मंगलबार , साउन ८, २०८१

कवि नदीश, व्यस्त बाटो र कुराकानी

image

साहित्यको रस चाखिसकेको जोकोही यसको पारखी बन्ने गर्छ  । या भनौँ यसको लत लाग्ने गर्छ  । यस्तै साहित्यको रसमा डुब्ने एक नाम हो ‘नदीश’  । पेशाले आइटी इन्जिनियर उनी साहित्यको पारखीमध्येको एक हुन् । त्यसैगरि समकालीन अवस्थाका लोकप्रिय कवि समेत हुन् । गुल्मीका कवि नदीश हाल अमेरिका बसोबास गरिरहेका छन् । स्वदेश फर्किदा उनी अचेल परिवारसँग कीर्तिपुर बस्ने गर्छन्  । उनको ‘हाँगामा झुन्डिएको आत्मकथा (२०७४)’ नामक कविता सङ्ग्रह प्रकाशित भइसकेको छ ।

यसपालि फागुन २ देखि चैत ४ सम्मको छोटो बिदामा आएका उनले साहित्यको लागि नै सम्पूर्ण समय खर्चिए । कहिले दिग्गज तथा समकालीन साहित्यानुरागीहरूलाई भेट्न कुदे भने कहिले साहित्यका कार्यक्रमहरूमा दौडिए । यसैबिच उनको आफ्नो एकल कविता वाचन कार्यक्रम समेत आयोजना भयो । सङ्गीतको साथमा कविता सुनाउने उक्त कार्यक्रम दमक, इटहरी र काठमाडौँमा आयोजना भएको थियो । दर्शक/श्रोताको राम्रो उपस्थिति रहेको उक्त कार्यक्रममध्ये काठमाडौँको कार्यक्रममा मैले पनि उपस्थिति जनाउन पाए । सोही क्रममा उनीसँग केही भलाकुसारी गर्ने मौका समेत जुर्‍यो ।

उनी कतै जान खोज्दै थिए, पूर्वनिर्धारित योजना अनुसार म पनि जोडिएँ । मण्डला नाटक घरबाट निस्किएपछि केही बेरको औपचारिक कुराकानीपछि मैले उनलाई उनको नाम ‘नदीश’को अर्थ सोधेँ । उनले भने नदीश भनेको ‘नदी प्लस ईश’ हो । यानिकी ‘नदीको ईश्वर’ यानी ‘सागर या समुद्र ।’

तुरुन्तै मैले अर्को प्रश्न सोधिहालेँ, ‘के भएर या के कारणले यस्तो नाम राख्न मन लाग्यो?’ प्रतिउत्तरमा उनले भने, ‘पहिला म कुनै साहित्यिक समूहमा आबद्ध थिएँ । प्लस टु पढ्दाको त्यो बेला मैले त्यसै राखेको नाम हो । छुट्टै नाम राखौँ भन्ने चाहनाले गर्दा पनि हो । पहिला अरूअरू नाम राखेको थिएँ, पछि ती नामहरू आफैँलाई मन परेनन् । तीन अक्षरको नाम राखौँ भन्ने साथीभाइबिच सल्लाह भएपछि केही समय खोजेर मैले यो नाम जुराएको हुँ ।‘

कार्यक्रम सकिएपछीको केही गाँइगुई सुनेकाले र मलाई पनि उत्सुकता लागेकाले उनलाई ‘तपाई सधैँ पहिला किन आफ्नो ‘निस्तो चिया’ कविता सुनाउनुहुन्छ?’ भनेर सोधेँ । श्रोताको मागले आफूले त्यसो गर्ने गरेको उनले प्रस्ट्याए । उनले भने ‘मलाई सुनाउने रहर थिएन । किनभने अरू बेग्लै किसिमका कविता थिए र ‘निस्तो चिया’ बेग्लै किसिमको कविता हो । अरू स्प्रीचुअल र प्रेमील कविताकाबिच यो राजनैतिक कविता केही साथीहरूले सुनाउनै पर्छ भनेकाले सुनाएको हुँ ।‘

कार्यक्रममा उनले अरू कविताका शीर्षक भनेका थिएनन्, जुन कुरा मेरो मनमा खट्किरहेको थियो । त्यसैले यो कुराको जरो बुझ्न खोज्दा उनले भने ‘कविता सुनाउँदै जाँदा शीर्षक भन्यो भने बिझ्छ जस्तो लाग्यो, म बगिरहेको थिएँ, बगिरहेको बेलामा बिचमा रोकिएर शीर्षक भन्न थाल्दा सङ्गीत र कविताको तालमेल बिग्रिन्छ जस्तो लागेर हो । किनभने मेरो एउटा कवितालाई अर्को कवितासँग सङ्गीतले जोडिरहेको थियो । दालमा ढुङ्गा लागे जस्तो नहोस् भनेर पनि हो । खास कुरा कविता हो, शीर्षक भनिनु नभनिनुले खास मान्य राख्दैन । अर्को कविता सुरु भयो भनेर परिवर्तित सङ्गीतले जनाइरहेको थियो ।‘

