शुक्रबार , अषोज १४, २०७९

सजिलो थिएन प्रेमगीत- ३ को भारतसम्मको यात्रा

केही समयअघि उक्त चलचित्र छलफलका निम्ति अध्ययन तथा अनुसन्धान गर्ने संस्था मार्टिन चौतारीमा देखाइएको थियो । "प्रेमगीत-३ हिन्दी भाषामा पनि बनेर यति वृहत् रूपमा प्रदर्शनमा आउन लागेको पहिलो चलचित्र हो । तर यसलाई पहिलो नेपाल-भारतको संयुक्त योजना भन्न मिल्दैन," उनले भने ।

image

लकडाउनले देश ठप्प हुँदा तपाईँले के गर्नु भयो ? सन्तोष सेनले टन्नै चलचित्र हेरे । दिनभर भारतीय टीभी च्यानलहरूमा प्रसारण हुने दक्षिण भारतीय प्रेमकथाहरू उनको समय कटाउने मेसो बने । त्यतिबेला उनी आफैले केही करोड लगानी गरेर खिचिसकेको चलचित्र प्रेमगीत-३ भने हार्ड ड्राइभमा थन्क्याएर बस्न बाध्य थिए ।

उक्त चलचित्रको छायाङ्कन सकिएलगत्तै सह-निर्देशक छेतेन गुरुङको निधन भयो । त्यसपछि निर्माणसँगै निर्देशकीय जिम्मेवारी सबै सेनले नै उठाए । त्यसपछि उनले व्यावसायिक पाटो सँगसँगै कथावस्तु, प्रस्तुति अनि प्राविधिक पक्षको पनि ध्यान दिनुपर्ने भयो ।

प्रेमगीत -३ को सम्पादकीय पाटो बाँकी रहेकाले उनी अरू चलचित्र निकै रचनात्मक र आलोचनात्मक दृष्टिकोणबाट हेर्थे । त्यसो गर्दा चलेका भारतीय च्यानलहरूमार्फत् देखाइने केही चलचित्रहरूको कथावस्तु आफूलाई निकै सतही लागेको उनी सुनाउँछन् ।

मनमा जिज्ञासा जन्मिन्थ्यो, “केही चलचित्रमा न कथा हुन्थ्यो न अभिनय । तर, पटक-पटक दोहोर्‍याएर देखाइन्थ्यो । हेर्दै गर्दा एक दिन मेरो मनमा प्रश्न उठ्यो- यीभन्दा स्तरीय नेपाली चलचित्रहरूले चाहिँ किन ठाउँ नपाएका होलान् ?”

“भारतमा हजारौँ नेपाली बस्छन् । हजारौँ भारतीयले नेपाली भाषा बुझ्छन् तर नेपाली फिल्म चाहिँ किन त्यहाँका च्यानलमा प्रसारण हुँदैनन् ?” जवाफ खोज्ने सेनको हुटहुटीलाई महामारी र सङ्क्रमणको त्रासले रोकेन । उनलाई आफ्नो निर्माणाधीन चलचित्र प्रेमगीत-३ माथि विश्वास थियो । सके स्याटलाइट अधिकार बेच्छु, नसके नि:शुल्क भए पनि भारतीय च्यानलमा प्रसारण हुने माहौल बनाउँछु भन्ने दृढताका साथ उनी मुम्बई हान्निए ।

भारतीयलाई रिझाउने  मिनेटको दृष्य

बितेको कुनै युगको काल्पनिक परिवेश र कथा । फिल्मको सारांश समेटिएको २६ मिनेट लामो दृष्यभित्र पृष्ठभूमिमा सेताम्मे हिम शृङ्खलाहरू, भौगोलिक विकटता र प्राकृतिक सौन्दर्य अटाएका थिए । त्यो शो रीलमार्फत् निर्देशकको उद्देश्य, कलाकारको अभिनय र प्राविधिक कुशलता समेत प्रमाणित गर्नु थियो ।

भारतीय वितरकसँग बसेर त्यो भिडियो हेरिसक्दा अधिकांशले भने, ‘भीएफएक्स नगरी नै यति अद्भुत दृश्य ?’ त्यो प्रतिक्रियाले सेनलाई उर्जा दियो ।

