सोमबार , फागुण १४, २०८०

सहकारी: हामीले राखेको पैसा कत्तिकाे सुरक्षित हुन्छ ? ठगी हुनबाट कसरी बच्न सकिन्छ ?

नेपालमा सहकारीहरूले गर्ने कारोबार नेपालको कुल वित्तीय कारोबारको १८ प्रतिशतसम्म रहेको जानकारहरूको भनाइ छ ।

image

काठमाडाैं । सरकारले कुनै समय बजेटमै नारा ल्याएर प्रवर्द्धन गरेका सहकारी संस्थाहरूले ठगी गरेको भन्दै बचतकर्ताहरूले केही सहकारीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

नेपालमा सञ्चालन अनुमति लिएका ३०,००० सहकारी संस्थाहरूमा ७३ लाख मानिसहरूको चार खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको नियामक सहकारी विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो एक वर्षको अवधिमा सहकारीले बचतको रकम नदिएको विषयमा ३०० भन्दा बढी उजुरी विभागमा परेका थिए । हाम्रो घर वा पसलमा पैसा सङ्कलन गर्न आउने सहकारीमा हामीले राखेको पैसा कति सुरक्षित छ ? सहकारीमा जम्मा गरिएको रकम ठगी हुनबाट कसरी बच्न सकिन्छ ?

सरकारी अधिकारी र विज्ञहरू बचतकर्ता सचेत भए आफूले गर्ने बचत कति सुरक्षित छ भन्नेबारे थाहा पाउन सक्ने बताउँछन् । आफूले बचत गर्ने सहकारी संस्थाबारे केही आधारभूत जानकारी राखेर मात्रै कारोबार गर्दा आफ्नो पैसा गुम्न सक्ने जोखिमबाट बच्न सकिने उनीहरूको भनाइ छ ।

के सहकारी सुरक्षित हुन्छन् ?

सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय अधिकांश सहकारीहरूमा गरिने बचत सुरक्षित नै हुने बताउँछन् । तर, नियामक निकायको निगरानी र कानुनी संरचनाका दृष्टिले सहकारीहरूमा हुने बचत ब्याङ्कमा जति सुरक्षित भने नहुने उनले बताए ।

नेपालमा रहेका अधिकांश सहकारी संस्थाहरूमा राखिएको बचत सुरक्षित नै रहे पनि केही संस्थाहरूमा भने सर्वसाधारणको बचत जोखिममा पर्ने गरेको अधिकारीहरू बताउँछन् ।

“सदस्यहरूमा आधारित रहेर सहकारी चलेको छ भने त्यस्तो सहकारी सुरक्षित हुन्छ। राम्रो साख कमाएर बसेका सहकारीहरू पनि छन्,” उनले भने ।

“तर ब्याङ्कहरूको जस्तो सहकारीहरूको नियमन र नियन्त्रण गर्ने अधिकार सहकारी विभागलाई पनि छैन र सहकारीहरूको हितमा पनि यो हुँदैन ।”

विभागका पूर्वरजिस्ट्रार सुदर्शन ढकाल बैङ्कहरूमा जस्तै सहकारीहरूमा पनि बचत सुरक्षा कोषको व्यवस्था नगरिएसम्म सहकारीमा राखिएको सर्वसाधारणहरूको रकमको अधिकतम सुरक्षा नहुने बताउँछन् ।

“विकसित देशमा साना वित्तीय संस्थामा पनि बचतको बिमा हुन्छ । हाम्रोमा ब्याङ्कहरूमा पनि निश्चित रकमसम्मको बचत सुरक्षाका लागि स्थिरीकरण कोषको व्यवस्था गरिएको छ,” उनले भने । “सहकारीहरूमा पनि बचतको बिमा अत्यावश्यक भइसक्यो ।”

बचतकर्ताले के ध्यान दिने ?