समय थोरै थियो, जान्न मन लागेको कुरा धेरै थियो । हामी हिँड्दै कुरा गरिरहेका थियौँ । गाडीको घ्वाइँय्य घुइय्यले बेला-बेला हामीलाई बाधा पुर्‍याइरहेको थियो । सोहीबिच कवितामा सङ्गीत राख्नुपर्छ भन्ने किन लाग्यो, कविता सङ्गीतको तालमा सुनाउँछु भन्ने कसरी आयो भन्ने मेरो उत्सुकता मेटाउँदै उनले भने ‘कवितामा सङ्गीत राखेर हामीले पहिला पनि प्रदर्शन गरेका हौँ, धेरै वर्ष अगाडी ब्याचलर पढ्ने समयमा गितारसँग हामी यस्तो प्रयोग गर्ने गर्थ्यौँ । सङ्गीतले मान्छेलाई छिट्टै आकर्षित गर्छ, एउटा बेग्लै संसारमा लैजान्छ । मेरो कविताको भावलाई अझ सुशोभित पार्न सङ्गीतले मदत गर्छ । तपाईँ बेग्ला-बेग्लै किसिमको कविता सुनाउँदै हुनुहुन्छ भने ती कविताका भावहरू बेग्लै हुन्छन् । कुनै पीडादायी भावका हुन्छन् भने कुनै प्रेमील हुनसक्छन्, यस्तो बेला एउटा कविताबाट अर्को कवितामा जोडिन सङ्गीतले पुलको काम गर्छ । कविता राम्रोसँग बग्न पाउँछ ।‘

विगत ७/८ वर्षदेखि परदेशमा बसोबास गरिरहेको बताउने कवि नदीश देशसँग कत्तिको जोडिन पाउनुहुन्छ, देशको स्थितिसँग कत्तिको नजिक हुनुहुन्छ भन्ने प्रश्नको उत्तरमा उनी भन्छन्, ‘मैले त्यही भएर देशको कविता, दिनदिनै भइरहेका आन्दोलनका कविता, वर्तमान अवस्थामा चलिरहेको मुद्दाका कविता लेख्न सकिरहेको छैन । म परदेशमा भएकै कारणले यी विषयमा कविता लेख्न कठिन हुन्छ । पछिल्लो समय हेर्ने हो मैले वातावरण, पर्यावरण, अस्तित्वसँग सम्बन्धित कविताहरू लेखिरहेको छु ।‘

मैले तुरुन्तै ‘निस्तो चिया’ कविता सम्झिएँ र यो राजनैतिक कविता कसरी र कहिले रचियो भनेर सोध्दा उनले उक्त कविता निकै पुरानो रहेको र देशमै रहँदा लेखेको बताए । सो कविता आफ्नो पहिलो कविता सङ्ग्रहमा समावेश रहेको पनि उनले बताए । त्यसमा भएको दृश्य सम्झँदै उनले भने ‘पुलचोकमा म पढ्ने बेलामा एक जना भाउजूको त्यहाँ चिया पसल थियो, हामी सधैँ जाने, चिया पिउने गर्थ्यौँ । आन्दोलनअघि र पछिको देशको अवस्था देखेको/भोगेको हुनाले, उक्त कुरासँग जोडिएको हुनाले उक्त कविता लेखेको हुँ ।‘

कुराकानीकै बिचमा मेरो मनमा उनले कविता नै किन लेखेको होला भन्ने जिज्ञासा पलायो र सोधिहालेँ । जसको पहिलो कारण छटपटी र सो छटपटीलाई शान्त बनाउने माध्यम भएको बताउँदै उनले भने, ‘मलाई आनन्द दिलाउने कुरा कविता थियो र पछि यसको बानी लागेको पनि हुनसक्छ । आफ्नो छटपटी, आफ्नो दिक्दारी, आफूलाई चित्त नबुझेको कुरा पोख्ने माध्यम कविता बन्यो । किनभने मेरा ती सारा कुरा कवितामा पोखिदा मलाई मजा आयो । किन लेखेँ भन्ने प्रश्नको त्यस्तो सटिक उत्तर भने छैन ।‘

उनको सङ्ग्रहको तयारी रहेको या नरहेको बुझ्न खोज्दा उनले भने, ‘सङ्ग्रहलाई धेरै कविता चाहिन्छ, फेरी धेरै कविता लेखेर मात्र पनि भएन आफूलाई राम्रो पनि लाग्नुपर्‍यो, अहिले सङ्ख्या पुगेको छ जस्तो लागेको छैन । त्यसकारण कहिले आउँछ पनि भन्न सक्दिनँ ।

अब आउँदो सङ्ग्रहमा के फरक ल्याउनुहुन्छ भनेर सोध्दा, उनले कविताको स्वाद फरक हुने बताए । साथै पहिलो सङ्ग्रहभन्दा अब आउने सङ्ग्रहमा फरक स्वाद रहने उनले दाबी गरे । आउँदो सङ्ग्रहमा एकदमै इमानदार हुने कोसिस रहेको र चलेका मुद्दाभन्दा आफूलाई महसुस भएको कुरा लेख्ने कोसिस गरेको उनले जनाए । ‘पर्यावरणसम्बन्धी कविता होलान्, आफूले भोगेका कुरा आउलान्, आफूलाई चित्त नबुझेका कुरा आउलान्, मेसिन जीवनका कुरा आउलान्’ भन्दै उनले अब आउने सङ्ग्रहमा हुनसक्ने कविताको प्रकार बताए ।

अन्त्यमा उनले आफू संलग्न नरहेको मुद्दामा आफूले सही गलत छुट्ट्याउन सके पनि, त्यसबारे आवाज उठाउन सके पनि कविता भने आफूले नभोगी गहिराइबाट आउन कठिन हुने बताए ।

निकै हतारमा रहेका उनको फोन पनि बजिरहेको थियो । त्यसैले उनलाई धेरै बेर रोक्न उचित नलागेर हामी बाटोबाटै बिदा भयौँ । 

  • सुरज पराजुली

सम्बन्धित समाचार