बिहिबार , फागुण १७, २०८०

पर्यटकको प्रमुख गन्तव्य सुचीमा ऐतिहासिक पुरानोकोट गढी

image

काठमाडौं । पर्यटकको प्रमुख गन्तव्य सुचीमा ऐतिहासिक पुरानोकोट गढी पर्न थालेको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर बनाइएपछि पर्यटकको आवागमन बढ्न थालेको छ ।

बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएका संरचना अवलोकन गर्न र आसपासका प्राकृतिक दृश्यको आनन्द लिन पर्यटकहरू पुग्न थालेका छन् ।

स्थानीयवासी देवबहादुर गुरुङका अनुसार दैनिक १०० भन्दा बढी र बिदा तथा चाडपर्वको दिनमा दुई सयभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेका छन् । उनले भने “स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रूपमा स्थापित हुँदै आएको छ । यति बेला सो स्थानमा पर्यटकको आगमन बाक्लिएको छ ।”

भ्यू टावरबाट काठमाडौंको थानकोट डाँडा, चितवनको मुग्लिङमाथिको डाँडा, गोरखा, तनहुँ, कास्की, म्याग्दीलगायत जिल्लाको केही भाग देख्न सकिने स्थानीयवासी गुरुङ बताउँछन् । साथै बौद्ध हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रोदेखि चौँथोसम्म, मनास्लु, हिमालचुली, अन्नपूर्ण साउथ, मनास्लु दक्षिण, च्ये हिमाल, डाक्टर हर्कपिकसहित  दर्जनौँ हिमशृङ्खलाका साथै सूर्योदयको मनमोहक दृश्यसमेत अवलोकन गर्न सकिने त्यहाँका बासिन्दा बताउँछन् ।

नवनिर्मित संरचना नजिकै त्यस बेलाका राजाले पूजा गर्ने मौला कालिका मन्दिर समेत रहेको छ । पुरानोकोट गढी यति बेला भग्नावशेष अवस्थामा रहेको छ । शाह राजाको बसोबास रहेकाले यो स्थानको महत्व बढ्नाका साथै प्रचारप्रसार गर्न तथा पर्यटक आकर्षित गर्न स्तूपा तथा भ्यू टावर निर्माण गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

उक्त संरचना निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नका साथै नगरपालिकाको आर्थिक  वृद्धिमा समेत सहयोग पुग्ने नगरप्रमुख अर्याल उल्लेख गर्छन् । निर्माण कम्पनी हिम पराजुली कन्सट्रक्सनले विसं २०७८ गत फागुन महिनाभित्र निर्माण सक्ने सम्झौता गरे पनि निर्धारित समयमा काम नसकेपछि थप गरिएको  म्यादमा अहिले  निर्माणको अधिकांश काम सम्पन्न भइसकेको नगर प्रमुख अर्यालले बताए ।

त्यस स्थानमा पानी र बिजुलीको व्यवस्था गर्न बाँकी रहेको छ भने अन्य काम सम्पन्न भइसकेको छ । ती संरचना निर्माणका लागि रु चार करोड ८१ लाखको लागत इस्टमेन्ट गरिए पनि ५५ लाख कममा उक्त कम्पनीले निर्माण गर्ने सम्झौता गरेको थियो । नगरपालिकाका अनुसार एक करोड ४९ लाख नगरपालिका  र दुई करोड ७७ लाख पर्यटन मन्त्रालयको गरी चार करोड २६ लाख बजेटमा शान्ति स्तूपसहितको भ्युटावर निर्माण भएको छ ।

शान्ति स्तूपाको गजुर निर्माण एवं रङ्गरोगन गर्नाका साथै चार वटा बौद्ध मूर्तिसमेत राखिएको छ । उक्त संरचनाको क्षेत्रफल दुई सय ८३ स्क्यायर मिटर रहेको बताइएको छ । सो स्तूपा तथा भ्यूटावरसम्म पुग्नलाई रु २१ लाख खर्च गरेर नगरपालिकाले सडकसमेत निर्माण गरेको छ । बेँसीसहर बजारदेखि लमजुङ दरबार, काउले पानी घरबास हुँदै सो स्थानमा पुग्न सकिन्छ । बेँसीसहरबाट १६ किलोमिटरको दूरीमा भ्यूटावर रहेको छ । त्यस्तै भग्नावशेष रानीको दरबार संरक्षण तथा मर्मतका लागि ३ नं वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको छ ।

यति बेला स्तूपा वरिपरिको वनजङ्गलमा फुल्न थालेको लालीगुराँसले झनै स्तूपा तथा भ्यूटावरको सौन्दर्य बढाएको छ । स्तूपा आएका पर्यटकमध्ये बेलु गुरुङले भने, ‘यहाँ आइपुग्दा धेरै रमाइलो लाग्यो, एकदम आनन्दको ठाउँ रहेछ, यस्ता संरचनाले पर्यटकलाई खुसी मिल्नेछ ।’ यहाँ आउने पर्यटकले प्राकृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै  सेल्फी/फोटो खिच्ने, टिकटक बनाउने गर्छन् ।

सम्बन्धित समाचार