शुक्रबार , अषोज १४, २०७९

ईश्वर, आऊ बन्दुकको खेल खेलौँ !

के तिमीले काफ्काको मेटामोर्फेसिस पढेका हाै ? भुँइभरि लत्पतिएका यी र्याल सिँगान तिम्रै हो ? ईश्वर, नाकको टुप्पोमा डण्डीफोर आएका छ यार, निचोरिदिने हो ?... मलाई तिमीसँग उटुन्ग्या कुराहरू गर्नु छ ।

image

मस्तिष्कमा पैताला उम्रिएको छ । पक्का छ, यो  मस्तिष्कको अन्डस्थुलन शिवाय अर्थोक केही होइन ।
हृदय हत्केलामा चटपटाइरहेको छ । पक्का छ, यो श्रापित इतिहासको गङ्गा दशहरा स्नान बाहेक अर्थोक केही होइन ।

कविवर रनपहेंली जी, आँसु उँधो नै बगीरहेको छ । गोड्से र जोन बुथले फ्याकेनन् पेस्तोल । गरेनन् अंकमाल गान्धी र लिंकनसीत । म त ढुंगाकै आकाश भएछु । फलामकै ग्रील भएँ क्यार ! आकाशबाट सकिन बर्साउन फूल, एटम बम नै बर्साए । क्लड इथर्ली पो भए क्यार म !  ईश्वर, हिरोसिमाबाट तिमीले डेरा सरेका हौँ ?

पग्लनु र जम्नु, बरफ हुनु । फैलनु र खुम्चिनु, सडक हुनु ।  टुक्रिनु र जोडिनु न हो । भत्कनु र सम्मेलित हुनु न हो । बाँसघारीका सारौँहरू झैँ ऐठनहरू सल्यांगबल्यानाग गरिरेहका छन् ! गीतका घाउहरू उप्किरहेका छन् । तर पनि सन्त्रासका व्याकरणहरूमा कुनै हृदयविदारक सुस्केरा छैनन् ! यो कस्तो अद्भूत शान्ती, उज्यालोका अस्थिरपंजर मुसारिरहँदा कतै अँध्यारो छैन !

होस पन्छाएर, ठट्यौलीहरूसँग दुरी बढाएर यतिखेर म तासको घर बनाइरहेको छु !  खोयाको ९ तले दरबार निर्माण गरिरहेको छु । होला, यो एउटा केटाकेटीपन ! होला, यो एउटा भात पकाई खेल ! तर यहि मज्जा ! तर यहि सुस्वादिलो !

पाइतलाको डोबहरूमुनि जुनकिरीका चाकहरू बल्न छाडेका छन् । खुट्टाका बुढी औंलाका कापकापबाट पुतलीहरूको चिच्याहट गुन्जीरहेछ । एक असिमीत तृप्ति !

ईश्वर, तिम्ले खैजडी बजाउनै छोड्यौँ । के तिमी गङ्गा किनारमा अझसम्म मुन्टो डुबाइरहेकै छौ ? छोड, ‘शिश्ने देवा:’ जपीरहेका द्रवीडनाडूहरूको फेसबुक प्रोफाइल तिमीलाई देखाउन्न । ‘महिसासुर सहादत दिवस’को फोटोहरू यो पाली देखाउन्न । तिमीले खुत्रुकेमा जोगाइराखेका तिम्रा खुसीहरूमा ‘लाई’ लागेका हल्ला छ ? के म चिहानसम्म पुगेर एक बटुको खरानी ल्याउँदै गरौँ ?

मैले धुपीसल्लाको रूख कोट्टाएर तिम्रो नाम लेखेको छैन । न, भू-धरातलमा झाडी पन्छाएर तिम्रो अनुहार कोरिरहेको छु । ईश्वर, म तिम्रो ढाडमा उक्लिएर सूर्यास्तको गोधुली क्षितिज पनि नियाल्न चाहन्छु । कति अभूतपूर्व हुँदो हो त्यो दृश्य ? ईश्वर, तिमी हराएको खबर छ । के तिमी असंख्य छालहरूबीच ढलपल ढलपल गरिरहेको डुंगामा तन्काउँदै आफ्नो शरीर, पिठ्युँ सेकाइरहेका छौँ ?

