शुक्रबार , अषोज १४, २०७९

चुनावी संघारमा पार्टी प्रवेशको मेला

राजनैतिक संस्कार भुलेर फेरि एकपटक दलहरू चुनावी मैदानमा उत्रदैछन् ।

image

  • राजन भण्डारी

चीनियाँ राजनीतिज्ञ देङ छिओ पिङ भन्छन्, ‘पार्टीलाई अगाडी बढाऊन लाग्ने लाई पार्टीको कार्यकर्ता भनिन्छ। पार्टीबाट केही होस् भन्ने आशा बोकेर हिँड्नेलाई विकाश बिरोधी भनीन्छ । समकालीन राजनीतिलाई नियालेर हेर्दा नेपालमा राजनैतिक दलका कार्यकर्ताहरू धेरै छन् । तर, कुनै पार्टीले यो चाहिँ मेरो पार्टीको कार्यकर्ता भनेर फुइँ लगाउन सक्ने अवस्था भने छैन ।

आज एउटा पार्टीको कार्यकर्ता भोलि अर्कैको भैसक्छ । पार्टी र समग्र देशमा नै राजनैतिक परिवर्तन ल्याउन भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थपुर्तिको लागि पार्टी फेरि बस्ने कार्यकर्ताहरूले नेपाली राजनीति ब्याप्त छ । राजनीतिको यो चरम अवस्थाले भोलिको पुस्तामा कस्तो खाले सन्देश जान्छ त्यसको आँकलन राम्रै लगाउ सकिन्छ ।

पार्टी परिवर्तन गर्ने र गराउने खेल मुलतः चुनावी संघारमा हुने गर्छ । आदर्श बिना आफ्नो स्वार्थ पूरा गर्नकै लागि राजनीतिमा लागेका धेरै छन् । त्यस्तै व्यक्तिहरू आदर्शका कुरा गर्छन् र तिनै व्यक्ती आफ्नै आदर्श शब्दहरूको मलामी पनि जाने गर्छन् । आज कुनै एक दलको लागि मत माग्दै गरेको व्यक्ति अर्को दिन त्यो पार्टी गलत हो भनेर खोक्दै फेरि अर्कै पार्टीको लागि मत माग्न जान्छन् ।

यसो गर्न कुन नैतिकताले सकेका होलान् ? सायद नेपाली राजनैतिक पारिवेश नै यसरी विकास भयो कि जहाँ नैतिकताको कुनै सवाल नै नबनोस् । राष्ट्रिय राजनीतिमा दखल पुर्‍याउने व्यक्तिदेखी स्थानीय तहका कार्यकर्तासम्मा कुनै आदर्श र नैतिकता देखिदैन । बरु कुन पार्टीले आफ्नो व्यक्तिगत फाइदा गराउँछ भनेर अवसरको खोजीमा मान्छे हुन्छन् र आफू अनुकूल पार्टी परिवर्तन गरिहाल्छन् ।

अनुकूल सावित नभएको खण्डमा भुल गरेछु र आवेगको निर्णय भन्दै त्यही पुरानै पार्टीमा फर्केर आउने गर्छन् । उफ: पार्टी परिवर्तन गरिरहने यो कुनवादको आदर्श होला ? राजनैतिक दल सधैं एउटा सिद्धान्तमा अडिएको हुन्छ । त्यस दलभित्र रहने नेता तथा कार्यकर्ताहरू त्यही सिद्धान्तमा आस्थावान हुन्छन् । तर नेपाली राजनीतिमा भने काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भनेजस्तो पार्टीको आदर्श सिद्धान्त एकातिर हुन्छ र पार्टीका नेता कार्यकर्ताको काम अर्कातिर ।

नेपाली परिवेशमा राजनीति गर्नु भनेको नै सत्ता र शक्ति प्राप्त गर्नु बनेको छ । हुन त राजनीति गर्नुको स्वार्थ सत्ता प्राप्ती नै हो तर सत्ता प्राप्ती मात्र चाहिँ होइन । राजनीति समग्र राज्यको अवस्था परिवर्तन गर्न हो, राजनीति जनताको लागि हो । आजको दिन जनताले देखेको राजनीति भनेको फोहोरी खेल हो, कुर्सीको लुछातानी हो । हरेक राजनीति गर्ने मानिस भ्रष्टाचारी हुन्। भ्रष्टाचार बिना त राजनीति मानौँ सम्भव नै छैन । यस्तो सन्देश जनतामा पुग्नु भनेको सिङ्गो व्यवस्था नै असफलता तर्फको बिडम्बनामा पुग्नु हो ।

देशमा अस्थिरता आउनु हो, अराजकता बढ्नु हो । कानुनी राज्य स्थापना विषाक्त बन्नु हो । राजनीतिमा पैसावाला र बोलवालाको हालिमुहाली बढ्नु हो । यो विषयमा दशकौँ अघि नै सैद्धान्तिक, आदर्शी र दुरदर्शी नेता वि.पि कोइरालाले बताउनुभएको छ । “लोकतन्त्र आएपछी पार्टी भित्र सुकिलामुकिला र पैसावालाको हालिमुहाली चल्ने छ, त्यसको विरुद्ध फेरि एकपटक संघर्ष गर्नुपर्छ ।”

अहिले पार्टी परिवर्तन गरिरहने र नैतिकता भुल्नेहरू नै सुकिलामुकिला छन् र दलभित्र यिनकै हालीमुहाली भएको छ । लोकतान्त्रीकरण भएपछि हाम्रो समुदाय राजनैतिक रूपमा चेतनसिल हुँदै गयो, राजनैतिक अभिमुखिकरण गरिँदै गयो तर अभिमुखिकरण गराउनेले नै राजनैतिक संस्कारको स्थापना भने गर्न सकेनन् । हाम्रो राजनीति संस्काररहित हुँदै गएको छ । आजको आवश्यकता संस्कारसहितको राजनीति हो ।

राजनैतिक संस्कार भुलेर फेरि एकपटक दलहरू चुनावी मैदानमा उत्रदैछन् । दलहरू र दलका कार्यकर्ताहरू अहिले पुरानो पार्टी छोड्ने र नयाँमा प्रवेश गर्ने र गराउने होडमा छन् । एउटा दलले अर्को दलका कार्यकर्ताहरूबीच हिङ हाल्ने काम गरिरहेका छन् । यस्तो कार्यकर्ताको लुछातानीले नेपाली राजनीतिमा अराजकता र विकृति ल्याएको छ ।

पार्टी प्रवेशको मेलाले मात्र देशको मुहार फेर्न सकिँदैन । युवाहरू र आम दलिय कार्यकर्याहरूले परिवर्तन वि.पि., मदन, लेनिन, माक्स, लिंकन आदि वा कसले गर्छन् भन्नुभन्दा पनि परिवर्तनको अभियान आफैंले थाल्नुपर्छ । व्यक्तिगत स्वार्थ बोकेर राजनीति हुँदैन; राजनीतिले सामुहिक स्वार्थ बोक्न पर्छ । दलमा व्यक्तिगत फाइदा आशा गरेर भन्दा पनि दलिय व्यवस्था अघि बढाउन र सिङ्गो देशको राजनैतिक संस्कार बलियो गराउन पार्टी प्रवेश गरौं वा गराऊँ ।

सम्बन्धित समाचार