विभागका सूचना अधिकारी उपाध्याय सहकारीहरूको आर्थिक स्वास्थ्यबारे अध्ययन गरेर मात्रै बचत गर्नुपर्ने बताउँछन् । “सहकारीले साधारण सभा समयमा गरेको छ कि छैन, आफ्नो पैसा भएको संस्थाले कता केमा लगानी गरिरहेको छ, वित्तीय स्थिति के छ, त्यो ख्याल गरेर पैसा जम्मा गर्नुपर्‍यो,” उनले भने ।

सहकारीले आफ्नो बचतको रकम नदिए वा आनाकानी गरे बचतकर्ता सदस्यले विभागमा उजुरी गर्नसक्ने व्यवस्था छ । तर, सबै बचतकर्ताहरूलाई सहकारीको आर्थिक अवस्था र लगानीको सुरक्षाबारे जानकारी नहुने सहकारी विज्ञ ढकाल बताउँछन् ।

“सहकारीमा जम्मा गर्ने मान्छे सबै शिक्षित पनि छैनन्। भए पनि वित्तीय अवस्थाबारे बुझ्न सजिलो हुँदैन। उनीहरूले त कहाँ बढी ब्याज पाइन्छ त्यो हेरेर पैसा राख्ने हो,” ढकाल भन्छन् ।

कतिपय सहकारी संस्थाले महिलाहरूलाई सीपमुलक काममा पनि लगानी गर्ने गरेका छन्।

सहकारीहरूले बचतकर्ताहरूको ८५ देखि ९० प्रतिशत रकम मात्रै ऋणमा लगाएर बाँकी रकम नगद मौज्दात गर्नुपर्ने नियम छ । विभागको पछिल्लो तथ्याङ्क अनुसार चार खर्ब ७८ अर्ब बचतमध्ये सहकारीहरूले चार खर्ब २६ अर्ब ऋण दिएका छन् । तर, कतिपय सहकारीले यस्तो नियम उल्लङ्घन गरे पनि प्रभावकारी अनुगमन हुन सकेको छैन ।

सबै सहकारीहरूको अनुगमनका लागि जनशक्तिको अभाव रहेको विभागका अधिकारीहरूको गुनासो छ । सहकारीहरूले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने नियम रहे पनि यो नियमबारे जानकार नभएका कारण पनि कतिपय सहकारीबाट उपभोक्ता ठगिने गरेका छन् ।

नेपालमा सहकारीहरूले गर्ने कारोबार नेपालको कुल वित्तीय कारोबारको १८ प्रतिशतसम्म रहेको जानकारहरूको भनाइ छ । तर, विभागमा सबै सहकारीहरूले विवरण अद्यावधिक नगरेका कारण बचत र ऋणको रकम अझै बढी हुनसक्ने उपाध्याय बताउँछन् ।

पैसा नपाए कहाँ उजुरी गर्ने ?

सहकारीले बचतको रकम नदिएको विषयमा नयाँ बानेश्वरमा कार्यालय रहेको सहकारी विभागमा उजुरी गर्न सकिन्छ । “हामीले उजुरी प्राप्त भएपछि सहकारीका सञ्चालक समिति सदस्य र उजुरीकर्ताहरूलाई राखेर छलफल गर्छौँ,” उपाध्यायले भने । उनले अहिलेसम्मका अधिकांश उजुरी छलफलबाटै समाधान भएको दाबी गरे ।

पोखराको एउटा सहकारीले सदस्यहरूलाई प्रौढ शिक्षा पनि दिने गरेको छ

तर धेरै बचतकर्ताको निक्षेप हिनामिना गरेर सहकारीका सञ्चालकहरूनै सम्पर्कविहीन भएका घटनामा विभागले फरक कदम चाल्ने उनले बताए ।

विभागको निर्देशनबाट पनि निक्षेपकर्ताको पैसा भुक्तानी हुने अवस्था नभए विभागले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा समस्या समाधानका लागि पठाउने गरेको छ ।

