शुक्रबार , मंग्सिर २३, २०७९

अर्जेन्टिनालाई हराएको खुशीयालीमा आज साउदीमा सार्वजनिक बिदा

image

काठमाडौं । फिफा विश्वकपको पहिलो खेलमा अर्जेन्टिनामाथि जित निकालेपछि साउदी अरेबीया सरकारले आज एक दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।

अर्जेन्टिनाविरुद्ध समूह ‘सी’ अन्तर्गतको खेलमा साउदीले अर्जेन्टिनामाथि जित निकालेपछि त्यहाँका राजा सलमान बिन अब्दुलाजीज अल साउदको निर्देशनमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

राजाको विज्ञप्तिमा लेखिएको छ, ‘आज राज्यका सबै क्षेत्र र निजी क्षेत्रका सबै कर्मचारीहरू र सबै शैक्षिक क्षेत्रहरूमा पुरुष र महिला विद्यार्थीहरूलाई बिदा दिन निर्देशन दिइएको छ ।’

साउदी सरकारले विश्वकपमा अर्जेन्टिनाको राष्ट्रिय टोलीमाथि साउदी राष्ट्रिय टोलीको विजयको अवसरमा महामहिमले प्रस्ताव गरेको आधारमा सार्वजनिक बिदाको घोषणा गरेको हो ।

साउदी अरेबियाको मंगलबारको जित विश्व कप इतिहासकै सबैभन्दा ठूलो झट्का हो । खाडी राज्यले एक गोल पछाडि परेको अवस्थालाई उल्ट्याउँदै प्रतियोगिताको उपाधि दावेदारमध्येको एक टोलि अर्जेन्टिनालाई हराउन सफल भएको हो । लियोनल मेस्सीले १०औं मिनटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

खेलको ४९औं मिनटमा सालेह अल सेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरी दिलाएका थिए भने ५४औं मिनटमा सलेम अल दसारीले गोल गर्दै साउदीलाई खेलमा स्पष्ट तिन अंक दिलाएका थिए ।

अर्जेन्टिनाविरुद्ध साउदीको यो पहिलो जित समेत हो । यसअघि यी दुईबिच भएको चार खेलमा अर्जेन्टिनाले २ मा जित हासिल गरेको थियो भने दुई खेल बराबरी भएको थियो ।

यो नतिजाले साउदी अरेबियालाई कम्तिमा अस्थायी रूपमा भएपनि समूह ‘सी’ को शीर्ष स्थानमा राखेको छ ।

सम्बन्धित समाचार