सोमबार , फागुण १४, २०८०

रुबी भ्यालीका धन बहादुर घलेसँग रुबीका कुरा

रुबी विशेषगरी तीन स्थानमा पाइन्छ । पहिलो नम्बरमा रुइल, दोस्रो नम्बरमा रातो भिर र तेस्रो नम्बरमा सिप्ले । तीमध्ये सिप्लेमा विशेषगरी रातो रुबी पाइन्छ ।

image

काठमाडौँ । धादिङको रुबी भ्याली गाउँपालिकामा बहुमूल्य रुबी पत्थर पाइने कुरा छिटपुट सुन्ने गरिएको थियो । केही समयअघि रुबी भ्याली घुम्न जाने अवसर प्राप्त भयो । यात्राको आफ्नै उद्देश्य थियो । यद्यपि, रुबीबारे केही कौतुहलता पनि बोकेर म हिँडेको थिएँ ।

रुबी भ्याली गाउँपालिका वडा नं ४ स्थित चालिस गाउँमा हाम्रो गाँसबासको व्यवस्था गरिएको थियो । चालिस गाउँमै आतिथ्यको आनन्द लिइरहेको बेला स्थानीय धन बहादुर घलेसँग परिचित हुन पाइयो, जो स्थानीय रूपमा रुवीसम्बन्धी जानकार मानिन्छन् ।

बहुमूल्य पत्थर रुबी पाइने हुनाले नै सो स्थानलाई रुबी भ्याली भनिएको उनी बताउँछन् । साथै, रुबीसँग सम्बन्धित आफ्नो केही अनुभवहरू समेत उनी हामीसँग सुनाउँछन् ।

त्यस भेगमा रातो रुबी र सेतो रुबी (जसलाई क्वाच पनि भनिन्छ) पाइने रहेछ । रातो रुवी भेटाउन भने अलि बढी मिहेनत चाहिँदोरहेछ । रातो रुबी खोज्न या फेला पार्न चालिस गाउँबाट माथि लेकसम्म पुग्नुपर्ने हुँदोरहछ । क्वाच भने बेँसीतिर पनि पाउन सकिनेरहेछ ।

धन बहादुरले रातो रुबी त्यति किनबेच गरेका छैनन् । सेतो क्वाचबारे चाहिँ धेरथोर उनलाई थाह छ । रातो रुबी माथि लेकतिर र विकट स्थानमा पाउने हुनाले सजिलैसँग त्यहाँ पुग्न सकिँदैन या भनौँ फेला पार्न सकिँदैन । उनी भन्छन्, “त्यसलाई निकाल्न धेरै सामग्री र समयसमेत चाहिन्छ । रातो रुबी भएको ढुङ्गा निकै साह्रो हुने हुनाले निकाल्न कठिन हुन्छ ।”

रातो रुबीबारे आफूलाई त्यति थाह नभए तापनि सेतो रुबी यानिकी क्वाचसम्बन्धी काम गरेको उनीसँग अनुभव छ । उनीसँग भएका सेता रुबी साथीहरूले किनेर काठमाडौँतिर लगेर बेच्ने गरेका छन् । तर, क्वाच बेचेर त्यति धेरै आम्दानी हुँदैनरहेछ । उनी भन्छन्, ‘दुःख-सुख चिया खाने बाटो बन्छ । दुई चार पैसा आउँछ ।’

उनी भन्छन्, ‘लेपेको साथीहरूले रातो रुबी उत्खनन् गर्ने गरेका छन् ।’ लेपेभन्दा माथिल्लो भू-भागमा मात्र रातो रुबी पाइन्छ । त्यहाँ धन बहादुरका नजिकका साथीहरू पनि छन् । उनी कहिलेकाहीँ गएर हेर्ने रातो रुबीको उत्खनन प्रक्रिया हेर्ने गर्छन् । तर, रुवी बेच्ने ठाउँसम्म भने उनी अहिलेसम्म पुगेका छैनन् । उनका साथीहरूले रुबी उत्खनन् गरेर बिक्रीसमेत गर्ने गरेका छन् । तर, हरेक उत्खनन फलदायी नै हुन्छ भन्ने नहुने धन बहादुर बताउँछन् । भन्छन्, ‘सधैँ रुबी फेला पर्छ नै भन्ने पनि हुँदैन ।कहिले खाली हात पनि फर्किनुपर्छ ।’