चट्यांग परेर एउटा खर्सेतोको रुख सुकेको छ । त्यसैको हाँगोमा छ्यान्नब्यान्न परेको गुँड नियाल्दै एउटा ढुकुर विरहको कविता पढिरहेको छ । मलाई ऊ दुई मुखे भारुन्ड चरा जस्तो लागिरहेको छ । ईश्वर, नरसिंह अवतारको आगमनको सज्जाहट जस्तो साँझ र रातको तंगारोमा म तिम्रो प्रतिक्षा गर्दै छु । तिमी बाटो सोध्दैखोज्दै यतैकतै ढुनमुनाए जस्तो लाग्छ । ईश्वर, तिमी साँच्चै आएका हौ र ?

के तिमीले काफ्काको मेटामोर्फेसिस पढेका हाै ? भुँइभरि लत्पतिएका यी र्याल सिँगान तिम्रै हो ? ईश्वर, नाकको टुप्पोमा डण्डीफोर आएका छ यार, निचोरिदिने हो ?… मलाई तिमीसँग उटुन्ग्या कुराहरू गर्नु छ ।

मुटु एउटै हो । आज विरह छचल्कियो । टाउकोको नशा बटारिएको छ । हिजो पनि पीडा पोखिएको थियो, टाउकोको अर्को नशा बाउडिएको थियो । ईश्वर, तिमी त मेरो लागि वैद्य पनि हौँ, आउदाखेर ओखतीमुलो खोजेर आउनु नि । म बख्तियार खिल्जी होइन, किताब चाटेर निको हुनेखालको मेरो रोग पनि होइन । हाकाहाकी मलाई मुखबाटै ओखती निल्नु छ ! तिमी चाहन्छौँ मेरो मस्तिष्कको दाँत फुक्लियोस? कन्पारो सन्न हुन छोडोस् ? यो सन्निपात निको होस्  ? यो विषमज्वार निको होस् ? खैर, तिमी जस्तै छाँटको देखिन मलाई तिम्रो नीति, पद्धति र सिद्धान्तले प्रेरित गर्यो ! पक्का छ, तिमी चाहन्नौँ मेरो ज्वरो निको होस् ! जान्दछु म, हातमा सुदर्शन चक्र (एटम बम) समाउनेको नै गीता (लोक हितकारी संहिताहरू) सुनिने गर्दछ !

गन्ती भुलेको छ यतिखेर, एक दुई तिन.. कति ? संख्या भुलेको छु यतिखेर, एक दुई, तीन ..कति ? क्रम भुलेको छ यतिखेर, एक दुइ तिन, कति ? तिमी तेत्तिस करोड, तिमी एक र अनादी । तिमी पालनहार, तिमी सर्वनाशी,तिमी भक्षक र रक्षक दुवै ।

***

बुल्डोजरहरूको नाङ्गो नाँच आँगन मुनि छ्याकने हानीरहेका छन् । हाइड्राका टेन्टकलसहरूले घाँटी अठ्ठाएको छ । साह्राे छ । पीर परेको छ । मन अतालिएको छ । हतारिएको छ ।

ईश्वर, म तिम्रो मृत्युको सङ्खघोष गर्दै आँसुका ज्वालामुखी पहाडहरू माथि उभिरहेको छैन यतिखेर । म त तिम्रै प्रतीक्षामा छु ! मलाई थाहा छ जराहरू किमार्थ मर्दैनन् । बरू कोही अर्कोको घाँटीमा बेरिन्छन्, आंगमा अल्झिन्छन् ।

तिमी जरा, तिमी हाँगा, तिमी पात, तिमी एक सिंगो रूख ।

ईश्वर, तिम्रो हुलिया अनुमान गरिरहेको छु म । जंगबहादूरको शालिक बाट अवतरित होलाउ कि ? भीमसेन थापाको लासले घाट नपाएको इतिहासको पदचाप पछ्याउँदै अरुणको भेल हुँदै आइपुग्लाउ ?

खादीको कछाड बेरेर देखिएलाउ कि थोरै जुँगा राखेर ? नाङ्गो शरीर ‘कैवल्य प्राप्ति’का आचारसंहितासहित  बर्बराउदै आइपुग्लाऊ ? हतियार मिल्काएर अहिंसा अङ्गीकार गरेका तिमी कस्ता भयौं होला  अहिले ? नदेखेको कति भयो, नभेटेको कति भयो ! भेटु भेटु भाछ, बोलु बोलु लाछ !

