बिहिबार , मंग्सिर १४, २०८०

घाम उदाउने पहाड उतै छुटेछ

हाम्रो पुस्ताले दही जमायो, मोही पार्‍यो, नौनी नपगाल्दै खान भ्यायो । यही पुस्ताले रेडियोलाई खोल हालेर बोकेर हिँड्यो । पचासौं वर्ष पुराना वरपीपल चौतारोमा बसेर गफ सुन्यो, सुनायो ।

image

  • संप्रस पौडेल

हाम्रो पुस्ताले दही जमायो, मोही पार्‍यो, नौनी नपगाल्दै खान भ्यायो । यही पुस्ताले रेडियोलाई खोल हालेर बोकेर हिँड्यो । पचासौं वर्ष पुराना वरपीपल चौतारोमा बसेर गफ सुन्यो, सुनायो । हातमा हात समातेर बर्खे भेल तर्‍यो । गाउँमा हप्तामा एकाध पटक गाडी आउँदा पछिपछि दौडिएर छुन सक्यो । बलपेनको भिर्ने भाग झिकेर लहरी बनायो । बाको पुरानो पाइन्ट सच्याएर हाफपाइन्ट लगायो । मधुरो टुकी बत्तीमा पहिलो अक्षरहरू पढ्यो । हात्ती छाप चप्पल चुँडिएर टुकी बत्तीले पोलेर जोड्दै लगायो । तराईबाट खर्पनमा तरकारी बोकेर गाउँ छिर्ने ‘बेपारी’सँग धान र काउली साट्यो । ऐँचोपैँचो, मेलापर्ममा छरछिमेकका काम सल्टायो ।

हाम्रै पुस्ताले गाउँमा हलो जोत्यो, दाईँ गर्‍यो । चाउचाउ भित्रनुअघि खिचडी, खोलेपाङ्ग्रो, भक्का, कटिया, खट्टे, चाम्रे खायो । कोकाकोला, डिउ भित्रनुअघि दहीको चक्का र बाक्लो मोही पियो ।

यही पुस्ता स्कुल जाने बेला अरूका आँपको बोटमा झट्टी हानेर झरेका काँचा आँप टिप्दै भाग्यो । घरबाट जोहो गरेर लगेको नुनमा चोपेर खायो । यही पुस्ता जो घरमा पुष्टकारी बनाएर स्कुलमा बलपेनसँग साट्यो ।

यही पुस्ता जो काठका भुरूङ/घुर्रा (लड्डु), कटहरका चोपले टाँसेर चङ्गा, डण्डीबियो, मोजाको बल आफैँले बनायो र खेल्दै रमायो ।

पैसा नभए पनि उसले आफ्नो बालापनको सक्दो उपयोग गर्‍यो । अहिले सारा सुविधा छन्, बजारका पसल पसलमा ।

अलि पहिले कोभिडको लकडाउनताका गाउँ जाँदा मेरी आमाले छोरीलाई गाई दुहुन थुनमा हात लगाइदिनु भयो । छोरीले थुन्चे जत्रो डोकोमा नाम्लो लगाएर घाँस बोक्न पाइन् । छोराले बारीमा कुटो लिएर कुटुकुटु माटो खेलाउन पायो । बिदामा गाउँ जाऊँ न भन्ने उनीहरूलाई सहर चिडियाखानाझैँ भइरहेछ । हाम्रा पनि बाध्यता छन् भन्दै हामी सहरलाई बाध्यताको बसाइ मानिरहेका छौँ ।

फोटो: लुतो फाल्ने दिन अर्थात् साउने सङ्क्रान्तिको बन्दोबस्त

कवि चन्द्र गुरुङले जब एउटा मान्छे हराउँछ भनेजस्तै गाउँबाट सहर बन्दै गर्दा धेरै थोक हराउँदो रहेछ । देशभरका गाउँबाट हलोजुवा, दाँदे, बुट्टे पिर्का (पिरा) हराइरहेका छन् । उही पुरानै चलनमध्ये गाउँमा माच, मकैको कुन्यू अहिले पनि पाइन्छन् । गाउँको घरमा अहिले पनि बुइँगल छ । बुइँगलमा मकै छ । पहिले पहिले ढिँडो खाने जोहोका लागि मकैको झुत्ता बनाएर डोरी वा बाँसमा झुण्डाएर राखिन्थ्यो । आजकाल हाइब्रिड अन्न टिकाउ हुन्नन् । फलायो, छोडायो, बेचिहाल्यो । साह्रै कम आयू । गाउँको घरमा अहिले पनि भकारी छ । भकारीमा धान छ । बिरालो र मुसाले दुख देला भनेर माथिबाट छोप्ने काम गरिएकै छ ।

फोटो: तराईको गाउँमा रहेको कोठी भकारी

पहाडी गाउँमा पहिले सक्नेहरूले धनसम्पत्ति, धानचामल राख्न काठको ढुकुटी बनाउँथे । तर बाँसको चोयाको भकारी भने सबैको हुन्थ्यो । पहिले पहिले कुनै कुनै गाउँमा अनिकाल र सङ्कटबाट बच्नका लागि मुठी दान गरेर धर्मभकारी बनाउने चलन पनि थियो ।