रातो रुबी क्रेट या तोलाको हिसाबमा बिक्री हुने गरेको धन बहादुरले सुनेका छन् तर यकिनसाथ त्यसको मूल्य बताउन भने उनका लागि पनि मुस्किल छ । बजारमा गुणस्तर हेरीहेरी रुबीको मोलतोल हुन्छ । त्यसै गुणस्तरअनुसार रुबीको मूल्य सात आठ सय रुपैयाँदेखि लाखौँसम्म पनि पर्न सक्दोरहेछ । धन बहादुरका अनुसार क्वाच भने त्यति महँगो हुँदैन । यो किलोको १ देखि २ लाखसम्ममा कारोबार हुने गर्छ ।

कुनै जमानामा २५-३० किलोको एउटा क्वाच उनको हात लागेको थियो । तिप्लिङको गाउँभन्दा माथि लेकमा फेला पारेको सो क्वाच उनले बिक्री गरे ।

रातो रुबी पाइने खानीसम्म एक-दुईपटक पुगेपनि उनले आफूले भने रातो रुबी फेला पार्न सकेका छैनन् । त्यहाँबाट खुल्लमखुल्ला रूपमा रुबी निकालेर ल्याउन पाइँदैन । लुकिछिपी ल्याउनुपर्छ । सोही गाउँका मानिसहरूको अधिकार बढी लाग्ने हुनाले उनीहरूले अरूलाई रुबी उत्खनन् गरेर सजिलै ओसारपसार गर्न दिँदैनन् ।

उनी भन्छन्, ‘लेपे गाउँका मानिसहरूको बढी अधिकार लाग्नेरहेछ, जसले पायो त्यसले खन्न पाउँदैन । कि त उनीहरूको समूहसँग मिलेर जानुपर्‍यो ।’

निकै वर्ष पहिले आफू जन्मिनुभन्दा पनि अघि काठमाडौँबाट आएका वैज्ञानिकहरूले यहाँ रुबी छ भनी पत्ता लगाएको उनले सुनेका थिए । रुबी विशेषगरी तीन स्थानमा पाइन्छ । पहिलो नम्बरमा रुइल, दोस्रो नम्बरमा रातो भिर र तेस्रो नम्बरमा सिप्ले । तीमध्ये सिप्लेमा विशेषगरी रातो रुबी पाइन्छ ।

उनी ती तीनै स्थानमा पुगिसकेका छन् तर रुबी फेला पारेर भने ल्याउन सकेका छैनन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, “साथीहरूसँग हेर्न गएँ । एकपटक त सेम्ताङको बाटो खोलेको समयमा दुईजना आर्मी बोलाएर मैले ‘लु जाऊँ न साथीहरू’ भनेर लागेँ र घुमेर फर्कियौँ । तर, खन्न सकिएन ।”

उनका केही साथीहरूले रुबी नै बेचेर राम्रो आम्दानी गरेका छन् । रुबीबाट आम्दानी गर्नेहरूले पहिला निकै धन कमाए तर धन बहादुरले रातो रुबी झट्टै नभेटिने हुनाले त्यति ध्यान दिएनन् । सेतो भने भेटिए अहिले पनि बेच्छन् । उनी कहिलेकाहीँ पर्यटकहरू भ्रमणमा आउँदा उनीहरूलाई सेतो रुबी देखाउने र बिक्री गर्ने गर्छन् । तर, यसमा पनि समस्या रहेको उनले सुनाए । उनी भन्छन्, ‘गुण्डाहरूले कमिसन माग्छन् । उस्तै परे प्रहरीले पनि माग्छन् ।’

रुवी बेचेरै त अहिलेसम्म उनले कुनै सम्पत्ति जोडेका छैनन् ।

रुबी फेला पारेर बेचबिखन गर्दा अहिलेसम्म गाउँपालिकाले कुनै शुल्क भने लिने गरेको छैन । यद्यपि, कर लिने तयारी भने भइरहेको धन बहादुर सुनाउँछन् । गाउँपालिकाले यो कुरालाई गम्भीर रूपमा लिएर खोजतलाससमेत गर्न थालेको छ । आजभन्दा पाँच वर्ष अघिसम्म भने गाउँपालिकाले यस विषयमा त्यति चासो दिएको थिएन । अहिले आफ्नो सम्पत्तिको पहिचान गरी त्यसलाई संरक्षण गर्न कसरत गरिरहेको छ ।

अचेल गाउँपालिकाका अध्यक्षले विभिन्न छलफलमा यसको अनुसन्धान गर्नुपर्ने कुरासमेत उठाउने गरेका छन् ।

Tags:

सम्बन्धित समाचार