बिहिबार , फागुण १७, २०८०

श्री मा.वि. कालीखोलालाई ३०० थान पुस्तक हस्तान्तरण

२०७८ सालमा स्थापित गैरनाफामूलक संस्था सिभिल आउटलुक नेपालले पुस्तक एवम् पुस्तकालय क्षेत्रमा काम गर्दै आइरहेको छ ।

image

उदयपुर । सिभिल आउटलुक नेपालले उदयपुर, कटारी नगरपालिका-१ बेल्सोत स्थित श्री मा.वि. कालीखोलाको पुस्तकालय व्यवस्थापन र उत्थानका लागि करिब ३०० थान किताब हस्तान्तरण गरेको छ । वडा अध्यक्ष पदमलाल मगर र विद्यार्थी व्यवस्थापन समितिको उपस्थिति एवम् विद्यालयका प्रधानाध्यापक राजकुमार चौधरीको रोहवरमा सो पुस्तक उपलब्ध गराइएको संस्थाकी अध्यक्ष रेजिना बस्नेतले बताइन् ।

“यस विद्यालयको पुस्तकालयमा केहि पुस्तकहरू त रहेछन्, तर विद्यार्थीलाई पुस्तकालयसम्म पुर्‍याउन एवम् उनीहरूको रोजाइको पुस्तक उपलब्ध गराउन समस्या रहेछ । वडाध्यक्ष र प्रधानाध्यापकलाई साथमा राखेर पुस्तक र पठनपाठन किन आवश्यक छ भनेर बुझायौँ । वडाले आगामी वर्ष १० लाख रुपैयाँ छुट्टाउने एवम् पुस्तकालय व्यवस्थापन समिति निमार्ण गर्ने बताएको छ । हामी खुसी छौँ”, उनले भनिन् । दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले यस कामको थालनी गरिएको उनले बताइन् ।  

विद्यालयका प्रधानाध्यापक राजकुमार चौधरीले समाजलाई सचेत बनाउन तथा समुन्नत समाजको निर्माणका लागि स्थानीय निकायले पुस्तकालयहरुमा विशेष चासो दिनु स्वागतयोग्य रहेको बताए । “साथीहरू काठमाडौंदेखि आउनुभयो र हामीलाई नजानेका कुराहरू सिकाउनुभयो । एकदम राम्रो लाग्यो नमुना विद्यालय बनाउन खातिर वडाबाट १० लाख दिने कुरा छ, प्रस्ताव पठाइसकेका छौँ’, प्रधानाध्यापक चौधरीले बताए । गाउँ गाउँमा पुस्तकालय हुन सके बालबालिकाको पठनीय संस्कारको विकास भई उनीहरुको शैक्षिक श्रीवृद्धिमा टेवा उनले बताए । 

विद्यालयलाई उपलब्ध गराइएको पुस्तकहरूमा बाल साहित्य, लोक सेवा आयोगका किताबहरू, कानुनी किताब (फौजदारी देवानी संहिता), उपन्यास, कथा सङ्ग्रह, कविता सङ्ग्रह, इतिहासका किताबहरू समावेश रहेको संस्थाका सचिव सक्षम शाहीले बताए । “पुस्तक तथा पुस्तकालयको प्रवर्धन गर्ने सिलसिलामा हामीले उदयपुरदेखि यो काम सुरु गरेका छौँ । दोस्रो र तेस्रो चरणमा क्रमसँगै सो विद्यालयलाई ५०० र १,००० पुस्तक उपलब्ध गराउनेछौँ”, उनले भने । उनले यस काममा कवि, निबन्धकार र बाल साहित्यकार प्रमोद प्रधान, ‘पुस्तक तथा पुस्तकालय बचाऔँ अभियन्ता राजु झल्लु प्रसाद लगायत विभिन् व्यक्तिको सहयोग रहेको बताए ।

 

 

 

यसरी सुरु भयो, सिभिल आउटलुक नेपाल..

२०७८ सालमा स्थापित गैरनाफामूलक कम्पनि सिभिल आउटलुक नेपालले पुस्तक एवम् पुस्तकालय क्षेत्रमा काम गर्दै आइरहेको छ

‘मेक बुक्स ट्याक्स फ्री’ अर्थात् ‘पुस्तकलाई करमुक्त बनाऊ’ भन्ने अभियानमा जोडिदाखेर मलाई पुस्तक पढ्न मन हुने तर ट्याक्स एवम् अन्य कारणले पुस्तकको संगतबाट बन्चित हुने कति बालबालिकाहरू होलान् भन्ने लाग्यो ।  यसपछि हामीले संस्था दर्ता गरेर पुस्तकालय निर्माणको लागि काम गर्दै आएका छौँ”, बस्नेतले बताइन् ।

आउटलुक नेपालले यसपश्चात् धनुषा र सर्लाहीमा पुस्तकहरू उपलब्ध गराउने भएको छ । संस्थाको यस काममा स्वेच्छाले समाजका अगुवा एवम् चिन्तकहरू जोडिन सक्नुहुनेछ । 

सम्बन्धित समाचार