तराईका गाउँमा माथि फोटोमा देखाइएझैँ भकारी अझै देख्न पाइन्छन् । बाँसले बेरेर माटो लिपिएको, माथिबाट अन्न खन्याएपछि छानो हालिएको, पीँध नजिकै एउटा प्वाल टालिएको हुन्छ । जसबाट चाहिएको बेला अन्न निकाल्ने गरिन्छ । पहिले पहिले मुख सानो भएको ठेकी आकारका आकर्षक भकारी बनाइन्थ्यो । उहिले त्यसमा मिथिला कला समेत कोरिन्थ्यो । जति ठूलो/धेरै भकारी उति सम्पन्नता मानिन्थ्यो । आजकाल प्लास्टिकका भाँडामा जम्मा गर्न सहजताले भकारीहरू बिस्तारै घट्दै गइरहेको छ ।

अन्न भण्डार गर्नका लागि बनाइएको संरचना भकारी । सहरका बालबच्चाका लागि नौलो हुन लागिसक्यो । बोरामा चामल, डेरीमा दुध, पसल पसलमा चाहिएको सरसामान । मोही पारेको पनि युट्युबमा हेरेर जान्नुपर्ने पुस्ता बनेको छ ।

एक्लै गुन्गुनाउन थाल्छु-

के भन्ने हाम्रो समय,
दश मोहर महिनाको कमाई
हाम्रो जुगको पानी राम्रो,
हाम्रो समय साँच्चै रमाइलो ।

सहरमा यसरी आफैँलाई सम्झाउँछु ।

ढिँडो खानु घट्टको पिठोको,
भोजनभन्दा भोक नै मिठो हो,
पानी घट्टमा,
जीवन सबै बन्धकी राखेर
के पर्खिन्छौ
पेन्सनपट्टामा ।

फोटो: मकवानपुरको एक गाउँमा सञ्चालित पानी घट्टमा मकै पिसिँदै

कुरा सुन्नेहरू प्रश्न गर्छन्- यस्ता मिठा कुरा गर्नेले विदेशीका कोट पाइन्ट पोषाक किन लगाएको ? अलिअलि पढेपछि भन्न थालेको छु- कोटलाई डोमिनेट गर्न  ढाका टोपी लगाएको । ‘अर्ग्यानिक’ को भीड छ बजारमा । म त्यही बजारमा छु । अर्ग्यानिक देखिन प्लास्टिकका दुवोरुपी कार्पेट बिछ्याएको छु । अक्वारियम छन् । प्लास्टिकका रुखबिरुवा र फूलहरू ढकमक्क फूलिरहेका छन् । बास्नादार अत्तर छ तर खै गाउँ छैन । रोबोट भएको छु, रोबोट भएको छ दैनिकी । शिवानी सिंह थारुको कविताजस्तो बुढो गल्ली खोक्दै भन्दोछ- मान्छेहरू छायाँसहित, पाइतालासहित, हतारसहित मानवता खोज्न थुनिएका छन् ।

फोटो: लेखकको गाउँको घरमा माहुरीको बास

उता गाउँमा पनि ढिकीजाँतो, खर्पन, खुर्पेठ्याक (खुर्पेटो), लोकल माहुरीका घार, मानापाथि, कुरुवा सँगसँगै हाम्रो मौलिक अस्तित्व नै हराउन थालिसकेको छ ।

गोरखाको एक गाउँमा निबुवा पेल्ने काठे कोल, फोटो: हरि अधिकारी

सहरबाट मलाई खोज्दै गाउँ गएका पाहुनाहरू गेष्ट बनेर होमस्टेमा बसे होलान् । होइन उनीहरू त मलाई म्यासेज गरेर मात्रै गाउँ जालान् नि । कतै विकेण्ड या होलिडे मनाउन गाउँ पुग्दा पो सम्झिए कि । समयअनुसारका अनेक सोचहरू मानसपटलमा टिलपिलाउँछन् । अहो उता गाउँ मलाई खोजिरहेछ । यता सहरमा मरेका मान्छेका नाममा बनेका चोक र बाटोहरूमा रुमल्लिएर धुलोमैलोमा मैले ल्याएको एकथान गाउँ मनसँगै बेपत्तिइरहेको छु । गाउँका उबडखाबड बाटो हिँडेका गोडाहरू सहरका चिल्ला सडकमा धर्मराइरहेका छन् अझै । मूलढोका बन्द देख्दा कता गए भनी सोध्नेहरू उतै छुटेछन् । साँझमा बत्ति नबल्दा खोजी गर्ने समाज पनि सँगै ल्याउन सकिएनछ । थुप्रै कुराहरू छुटेछन् जस्तो घाम उदाउने पहाड पनि त उतै कतै छुटेछ ।

२०७९ फागुन २२, हेटौँडा

Tags:

सम्बन्धित समाचार