रबाट देखिने दृश्य हो यो ।

पाँच-पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ मा पर्ने यो क्षेत्र हिन्दु र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल पनि हो । जहाँ प्रत्येक वर्ष जनै पूर्णिमाको बेला हजारौँ तीर्थयात्रीहरू पुग्ने गर्दछन् ।

पाँच-पोखरी क्षेत्रमा पाँच वटा पोखरीहरू रहेका छन् । ती पोखरीहरू हिन्दु देवीदउताहरूसँग जोडिएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने पाँच-पाखरी विश्वकै ९औँ स्थानमामा पर्ने अग्लो सिमसार क्षेत्र पनि हो । करिब ४१ सय मिटरको उचाइमा अवस्थित यी पोखरीहरू कहिल्यै सुक्दैनन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्रबाट जुगल हिमशृङ्खलालाई आँखै अगाडी अवलोकन गर्न सकिन्छ । विभिन्न प्रकारका बोट बिरुवा, वनस्पति, जडीबुटीको भण्डार पनि हो, पाँच-पोखरी । यो क्षेत्र पदयात्राकाे लागि पनि उचित गन्तव्य हो । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट यो क्षेत्रको पदयात्रा सुरु गर्न सकिन्छ ।

स्थानीय तामाङ र शेर्पा समुदायको विशिष्ट जीवनशैली, भाषा, भेषभुषा, संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । उनीहरूले पाहुनालाई गर्ने स्वागत, सत्कार मायाले यस क्षेत्रमा पुग्ने जो कोही पनि मोहित हुने गरेका छन् ।

सम्बन्धित समाचार