आज बिहानबाटै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याइ गिलो बनाएर विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन सुरु गरेका छन् ।
दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजबाट मिथिलाञ्चलमा सुरु भएको छ । पर्व आज पञ्चमीदेखि सुरु भएर १० दिनसम्म चल्नेछ । एघारौँ दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरिन्छ ।
आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाञ्चलकी दिदीबहिनीहरूले दस दिनसम्म सामा चकेवा खेल्ने गर्दछन् ।आज बिहानबाटै दिदीबहिनीहरूले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याइ गिलो बनाएर विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन सुरु गरेका छन् ।
राती सामा चकेवा सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरू भरिन्छ । चेलीबेटीहरूले रङ्ग लगाई सकेको सामा चकेवा राती रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर, छठघाट आदिमा लगेर १० दिनसम्म नाचगान गर्दै सामा चकेवा खेल खेल्छन् ।
सामूहिक रूपमा चेलीबेटीहरू ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीतहरू गाएर सामा चकेवा खेल्ने तथा दाजुभाइको दीर्घायुको कामना गर्छन् ।
एघारौँ दिनमा बिहानै दिदीबहिनीले पुनः सामा चकेवा बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन् र त्यसबाटै दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्दछन् ।
दिदीबहिनीहरूले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमा गएर मनाउने इच्छा गर्ने भएकाले टाढा टाढाका दिदीबहिनीहरू माइत समेत पुग्ने गर्छन् ।
दाजुभाइ तथा दिदीबहिनी हुनेहरूका लागि निकै महत्वपूर्ण यो पर्व दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले टोल छिमेकका दाजुभाइ तथा दिदीबहिनीहरूसँग मनाउने गर्दछन् ।
सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरूप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरूप तराईको महोत्तरी, सर्लाही, सिराहा, धनुषा, सप्तरी, बारा, पर्सा लगायतका ठाउँमा यो पर्व निकै लोकप्रिय रहेको छ ।
मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनपूर्व (आज) देखि सामा चकेवा पर्व सुरु हुन्छ त्यसैले छठसँगै यस पर्वका लागि पनि दिदीबहिनीहरूले तयारी सुरु गर्छन् ।