हिन्दी टीभी च्यानलमा सित्तैमा देखाउन लगेको चलचित्र डिजिटल प्ल्याटफर्ममा पनि देखाउन सकिने सङ्केत सकारात्मक थियो । त्यसका लागि प्रेम र गीतको कथालाई हिन्दी भाषामा भन्नु थियो ।

नेपालीबाट अङ्ग्रेजीमा उल्था गरियो, त्यसलाई हिन्दी बनाउने जिम्मा दक्षिण भारतीय चलचित्रलाई हिन्दी बनाउनेहरूलाई दिइयो । तर, भाषाले मात्र कथा बुझाउनु सम्भव थिएन । कलाकारको हाउभाउ अनुरूप शब्द र संवाद छनौट गर्नु थियो ।

हिन्दी भाषामा दखल राख्ने भएकाले निर्देशक सेनले स्टुडियोमा बसेर भारतमा कहलिएका डबिङ कलाकारलाई लेखकले कल्पना गरेको र निर्देशकले चाहेको भाव बुझाए । भाषाले चलचित्रको कथा र उद्देश्य झन् प्रस्ट पार्‍यो र भारतीय वितरकहरूले सेनलाई भने, ‘प्राविधिक पक्षमा मेहनत गर्न सके यो त सिनेमाघरमा पनि देखाउन सकिन्छ ।’

एउटा हठको नतिजा

त्यो सम्भावनालाई बल दिने अर्को पक्ष के थियो भने छेतेन गुरुङले फिल्मको एउटा प्लट मात्र सुनाउँदा सेन आफै करोडौँ लगानी गर्न तयार थिए । किन कि उनी त्यो प्लटले फिल्मलाई उँभो लगाउनेमा दृढ थिए । तर गुरुङले भनेका थिए, “सबै फिल्म डुबिरहेका छन् । अहिले ठूलो क्यानभास चाहिने काममा हात नहालौँ । केही वर्ष बजार बुझौँ ।”

चलचित्रको योजना सुनाउँदा अभिनेता प्रदीप खड्काले पनि भनेका थिए- ‘दाइ लगानी गर्नुहुन्छ, कमाउनु भएको छैन, त्यसमाथि करोडौँ खर्च गर्ने जोखिम नउठाउनुस्, बरु ठिक्क बजेटको सामान्य फिल्म बनाऔँ ।’

“तर म थप बनिरहेका ढर्राको फिल्म बनाउने पक्षमा थिइनँ । अन्तिम प्रयास गर्छु । यो पनि डुब्यो भने बरु फिल्म उद्योग नै छोड्छु भन्ने हठ त्यागिनँ,” परम्परागत भुमरीबाट निस्किने आफ्नो अन्तिम प्रयासबारे उनले सुनाए ।

आफ्नो चलचित्र भारतीय टीभीमा मात्र सीमित रहँदैन भन्ने उनले कल्पना गरेका थिएनन् । तर यूएफओ नामक कम्पनीले भारतको निम्ति प्रेमगीत-३ प्रतिलिपि अधिकार खरिद् गर्‍यो । मधु इन्टरटेनमेन्टले भारतबाहेकका देशहरूमा देखाउने अधिकार लियो । भारतका नाम चलेका समीक्षक तथा ट्रेड एनालिस्टहरूको ध्यान खिचिरहेको हिन्दी भाषाको प्रेमगीत-३ अब विश्वभर करिब १,५०० वटा सिनेमाघरहरूमा प्रदर्शन हुनेछ ।

भारत र चीनजस्ता छिमेकका ठूलो बजारमा प्रवेश पाउनसक्दा नेपाली फिल्मको बजार नै बढेको मान्न सकिने बताउँछन् चलचित्र विश्लेषक यज्ञश । तर प्रेमगीत-३ हिन्दी भाषामा विश्वव्यापी रूपमा प्रदर्शन हुने सन्दर्भमा भन्छन्,”व्यवहारिक र व्यवासायिक कठीनाईले गर्दा नेपाली भाषाकै देखाउन गाह्रो होला । राष्ट्रहरूका आ-आफ्नै नीति पनि हुन्छन् । यसबारे भोलिभोलि चर्चा होला । तर, हिन्दीमा डब भएको फिल्मलाई नेपालमा पनि प्रदर्शन गर्ने कुरालाई चाहिँ फेरि डब फिल्मका रूपमै हेर्नुपर्ने हुन्छ ।”