बतास र फूलका पनि आ-आफनी दुखमर्का होलान्, यता किन आउँथे ? आएनन् । नआउन् ।

बादल र बालुवाका पनि आ-आफ्नै प्रेम-विछोड होलान, यता किन विरही सारंगीको धुन सुनिन्थ्यो ? सुनिएन । नसुनियोस ।

ईश्वर, काँगियो फुलमुनि बसेर तिमी यतिखेर आफ्ना बाक्ला, काला, घना, कपालहरू कोरी मागीरहेका हौला । मलाई तिम्रो खाँचो परेको छ कस्सम । तिम्रै कस्सम । म घैँटोभित्रको रात जस्तो निस्सारहेको छु, दिशाहीन छु । पुरातत्व र म्युजियमका भित्ताहरू जस्तो लावारिस छु । तिम्रो आगमनले मात्र पनि मेरा पखेटाहरू पलाउनेछन् । तिम्रो आगमन मेरो लागि आत्मगौरवको विषय हुनेछ । प्रतिष्ठाको लब्धांक हुनेछ ।

देशको तमाम दु:ख कष्टदेखि टाढा रहेर कायाकल्पको कल्पनामा भौतारिरहेको छु । धार्मिक सम्प्रदायहरूको एक नित्य धारावाहिक कर्म जस्तो म, जतिखेरै खण्डित छु, रक्त्योल छु । नित्य अखबारका शान्त अक्षरहरूले बोकी ल्याउने नरसंहारका खबरहरू जस्तो मेरो दैनिकी, सालनालसितैको बालक जस्तो रक्तेलो छ । पालनपोषण र स्यारसम्भार पर्खिरहेको छु ।

हुरीले छुरी चलाएको छैन । यसैले त छाला सग्लो छ, हृदय अचानो । अब यो अचानो कहाँ कटुस् ? अब यो अचानो कहा नरिबल ? अब यो अचानो कहाँ ओखर ? यो अचानो बस्, एक बचेरा- जसको खुट्टा र प्वाँख काटिएको छ । भुत्लाएर मिल्काईएको भंगेरो जस्तो, अब मेरो उफ्राइ बस् एक रगडाइ, बस् एक ‘गोरु जुधाई र दुबो मिचाई ।’

ईश्वर, घडीफूलमा समयका काँटाहरू दगुरीरहेका होलान है ?  तर मेरो आँखा थकित छ । पाइलाहरू सिथिल छ । परेला चिसा छन् । शहरमा जाडो बढेको खबर छ । आगो ताप्न मन छैन । ईश्वर, तिम्रो आगो चोर्न प्रमिथस आउंदै होला । मलाई मेरै हिउँ ठिक छ । तिमी उसलाई सिरक दिएर पठाउनु ।

देउरालीमा सिस्नु पलाएछ । तिमी त्यो बाटो नआउनु । भंज्यागमा तिम्रो मूर्तिहरू तोडीएका छन्, तिमी त्यता नपुग्नु ।  अंकुसेले तानौं कि झटारोले हानौं ? ईश्वर, भन तिम्रो यो बोझिलो पर्खाइलाई म कसरी पोषित गरौँ ?

प्रेयसीको अँगालोजस्तो आत्मीय आतिथ्यता पस्कने छु तिमीलाई । च्याडु दोबानमा डुबिरहने खुर्पेटो जून जस्तो डुबे क्यार म तिम्रो मायामा । ‘तिम्रो मायाले बाधेर राख, मेरो सिरानी होस् तिम्रो काख.. ।’

***

भुइँकुहिरोहरू धुम्मिएका छन् । बादलहरूले डढेलो सल्काएका हुन् र ?
आँसुका भेलहरू बढेका छन् । नदीहरू देश बगाउन निस्केका हुन् र ?
ईश्वर, तिम्ले आँसु र रगतको दोभानमा हृदय डुबीरहको मेसो पाएका छौँ ? आँसु जमेर मैन बने हेर। अब बारुद भरिएको सलाई कसरी पो कोरौं यो अँन्धकारमा ?

प्रेम र सौन्दर्यका श्लोकहरू, भजनहरूसुनिन छोडेको छ यतिखेर गङ्गा-मैदानमाथिको आकाशमा । गौरवमय परम्पराको ध्वजापतकाहरू डोरी बेगर चंगा भाति उडिरहेका छन्, सिन्धुघाँटीको अन्तिम किनारसम्म । ईश्वर, तिमी त आकाशको मानचित्र भन्दा पनि परको वासिन्दा । के तिम्रो स्वर्गमा आँगनमुनि कुटमिराको रुख छ ? हेर त, त्यहा एउटा कालो काग सफेद आवाजमा कराइरहको होला,..का का… ? ***

लौ, तिमी आएनौँ म कहाँ । मै आइपुगे । मेरो सरप्राइज कस्तो लाग्यो तिमीलाई ?