“त्यस्तो अवस्थामा हामीले सञ्चालकहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का गरेर कानुनी लडाइँमै जानुपर्ने हुन्छ,” उनले भने । सहकारी सञ्चालकहरूले आफैँ बचतकर्ताको पैसा नदिए उनीहरूको जायजेथा बेचेर भए पनि बचतकर्तालाई भुक्तानी दिइने यस्तो प्रक्रिया निकै लामो र झन्झटिलो हुने गरेको विभागका अधिकारीहरू बताउँछन् ।

“नेपालमा ब्याङ्किङ क्षेत्रको पनि सबै बचतको सुरक्षा त हुँदैन । टाट पल्टिएको अवस्थामा लिलामीबाट लिने बाहेक रकम कसले दिने भन्ने कुनै कानुनी व्यवस्था छैन,” विभागका पूर्व रजिस्ट्रार ढकालले भने । “तर सहकारीहरूमा हुने बचतसम्म चाहिँ बिमा गर्न सकिन्छ ।”

नियमन कस्तो छ ?

पछिल्लो समय ब्याङ्कले जस्तै कारोबार गर्ने सहकारीहरूको सङ्ख्या बढे पनि नियमन फितलो रहेको जानकारहरू बताउँछन् । नेपालमा ब्याङ्क र अन्य वित्तीय संस्थाहरूको कडाइका साथ नियमन गर्ने राष्ट्र ब्याङ्कलाई सहकारीहरूको पनि नियमनको अधिकार दिनुपर्ने विषयमा जानकारहरूले वकालत गर्दै आएका छन् ।

“ठूलो कारोबार गर्ने सहकारीहरूको नियमन राष्ट्र ब्याङ्कबाटै गर्ने र बाँकीको नियमनका लागि सातै प्रदेशमा संयन्त्र निर्माण गरिनु जरुरी छ,” विज्ञ ढकाल भन्छन् । नेपालमा सहकारीहरूको नियमनमा कडाइ गर्नुपर्ने जरुरी भइसकेको उनी बताउँछन् ।

बाग्लुङमा सहकारी संस्थाहरूले मल उत्पादनका लागि गड्यौला पालनमा पनि लगानी गरेका छन्

नेपालमा सहकारीहरूको नियमनका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइए पनि अहिले नियमनको काम सहकारी विभागले गर्दै आएको छ । “सहकारी संस्था स्वनियमनबाट चल्ने र नियन्त्रित हुने संस्था हो । यसको सञ्चालक समितिले बनाएको नियम स्वीकृतिका लागि मात्रै विभागमा आइपुग्छ,” उपाध्याय भन्छन् ।

विभागले समय-समयमा सहकारीहरूको अनुगमन गरेर प्रतिवेदन तयार गर्ने तथा कमजोर व्यवस्थापन रहेका सहकारीहरूलाई सुधार गर्न निर्देशन दिने गरेको छ । विभागले वित्तीय व्यवस्थापन सुधारको कार्ययोजना बनाएर पेस गर्न पनि निर्देशन दिन्छ ।

तर, विभागसँग सबै सहकारीहरूको नियमन र अनुगमन गर्ने क्षमता र जनशक्ति नभएको अधिकारीहरू बताउँछन् । नाफामुखी र व्यवसाय प्रयोजनका लागि स्थापना गरिएका ब्याङ्कलाई जस्तै नियमन सहकारीहरूलाई गर्न नसकिने विभागका उप-रजिस्ट्रार उपाध्यायले बताए ।

“तत्काल नाफा कमाउने उद्देश्यले सहकारी खोलिने होइन । यी त सदस्यहरूको गर्जो टार्न सामूहिक भावनाको लागि खोलिने हो । तर बजारमा ब्याङ्क र सहकारी छुट्टाउन नसकिने भयो,” उनी भन्छन् ।

-बीबीसी

सम्बन्धित समाचार