नेपालमा दक्षिण भारतीय भाषा बुझ्ने दर्शकको सङ्ख्या सानो हुनाले त्यसलाई हिन्दी डब गरेर ल्याउने गरिएको छ । उनी भन्छन्, “नेपाली भाषाकै फिल्मलाई हिन्दीमा सँगै ल्याउँदा फेरि यो नेपाली फिल्मकै प्रतिस्पर्धी हुन जान्छ ।” कानुनले वर्जित नगरेको बाहेकको अवस्थामा व्यवसाय गर्न पाए पनि नेपाली निर्माताहरूले डब चलचित्रलाई लिएर गरिरहेको विरोधको सन्दर्भमा पनि यसलाई हेर्नुपर्ने उनको तर्क छ ।

बलिउडका प्राविधिक

यस चलचित्रको प्राविधिक काम भारतका चर्चित व्यक्ति तथा सफल संस्थाका प्राविधिकहरूले सम्हालेका छन् । ध्वनिको काम सन् २०१६ मा न्याशनल फिल्म अवार्ड समेत जितेका जस्टिन जोसले गर्दैछन् । ‘कुछकुछ होता है’, ‘कल हो ना हो’ लगायत सफल चलचित्रहरू सम्पादन गरेका सञ्जय सन्कलाले सम्पादन गरेका छन् । यसमा सूर्यवंशीमा सङ्गीत दिएका अमर मोहीलेको पार्श्वसङ्गीत छ ।

“मलाई आफ्नो उत्पादनमा विश्वास छ । तर भारतीय बजारका लागि मेरो काम र कलाकार सबै नयाँ हुन् । त्यसैले त्यहाँ स्थापित प्राविधिकहरूलाई संलग्न गराउँदा जोखिम कम हुन्छ भन्ने लागेको हो,” सेनले भने । त्यस्तै चलचित्र सम्पादन गन्स अफ बनारस, गुल मकैलगायत चलचित्र सम्पादनपछि चिनिएका बन्टी नेगीले गरेका हुन् ।

अन्ततः चलचित्रमा गीतको मर्म मर्न नदिनु सबैभन्दा चुनौती थियो । किन कि हिन्दीमा उल्था गरिएको सङ्गीत र स्वरसँगै ठूलो महत्त्व राख्थ्यो, कथा सुहाउँदो हिन्दी शब्द र कलाकारको ‘लिप सिङ्क’ले । चलचित्रमा राखिएका चार गीतहरू यसै साताको सुरुवातमा जी म्युजिकमार्फत् सार्वजनिक भएका छन् । ती गीतहरूमा पाकिस्तानी गायक राहत फतेह अली खान, भारतीय गायक जुबिन नौटियाल, पलक मुछल, अङ्कित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

प्रचार सामाग्रीले फेरिदिएको छवि

भारतीय बजारमा नेपाली चलचित्रको बजार खोज्न गरिएको यस प्रयासमा हरेक सङ्गीतकर्मीले सहजै साथ दिएको सेन सुनाउँछन् । “राहत फतेह अली जीले त दुबईबाट गीत रिकर्ड गरेर पठाइदिनु भयो । सबैभन्दा गाह्रो चाहिँ जुबिन जीलाई मनाउन भयो ।”

ठीक एक वर्षअघि जुबिन नौटियाल समक्ष चलचित्र युनिटले गायन प्रस्ताव राखेको थियो । तर, समयको व्यस्तता र अन्य कारण देखाए पनि उनलाई मनाउन एकोहोरो प्रयास जारी राखेको सेन सम्झिन्छन् । अन्ततः ‘कोही ना कोही नाता है’ गीतमा स्वर दिए । जसमा सुवास कालेको शब्द र पवनदीप राजनको सङ्गीत छ ।

