शुक्रबार , मंग्सिर १५, २०८०

साइनबोर्ड झुण्ड्याउन किला ठोक्दा पाथीभरा क्षेत्रका बोटबिरुवा नासिँदै

image

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटबिरुवा विज्ञापनका साइनबोर्ड राख्न प्रयोग भइरहेका छन् । विज्ञापन गर्ने उद्देश्यले ती बोटबिरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढिरहेको छ ।

पदमार्ग आसपासका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देख्न सकिन्छ । टिनका टुक्राटुक्रीमा विज्ञापनमूलक कुरा लेखेर धातुजन्य काँटीको प्रयोग गरी रुखमा झुण्ड्याउँदा बोटबिरुवा मासिने र प्राकृतिक सुन्दरता हराउने पाथीभरा क्षेत्रका होटल व्यवसायी बताउँछन् ।

धातुजन्य किला गाड्दा कतिपय बोटबिरुवा चाँडै मर्छन् भने कतिपय हुर्कनबाट वञ्चित हुने स्थानीय इन्द्रनारायण भट्टराईले सुनाए । संरक्षण गर्नुपर्ने गुराँसका बिरुवामा धातु वा टिनका किला गाडेर बोर्ड राख्नु गलत भएको उनी बताउँछन् । बोटबिरुवाका लागि धातुजन्य किला (काँटी) विष सरह हुन् । भट्टराईले भने “फलामका किला गाड्दा बोटबिरुवा छोटो समयमै मर्नुका साथै हुर्कन र फस्टाउन पाउँदैनन् ।”

यसरी बोटबिरुवामा विज्ञापनसहितका साना बोर्ड राख्ने क्रम बढ्दै गए पनि नियन्त्रण नहुनु दुःखद भएको पाथीभरा दर्शनका क्रममा आएका झापाका रमेश दाहालले बताए । सन्देशमूलक बोर्ड नै राखिए पनि काँटीको प्रयोगले बिरुवा मासिने र धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहरसमेत बढ्ने उनको भनाइ छ ।

प्राकृतिक सुन्दरतासमेत हराउने गरी यसरी भएका गलत काम रोक्न जरुरी भएको पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री बताउँछन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले भने पाथीभरा क्षेत्रमा काम गरिरहेका विभिन्न सङ्घसंस्थाले यसलाई रोक्न विगतदेखि नै प्रयास गरिरहेको बताउँछन् । साथै यसबारे पहल समेत भइरहेको उनी बताउँछन् ।

 

रासस

सम्बन्धित समाचार