ठिक छ । तिम्रो मुहारमा खुसी छाएको छ । यो भयानक हाँसो कति सुहाएको तिमीलाई ? तानाशाहहरूको बचपनको फोटो जस्तो ।

खै छाड, नसोध मलाई प्रधानमन्त्रीको जुँगाको लम्बाई र सगरमाथाको उचाईको नाप । म देशप्रेमको चिसो क्षिडी देखि धेरै परको मान्छे, मलाई के पत्तो लिम्पियाधुरामा भदौरे घाम लाग्दा सिंहदरबार भित्री कोठामा संघियाताको रक गीत घन्कदा गणतन्त्रले कसरी कम्मार मर्काउछ ? नसोध, राष्ट्रको नाममा सम्बोधनको क्रममा राष्ट्रपतिको अनुहारको कोठी चिउडो तिर सर्किन्छ कि गालाको मुजाबीच हराईजान्छ ? मलाई घडी भए पुग्छ, समयको के वास्ता ? यो बताएर जिब्रोलाई किन दुख दियौं, कालापहाडका कहानी र कर्णालीका कछाडका उखानहरू राष्टवादका सुपुरडुपरहिट पप गीतहरू ह?न, मेरो देशको । योकुरा तिमीलाई पनिन ज्ञात नै छ ।

***

खबर सोधेयौं । ‘ठिक छ ।’

घाउहरू त सदैव पुरिदै आएका छन् । खाटाहरू दुधसँग बग्न कहाँ सके र ? अक्षता र फूलपातीमा टासिएर घर दैलो र निधारसम्म आइपुगे । जहाँ बसे त्यहि घाउँ बनाए ।

ईश्वर, तिम्रो सुनाउ बरू । आफ्नो गौरव र वीरताको दन्तकथाहरूको आभामा अर्धमुर्छित होइरहँदा रगतका दियोहरूमा अल्झिएर ठेस लागेर लड्न पुगेका थियौं क्यारे ।  त्यो निको भयो ?

हेर, मौसम सुहाना छ । शीतको चस्मा खोल । हिउँका फूलहरू छोड । थोरै अल्कोहल ल्याउ । एक प्लेट छोयला परपरी भुट, मानव कलेजोका । खाइवारी देशदेशाहर डुलौ । समयलाई दरवान राखेर निस्कौ, यो तिम्रो भव्य दर्बारको । बार्दलीमा बसेर खोकीरहने वयोवृद्ध जस्तो कहाँ बन्न सुहाउँछ तिमीलाइ ? अक्षांश र देशान्तरहरू तन्काएर एउटा गालैचा बुनौला । त्यसकै सवारी लिउला । उडौला माथिमाथीसम्म..परपरसम्म ।

उठ त सहि, हिँड त सहि । चौरास्तामा उभिएर कोणसभा गरुँला । मानवता विरुद्ध प्रेस विज्ञप्तिहरू निकालौला । धैर्य र स्वतन्त्रताको भलाकुसारी सुनेर खितिति खितिति.. खित्का छोडेर हासौला । कष्ट र विपदका बूँद बूँद आँसु घुट-घुट निलौला ।

***

नेपथ्यमा छुरी घोप्ने छायाजीवी हामी होइनौं । छालले उछिटाएको केही गाग्री पानीमा पौडी खेल्ने पौडीवाज हामी होइनौं । मनको एकान्त प्रदेशमा जरासन्ध झैँ दुई फ्याक्लेटो शरीर बोकेर बाचीरहेकाहरुप्रति चैतको डढेलो बनौं, आउँ । लालीगुराँसको हार्दिकता निमठौँ, आउ । खुकुरी तताउ, सानी बालिकाको योनी च्यातौं । र, स्वार्थको यज्ञकुण्डमा कामोत्तेजनाका चरू होमौं ।

बकैनाका  फूलहरू सब झार्यौं । र हाँगा हाँगामा लासका गिड़कागिडकीहरू अड्काउ । गिद्धहरू टोड्का मै होलान । चीलहरू कावा खाइरहेकै छन् । हामीलाई अब कमलका पातहरू किन पो खाँचो ? रगतको सिचाईले पृथ्वी अझ हराभरा हुन् बाकी नै छ । ईश्वर, विनाशकारी डढेलो नरोक्नु । मलाई चिसो खरानीमा तातो पिसाब तुर्क्याउन मन छ ।