त्यस्तै जी म्युजिकले पनि अन्तिम घडीसम्म चलचित्रसँग सहकार्य गरेको थिएन । पहिलो टिजर सार्वजनिक भएपछि भने सम्झौता गर्न आएको उनी सुनाउँछन् । “जुन हिसाबको प्रतिक्रिया आयो त्यसले मनाएको हुन सक्छ । धेरैले नेपाली चलचित्र भनेर विश्वास नगरेको हुन सक्छन् । मान्छे बोल्दा कसैले पत्याएका थिएनन् । अब काम बोल्छ भन्ने आशा छ,” सेनले भने ।

चलचित्र युनिटले प्रेमगीत-३ नेपाल भारत सहकार्यमा बनेको पहिलो बताउँदै आएका छन् । तर, चलचित्रका जानकारहरू त्यसको खण्डन गर्छन् । नेपाली चलचित्र लेखक एवं समीक्षक सामीप्यराज तिमल्सेनाका अनुसार वि.सं २०४१ सालमा नेपालको तत्कालीन शाही चलचित्र संस्थानले बङ्गाली मूलका निर्देशक बासु भट्टाचार्यसँग मिलेर ‘पञ्चवटी’ नामको चलचित्र निर्माण गरेको थियो ।

पहिलो नेपाल-भारत सहकार्य हो ?

बुहारी र जेठाजुबीचको सम्बन्धमा आधारित उक्त चलचित्र “सामाजिक परिवेश नसुहाउँदो र राम्रो प्रभाव नपार्ने” भन्दै नेपालमा प्रदर्शन हुन नदिएको उनको कथन छ । जसका कारण संस्थानको ९ लाख रुपैयाँ लगानी खेर गएको बताइन्छ । यद्यपि, उपन्यासमा आधारित उक्त चलचित्र भारतमा प्रदर्शन भएको तिमल्सेनाले बताए ।

केही समयअघि उक्त चलचित्र छलफलका निम्ति अध्ययन तथा अनुसन्धान गर्ने संस्था मार्टिन चौतारीमा देखाइएको थियो । “प्रेमगीत-३ हिन्दी भाषामा पनि बनेर यति वृहत् रूपमा प्रदर्शनमा आउन लागेको पहिलो चलचित्र हो । तर यसलाई पहिलो नेपाल-भारतको संयुक्त योजना भन्न मिल्दैन,” उनले भने ।

यसरी दुई वटा भाषामा विश्वका विभिन्न देशहरूमा नेपाली चलचित्र प्रदर्शन हुन लाग्नुले निर्माताहरूमा आत्मविश्वास जगाउन सक्ने उनी बताउँछन् । यसले गर्दा नेपाली सिनेमाहरू भारतीय स्याटलाइट तथा डिजिटल माध्यमका लागि मात्र बेच्न सके पनि ठूलो उपलब्धि हुने तिमल्सेना ठान्छन् ।

“देशबाहिर पनि बजार पहिचान हुनु सकारात्मक कुरा हो तर फेरि एउटा चलचित्रले राम्रो गर्दैमा सबैले उस्तै चलचित्र बनाउन थाले त्यो धेरै समय टिक्दैन,” उनले भने । “आखिर भारतमा पनि निकै राम्रा चलचित्रलाई समेत उस्तै ढर्राको भएर दर्शकले पत्याएका छैनन् ।”

निर्माता सेन भने चलनचल्तीको कामहरूबाट आफू प्रभावित हुनेबारे सतर्क रहेको दाबी गर्छन् । चलचित्रमा कुल आठ करोड रुपियाँ हाराहारी खर्च भएको सेनले बताए । उनलाई चलचित्रको विदेश, टीभी र डिजिटल प्रदर्शनबाट ३०-३० प्रतिशत प्राप्त हुन्छ । तर अहिले आफू व्यावसायिक पाटोबारे चिन्तित नभएको उनी बताउँछन् । उनी भन्छन्, “पैसा कमाउँदिन होला तर मलाई घाटा छैन । म मान्छे कमाउन सफल भएको छु । मैले अन्तिम प्रयास भनेर बनाएको फिल्म नै नयाँ सुरुवात बनेको छ ।”

बीबीसीबाट

Tags:

सम्बन्धित समाचार