शनिबार , फागुण १९, २०८०

हाइकिङ: जाने होइन त घ्याम्पेडाँडा हुँदै रानीकोटसम्म ?

image

  • रामदेवी महर्जन

रुट : सूर्यविनायक- घ्याम्पेडाँडा- रानीकोट- घ्याम्पेडाँडा-सूर्यविनायक
सुरु : सूर्यविनायक १,४०० मिटर
अन्त्य : सूर्यविनायक
दुरी: १५ किमि
समय : ६ घण्टा
अधिक उचाई : रानीकोट २,१०० मिटर

रानीकोट काठमाडौंको नजिकैको पहाडी थुम्को । भक्तपुरको गुण्डु र सिपाडोल अनि काभ्रेको साँधमा छ रानीकोट (२,१०० मिटर) । जहाँ एकै थलोमा उभिएर कञ्चनजंघा, सगरमाथा, मकालु, चोयु, सिसापाङ्गमा, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौं हिमाल हेर्न पाइन्छ । त्यतिमात्र होइन, भक्तपुर नगर, काठमाडौं र पाटन सहर छ्यांगै देखिन्छ ।

रानीकोट ऐतिहासिक थलो हो । थुम्कामा पुराना इँटाका टुक्रा भेटिन्छन् । इतिहासविद्का अनुसार रानीकोट लिच्छिवीकालीन गढी हो । उहिल्यै दक्षिणपूर्वबाट काठमाडौं उपत्यका प्रवेश गर्ने एउटा प्रमुख नाका थियो रानीकोट । लिच्छिवीकालमै अनन्तलिंगेश्वर भेकमा हंशगृहदंग नामको विकसित बस्ती थियो । त्यही बस्तीको एउटा सुरक्षा किल्ला रानीकोट भएको इतिहासविदको कथन छ । नेपाल एकिकरणका बेला रानीकोटलाई अस्थायी सुरक्षा किल्ला बनाइएको थियो ।

सामरिक सुरक्षाका दृष्टिले एकदमै महत्त्व थियो कोटको । प्राचीनकालदेखि शाहकालसम्मै ।

रानीकोट नाम रहन गएको बारेमा किंवदन्ती छ- तिनताका गुण्डुमा रानी बस्थिन् । उनी शितल हावा खान रानीकोट पुग्थिन् । उनलाई डोकोमा बोकेर त्यहाँ पुर्याइन्थ्यो । रानी जाने कोट भएकाले रानीकोट भनियो ।

ऐतिहासिक गढी रानीकोट व्यवस्थित गर्न बाँकी छ । सूर्यविनायक जंगल छिचोलेर घ्याम्पेडाँडा हुँदै रानीकोट पुगिन्छ । सूर्यविनायकबाट ४ किमि माथि घ्याम्पेडाँडा पुगेपछि नै मनोरम दृश्य देखिन्छ ।

रानीकोटबाट देखिएको सिपाडोल र हिमशृंखला, तस्बीर : भरतबन्धु थापा

घ्याम्पेडाँडाको रोचक कथा:

घ्याम्पेडाँडाको पनि रोचक कथा छ । ‘चिहानडाँडा’को नाम ०५३ सालदेखि घ्याम्पेडाँडामा परिणत भयो । त्यहाँ एक जनाले छाप्रो बनाए । गाँउलेले विरोध जनाए । तर, मलामी आउँदा घामपानीबाट बच्न उपयुक्त छाप्रो बन्यो भन्ने सम्झेर त्यसलाई भत्काएनन् । बरु त्यहाँ ३० पाथी पानी अटाउने माटोको घ्याम्पो राखे, तिर्खा लागेको बेला पानी खान भनेर । घ्याम्पा राखेका ठाउँ भएकाले त्यही बेलादेखि घ्याम्पेडाँडा भन्न थालियो ।

घ्याम्पेडाँढामा तामाङ समुदायको बस्ती छ । डाँडाको पुछारमा पाइलट बाबा आश्रम छ  आश्रममा योग र ध्यान गर्न सकिन्छ । १३ रोपनी क्षेत्रफलमा फैलिएको आश्रमबाट चारैतिर सुन्दर दृश्य देखिन्छ । पश्चिमपट्टि गुण्डु र दधिकोट । पश्चिमदेखि उत्तरतिर काठमाडौं र भक्तपुरको दृश्य, उत्तरमा काठमाडौं र दक्षिणमा काभ्रे देखिन्छ ।

आश्रममा सोमनाथ मन्दिर, ध्यान कक्ष र पुस्तकालय छ ।

घ्याम्पेडाँडाबाट रानीकोट ३ किमि दुरीमा छ । सूर्योदय, सूर्यास्त, हिमाल हेर्न रानीकोट उपयुक्त छ । जंगल भएका हुनाले बर्ड वाचिङका लागि उपयुक्त छ । कोटबाट दुईसय मिटर पश्चिम पहाडको बीचमा ठूलो ढुंगामा छ- बाघभैरप मन्दिर । मन्दिरमा मंसिर र वैशाख पूर्णिमामा मेला लाग्छ । ढुंगा बाघ आकारमा रहेकाले त्यसलाई साक्षात प्रकृतिरुपी बाघभैरव नामाकरण गरेको भनाइ छ । बाघ भैरवको शिला टाढाबाट हेर्दा बाघ जस्तै देखिन्छ ।

लिच्छिवीकालमा तान्त्रिक धर्म लोकप्रिय हुँदा सातौं शताब्दीतिर बाघ भैरव स्थापना गरिएको मानिन्छ ।

रानीकोटमा भ्यू टावर छ जहाँबाट चारैतिरको दृश्य देखिन्छ । सँगैको सूर्यविनायक जंगल चिडियाखानामा रुपान्तरित हुँदैछ । बाटोमा हिँड्दा चितुवा, खरायो, मलसाँप्रो, दुम्सी, सालक, वन बिरालो, मृग, कोइली, कालिज, चित्रा, च्याखुरा, लामपुच्छ्रे आदि भेट्न सकिन्छ ।

यो रुट साइक्लिङका, बाईकिङका लागि समेत उपयुक्त छ । सूर्यविनायक देखि घ्याम्पेडाँडा सम्मै कालोपत्रे भइसकेको छ । माथि रानीकोटसम्म कच्ची मोटरबाटो छ । रानीकोटलाई केन्द्र मानेर डोलेश्वर, अनन्तलिंगश्वर, लाँकुरी भञ्याङ र फूलचोकी हाइकिङ गर्न सकिन्छ ।

सूर्यविनायकबाट रानीकोट पुगेर गुण्डु हुँदै कटुञ्जेको शुवर्णेश्वर महादेव मन्दिर पुगेर पदयात्रा विसर्जन गर्न सकिन्छ । अथवा देउराली, अनन्तलिंगश्वर हुँदै तर्खगाल पनि पुग्न सकिन्छ । रानीकोटमा केही होटल र रिसोर्ट छन् ।

कसरी पुग्ने ?

काठमाडौं – रानीकोट २२.५ किमि ।
सूर्यविनायक – रानीकोट ७.५ किमि ।
सूर्यविनायकबाट हिँड्ने ।

गएकै बाटो फर्कने ।
सूर्यविनायक – घ्याम्पेडाँडा ४.५ किमि, घ्याम्पेडाँडा – रानीकोट ३ किमि ।
पदयात्रा दुरी १५ किमि ।
मय ६ घण्टा ।
मोटर बाटो रानीकोटसम्मै पुगेको छ । तर, सार्वजनिक सवारी साधन चल्दैनन् ।

(ब्यानर फोटो : भरतबन्धु थापा)

सम्बन्धित समाचार