ईश्वर, आउ बन्दुकको खेल खेलौँ । मानव खप्पर उसिनेर सूप पिऔँ । गिदीका छयालब्याल बटुलौँ । अचार बनाऔँ, र जिब्रो ट्वाक्क पड्काउ । मुटुहरू थुतौँ र कुहाएर जाँड बनाऔँ, तनतनी पिऔँ । एउटा भतेर यस्तै गरौँ । सुत्केरी रगतमा नाबलाखहरूको निधार मुछेर चिरिप्प लुछ्यौँ- वातसल्यताको छोइला । नालीखुट्टा र आँखाहरूलाई मिल्काई नहालौँ, अखण्डताको वरखी बार्नु नै छ भोलि । त्यतिखेर लुछौँला ।

त्यसपछि साम्यावाद र सत्ययुगको मध्यान्तरमा संविधान र धर्मग्रन्थहरू पढौं । कुन कति मृत, जाचौं । कुन कति विलासी, बहस गरौँ ।  बदाम म केलाउला, सुन्तला तिमी छोडाउ । ईश्वर, आउ सभ्यताको घमाइलो मौसममा दिन बियाल्दै भलाकुसारी गरौँ । शिशिरयामका पालुवाहरू निमठौँ । ‘अतिथी देवो भव:’ पुकारीरहने वसन्तको कठालो समातौं ।

हिँड जाउ । मक्कामा हज गरेर आउ । मरुद्धानका बाख्राहरूको दूध तनतनी पिउ । अनि तिनैको कचेल्डोमा लात बर्साएर फर्किउ । उट चढेर भेडाबाख्रा चराइरहेका मदनहरूलाई ढुंगा हानौँ । कतारका शरणार्थी भान्छाहरूमा छिरेर बुर्खामुनिको लिपिस्टिकहरूका स्वाद चाखौँ ।

ईश्वर, उडाउ गलैचा ।

हिँड जाउ, आँसुले उनिरहेका हजुरआमा पोतेहरू चुडालेर प्रभातको आकाशमा लालिमा थपौँ ।
हिँड जाउ, हृदयका ऐनाहरूमा वायुपंखी घोडाका टापहरू बजाउँदै परेवाको प्वाखहरू थुतौँ ।

कर्याङ कुरुङको ताँती देखिएको छ । के तिमीले बर्षादी बोकेका छौँ ? रगतका छिटाहरूसँग छोइछिटो हालेकै जाती । रगत पिउनेहरूलेले अनुहारभरि रगत पोत्ने गर्दैनन् । खै छाड यसो गर, हिरोसिमा र नागासाकीको धुवाँले माथि सुन्दर घरको चित्र कोरेछन् । उक्लौँ त्यतै, । चित्रकारले हस्ताक्षर गर्न भुल्यो जस्तो छ । खै एउटा चील समात र भन उसले ठ्याक्कै यही नेर बिस्टायोस । यता उति होइन, ठ्याक्क माझ पारेर एउटा हच्ची हस्ताक्षर गरोस् । गर्यो ? अब उसलाई उड्न देउ । आकाश उसको पिजडा हो, उसलाई दानापानी नसोध ।

ईश्वर, तिम्रो खुट्टा बाउडिएको हो ? यसो गर, तन्काउ । सर्ल्लक्कै । सुडान देखि रुवान्डासम्म । अझ भएन ? अर्को खुटा यता खुम्चाउ, इराकदेखि भियतनामसम्म । तिमी पनि लिलाकै रहेछौँ । खोइ, यो जुत्ता खोल । मिल्काईदेउ, मस्को आसपास । अर्को पनि खोल, मिल्काइदेउ, बेइजिङ तिर । अब बुढी औंला चलाउ, टर्कीको नाकमा लाग्यो, अलि विचार गर । अब अर्को औला चलाउ, इरानको बन्दरगाहा छचल्कियो यार, अलि विचार पुर्याउ । अझ भएन ? जोड गर, दाया बाया गर । जेरुसेलमलाई छोला विचार गर ।…. भयो नि ?  हिँड अब । पर्ल हार्बरमा पुगेर खुट्टा भिजाउल्याउ । अहिलेलाई गलैचामा बस । अब अर्को उडान लिनु पर्ने छ ।

Tags:

सम्बन्धित समाचार